पाइप र पोल व्यवस्थापनबिनै सडक स्तरोन्नति

दीपक परियार

लेखनाथ — सवारी आवागमनको चापले व्यस्त रहने पोखराको पृथ्वीचोक क्षेत्रमा खानेपानीका पाइप र बिजुलीका पोलको व्यवस्थापनबिनै सडक स्तरोन्नति सुरु गरिएको छ । डिभिजन सडक कार्यालयले खानेपानी संस्थान र विद्युत् प्राधिकरणसँग समन्वय नगर्दा सुधार थालिएको सडकमा पाइप र पोल अलपत्र छन् । 

पाइप र पोल व्यवस्थापनबिनै सडक स्तरोन्नति

सडक स्तरोन्नति गर्ने ठेक्का पाएको आर्क डी आर्किटेक्चरल एन्ड इन्जिनियरिङ कम्पनीले आइतबारदेखि काम थालेको हो । कम्पनीले डोजर लगाएर खन्ने क्रममा खानेपानी पाइप अव्यवस्थित भएका छन् ।


सडकबीच भएका बिजुलीका पोल सारिएका छैनन् । खानेपानीको पाइप र बिजुलीको पोल व्यवस्थापन गर्ने जिम्मा डिभिजन सडक कार्यालय पोखराको हो । कार्यालयले पाइप व्यवस्थापन गर्न खानेपानी संस्थान पोखरा शाखा र पोल सार्न विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रलाई पत्राचार गर्नुपर्छ । पत्र प्राप्त भएपछि दुवै कार्यालयले प्राविधिक खटाउँछन् र सार्न लाग्ने खर्चको स्टिमेट गर्छन् । ठूलो संख्यामा भए उक्त कार्य गर्न डिभिजन सडकले आफैं टेन्डर गर्न सक्छ । थोरै कामलाई कार्यालयले स्टिमेट अनुसारको रकम सम्बन्धित कार्यालयलाई उपलब्ध गराउनुपर्छ । तर, कार्यालयले हालसम्म दुवै कार्यालयलाई पत्राचार गरेको छैन ।

ठेकेदार कम्पनी आर्क डीका अध्यक्ष अनिल खड्काले पाइप र पोल व्यवस्थापनको काम डिभिजन सडक कार्यालयको भएको बताए । ‘काम गर्नुभन्दा पहिले हामीलाई थाहा भएन,’ उनले भने, ‘काम सुरु भएपछि मात्रै महसुस गर्‍यौं ।’ उनी आफैंले खानेपानी संस्थानको प्राविधिक बोलाएर त्यहाँको अवस्थाबारे जानकारी गराएको सुनाए । ‘व्यस्त चोक भएकाले ट्राफिकलाई मध्यनजर गर्दै छिटो काम सक्नुपर्नेछ,’ उनले भने, ‘पाइप र पोल व्यवस्थापन गरी काम सुरु गरौं भने योजना समयमै सकिँदैन ।’ डिभिजन सडककै आयोजना हेर्ने इन्जिनियरलाई पनि खानेपानी पाइपको व्यवस्थापनबारे कुरा राखेको उनले बताए । अन्तर कार्यालय समन्वयको पाटो फितलो भएकाले उक्त समस्या आएको उनले जनाए ।

विद्युत् प्राधिकरणको पोखरा वितरण शाखा प्रमुख सुरेन्द्रकुमार शाहले सडक स्तरोन्नति गर्दा पोल सार्नुपर्नेबारे आफूलाई कुनै पत्र प्राप्त नभएको बताए । उनले भने, ‘पत्र प्राप्त नभए पनि प्राविधिक पठाएर स्थलगत अवलोकन गर्छौं ।’ डिभिजन सडक कार्यालय प्रमुख प्रेम खत्रीले काम सुरु भएपछि मात्रै ति कार्यालयसँग समन्वय गर्ने बताए । ‘कति पाइप छ भन्ने खनेपछि मात्रै थाहा हुन्छ,’ उनले भने । पोल नहटाई ढलान गर्न नसकिने भएकाले विद्युत् प्राधिकरणसँग पनि समन्वय हुने उनले दाबी गरे । ‘यो आजको भोलि हुने कुरा होइन,’ उनले भने, ‘विद्युत्सँग सहकार्य गरी पोल सार्नुपर्ने भए सार्छौं ।’

१ सय ७५ मिटर लम्बाइ, १८ मिटर चौडाइ र १ फुट मोटाइको ढलान गर्न कम्पनीले १ करोड ४७ लाख रुपैयाँमा ठेक्का पाएको छ । सम्झौताअनुसार आगामी असार २२ अगावै कम्पनीले काम सकिसक्नुपर्छ । एम–३० प्रविधिमा उक्त बाटोको कंक्रिट ढलान गर्न लागिएको हो ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?