२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भेट्न आउँदैनन् अभिभावक

बहिरा विद्यालयमा सुर्खेत, झापा, काठमाडौं, डोल्पालगायत ४६ जिल्लाका विद्यार्थी अध्ययनरत
पूर्ण बीके

पोखरा — आफ्ना सन्तान कसरी पढिरहेका छन् भनेर विद्यालयमा सोध्न जाने अभिभावक कति होलान् ? सबलांग र नजिकैको विद्यालय भर्ना गरिएको छ भने अभिभावक बेलाबखत पुग्छन् । पोखरा २७ स्थित बहिरा विद्यालयमा भने अधिकांश अभिभावक पुग्दैनन् ।

सिर्जना बहिरा आवासीय विद्यालयमा २ सय ४० विद्यार्थी छन् । टाढाबाट ल्याएर भर्ना गरिएका विद्यार्थीलाई भेट्न विरलै मात्र अभिावक आइपुग्छन् । ‘अधिकांश टाढाका विद्यार्थी आएर पढ्छन्,’ शिक्षक सुनील भण्डारीले भने, ‘आफ्ना बच्चाहरूको अवस्था बुझ्न आउनेमा नजिकैका अभिभावक धेरै हुन्छन्, टाढाका निकै कम आइपुग्छन् ।’ लामो समयसम्म बिदा पर्दा समेत सुर्खेत, झापा, काठमाडौं, डोल्पा, नुवाकोट र धादिङलगायत जिल्लाका अभिभावकले आफ्ना छोराछोरी लिन जान त्यस्तै अरू अभिभावकलाई जिम्मा लगाउने गरेका छन् । शिशुदेखि १२ कक्षासम्म अध्यापन गरिने विद्यालयमा हाल ४६ जिल्लाका विद्यार्थी छन् ।

कास्की बाहिरका जिल्ला घर भएका ७५ छात्र र सोही संख्यामा छात्रा गरी १ सय ५० आवासीय रूपमा सुविधा लिएर पढ्न बसेका छन् । विद्यार्थीलाई खाजा, खाना र व्यवस्थापनका लागि सरकारले जनही मासिक ४ हजार रुपैयाँको दरले पर्ने गरी विद्यालयलाई ११ महिनाको रकम उपलब्ध गराउँदै आएको छ ।


लामो बिदा पर्दा आफ्ना बालबालिकालाई लिन अभिभावकहरू पालो मिलाएर आउने प्रधानाध्यापक अनीता सिग्देल बताउँछिन् । ‘बिदाको बेलामा विद्यार्थीलाई लिन सबै अभिभावक आउँदैनन्,’ उनले भनिन्, ‘पैसा नभएर आउन पाइएन, फलानोलाई पठाएका छौं, उहाँलाई जिम्मा लगाउँदा केही फरक पर्दैन भन्छन् । हामी पनि त्यसरी नै विद्यार्थीलाई घर पठाउने गर्दै आएका छौं ।’ फरक क्षमताका आफ्ना बालबालिकालाई भेट्न र पढाइबारे सोध्न विद्यालय आउँदा विद्यार्थीको मनोबलमा सकारात्मक प्रभाव पर्ने उनले बताइन् ।

बिदामा आफूले आफ्नो बहिरा छोरालाई लिन र पुर्‍याउन छिमेकीको भर पर्नुपरेको सुर्खेतकी टीकामाया श्रेष्ठले बताइन् । विद्यालय सुरु हुने बेलामा पनि दुईजना अभिभावकले ४/५ विद्यार्थी जिम्मा लिएर विद्यालयमा ल्याउने चलन रहेको उनले बताइन् ।

२०६२ मा स्थापित विद्यालयमा माध्यमिक तहका ११ सहित २४ शिक्षक छन् । विद्यार्थीलाई खाना, खाजा र छात्रावासका लागि थप ९ कर्मचारी छन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?