कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दलीय गतिविधि शून्य

चुनावताका सक्रिय पार्टी नेतृत्व यतिबेला सार्वजनिक कार्यक्रममा देख्न पनि मुस्किल 
नेता र पार्टी जनताप्रति जिम्मेवार भएनन्
आश गुरुङ

लमजुङ — स्थानीय तह, प्रतिनिधि र प्रदेशसभा निर्वाचनताका दलका नेता–कार्यकर्ताको सक्रियता निकै थियो । निर्वाचनअघिदेखि सुरु भएका भेला, भेटघाट र घरदैलो कार्यक्रम चुनाव जितेर धन्यवाद दिएपछि समापन भयो । 

टोलदेखि गाउँ र सहरबजारसम्म चुनाव केन्द्रित दलीय गतिविधि अघि–पछिका तुलनामा चर्को थियो । जिल्लाबाहिर बस्दै आएका नेता पनि चुनावमा सक्रिय भए । जिल्लाका राजनीतिक, सामाजिक, आर्थिक गतिविधिमा संलग्न नभएका पनि टिकट लिएर चुनाव लड्न आए । कर्मचारी, शिक्षक, व्यवसायी, किसान, मजदुर पनि नेताका अघि–पछि गर्दै दौडिए । बैठक, भेला, सम्मेलन, चुनावी अभियानजस्ता नाम दिएर पार्टीका नेता–कार्यकर्ता सक्रिए भए । झण्डा बोकेर गाउँ तथा सहरबजार दौडिए । पार्टी गतिविधिले छुट्टै रौनक थपिएको थियो । एकै दिन ४/५ कार्यक्रम गर्न भ्याएका पार्टीको गतिविधि हाल भने शून्य छ । चुनावमा जितेका पार्टी र तिनका भ्रातृसंगठनले केही बधाई र सम्मान कार्यक्रमबाहेक अरू गतिविधि भएनन् । हिजोआज दलका स्थानीय तहका नेतासमेत सार्वजनिक कार्यक्रममा मुस्किलले उपस्थित हुन्छन् ।


चुनावमा जितेकाहरू नयाँ जिम्मेवारीमा गए । पराजितहरू पार्टीका तर्फबाट भन्दै जिल्लाका केही औपचारिक तथा सार्वजनिक कार्यक्रममा देखिए । त्यसपछि जिल्लाबाहिर गएका नेताहरू फर्किएका छैनन् । नागरिक अगुवा बुद्धिसागर बरालका अनुसार दलीय गतिविधि चुनाव केन्द्रित मात्रै हुनु ठीक होइन । अघि–पछि पनि दलका नेता–कार्यकर्ता सक्रिय हुनुपर्छ ।


‘चुनावका बेला मात्रै गतिविधि गर्ने, जनतालाई फकाउनेहरू चुनावपछि जनताको घरमा फर्केर पनि गएका छैनन्,’ उनले भने, ‘भोट माग्दै जनतालाई ढोग्ने नेता हाल फोन गर्दा पनि उठाउँदैनन् ।’ चुनाव नहुँदा निष्क्रिय हुनेलाई जनताले नपत्याउने उनले बताए ।


‘चुनावका बेला हूलकाहूल आउँथे । हाल कुन दुलामा पसेका छन्, थाहै छैन,’ उनले भने, ‘यो राम्रो होइन, राम्रो संकेत पाइरहेको छैन ।’ नेता र पार्टी जनताप्रति जिम्मेवार नभएको उनले टिप्पणी गरे । कांग्रेसका विद्यार्थी नेता दीपक अधिकारीले राजनीतिलाई समाजसेवामा जोड्दै अगाडि बढ्नुपर्ने बताए । ‘कांग्रेसको विधानलाई हेर्ने हो भने १/१ वर्षमा जिल्ला, नगर तथा गाउँ सम्मेलन गर्नुपर्छ । त्यसो हुन सकेको छैन,’ उनले भने ।


चुनावबाट देशकै ठूलो पार्टी बनेको एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडी प्रदेश सदस्यमा निर्वाचित भए । जिल्ला इन्चार्ज मायानाथ अधिकारी पनि प्रदेशसभामा चयन भए । उपाध्यक्ष बेंसीसहर नगरपालिकाको प्रमुखमा निर्वाचित भए । सचिवालय सदस्य पनि विभिन्न जिम्मेवारीमा निर्वाचित भए । एमाले सचिव कृष्णप्रसाद अधिकारीले चुनावपछि पार्टी कार्यालयमा हुने कार्यक्रमबाहेक गाउँ–ठाउँमा गएर सभा, सम्मेलन तथा बैठकहरू हुन नसकेको स्वीकारे ।


‘जनवर्गीय संगठन आफ्नो ढंगले लागेका छन् । पार्टी एकीकरणले गर्दा सबै कार्यक्रमहरू रोकिएको छ,’ उनले भने । उनले प्रतिनिधि र प्रदेशसभापछि जिल्ला कमिटीको बैठक बस्न नसकेको र सचिवालय बैठक भने २ पटक बसिसकेको बताए । ‘स्वभावैले चुनावका बेला बढी सक्रिय हुन्छ । अरू बेला नियमित बैठक तथा कार्यहरू हुँदै आएको छ,’ उनले भने, ‘अधिवेशन भने रोकिएको छ ।’


कांग्रेस सभापति भेषबहादुर पौडेलले चुनावपछि पनि जनताको घरदैलोमा पुगेको दाबी गरे । २ वर्षअघि सभापतिमा निर्वाचित पौडेलले १ महिनाअघि मात्रै उपसभापति, सहसचिवलगायत मनोनीत गरी पार्टीलाई पूर्णता दिएका छन् । ‘चुनावपछि हामी धन्यावाद दिन गाउँ पुग्यौं । ८ वटै स्थानीय तहमा अन्तरक्रिया गर्‍यौं,’ उनले भने, ‘अब संगठनका कामलाई अघि बढाउने निर्णय गरेका छौं ।’ उनले विभागलाई पूर्णता दिएको, उपसमिति गठन गरेको, समीक्षा बैठक, अन्तरक्रियालगायत कार्यक्रम गरेको बताए । ‘चुनावपछि मात्रै ३/४ पटक बैठक बस्यौं,’ उनले भने ।


माओवादी केन्द्रकी संयोजक मधु अधिकारी प्रदेश सदस्यमा चयन भएका छन् । जिल्ला संयोजक पारसमणि पौडेलले हाल पार्टीका गतिविधि शून्य रहेको स्वीकारे । ‘केन्द्रीय तहमा पार्टी एकीकरण चलिरहेकाले जिल्लामा गतिविधि छैन । अब केन्द्रीय निर्णय अनुरूप नै पार्टीका गतिविधि अगाडि बढ्छ,’ उनले भने ।


अघि–पछि पनि न्यून मात्रामा गतिविधि हुने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजनसँगै कुनै गतिविधि अगाडि बढाएनन् । उनीहरू आन्तरिक कलहमै लागे । राप्रपा पूर्वजिल्लाध्यक्ष बालचन्द्र श्रेष्ठ राणाको पक्ष लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को नेतृत्व गरेर अघि बढे ।


अध्यक्ष इन्द्रबहादुर मल्लले थापा पक्षको नेतृत्व लिए । गत मंसिर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा राप्रपाले कांग्रेसलाई समर्थन गर्‍यो । राप्रपा प्रजातान्त्रिकले भने लमजुङको दुवै क्षेत्रमा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।


संघीय समाजवादी फोरम, नयाँशक्ति लगायत पार्टीले जिल्लामा चुनावताका गतिविधि बढाएका हुन् । हिँजोआज भने नेताहरू गाउँघर तथा सहरबजारमा देखिनै छाडेको सर्वसाधारणको टिप्पणी छ ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?