१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

ठेक्का खरिद अन्तिम चरणमा

ठेक्का सम्झौता भएको ५ वर्षमा निर्माण सक्ने लक्ष्य 
प्रताप रानामगर

दमौली — जलाशययुक्त १ सय ४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत् आयोजनाको निर्माण ठेक्का अन्तिम चरणमा पुगेको छ । ठेक्का खरिदका लागि सिनो हाइड्रो कर्पोरेसनसँग छलफल भइरहेको आयोजनाका अधिकारीहरूले बताएका छन् ।

ठेक्का खरिद अन्तिम चरणमा

आयोजनालाई दातृनिकायको लगानीका आधारमा बाँधस्थल र अर्को जलविद्युत् गृह मिलाएर २ भागमा वर्गीकरण गरी निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । बाँधस्थललाई प्याकेज १ र पावरहाउसलाई प्याकेज २ को नाम दिइएको छ । जाइकाको आर्थिक सहयोगमा जलविद्युत् गृह र एडीबीको सहयोगमा बाँधस्थल निर्माण हुनेछ ।

जलविद्युत् गृह र सुरुङ निर्माण, त्यस सम्बन्धी उपकरणको ठेक्का खरिद सम्झौताका लागि सहमतिपत्र आइसकेको आयोजना प्रमुख प्रदीपकुमार थिकेले बताए । ‘पावर हाउस कन्स्ट्रक्सनका लागि अहिले ठेक्का सम्झौताको तयारी छलफल भइरहेको छ,’ उनले भने, ‘मे महिनामा सम्झौता हुन्छ । त्यसपछि काम अलि छिटो अघि बढ्छ ।’ बाँधस्थल निर्माणका लागि प्राविधिक मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेको उनले बताए । ‘आर्थिक प्रस्ताव मूल्यांकन प्रतिवेदन एडीबीबाट आउन बाँकी छ,’ उनले भने, ‘मार्चको अन्तिमसम्ममा यसको प्रतिवेदन आउन सक्छ । आर्थिक मूल्यांकन प्रतिवेदनलाई स्वीकृति दिएपछि आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता अगाडि बढाइन्छ ।’ जलविद्युत् निर्माणका लागि सेप्टेम्बर र अक्टोबरसम्म ठेक्का भई काम सुरु गर्ने लक्ष्य रहेको उनले बताए ।

अहिले पूर्वतयारीस्वरूप पूर्वाधारका काम भइरहेको आयोजनाका उपप्रबन्धक श्यामजी भण्डारीले जानकारी दिए । ‘भौगर्भिक अध्ययन र सेतीमाथि मोटरेबल पुल निर्माणको काम भइसकेको छ,’ उनले भने, ‘पावर हाउसतर्फ जाने प्रवेश मार्ग निर्माण पनि लगभग सकिएको छ । बाँधस्थल जानेबाटो भने करिब १ किमि बन्न बाँकी छ ।’ प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम पनि भइरहेको उनले बताए । सेतीमाथि १० करोडको लागतमा १ सय ४ मिटर लम्बाइको मोटरेबल पुल निर्माण भइसकेको छ ।


आवश्यक स्थानमा नदी नियन्त्रणसम्बन्धी कामहरू पूरा हुने चरणमा रहेको आयोजनाले जनाएको छ ।

आयोजनाले पृथ्वी राजमार्गको चापाघाटदेखि विद्युत् गृहसम्म पहुँच मार्ग निर्माण पनि पूरा गरेको छ । राजमार्गदेखि विद्युत् गृहसम्मको ५ मध्ये ४ किमि सडकमा कालोपत्रे र बाँकी भागमा ग्राभेल गरिएको छ । पहुँच मार्ग बनेपछि आयोजना र कर्मचारी आवासगृह निर्माणका सामग्री ढुवानी, कामदार र प्राविधिकलाई आवतजावतमा सहज भएको छ । ऋषिङ गाउँपालिका १, झापुटारमा आयोजनाको कार्यालयसहित आवासगृह निर्माण तीव्र गतिमा भइरहेको छ ।

३२ भवनसहित आवसगृह निर्माण भइरहेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले बताए । ‘२० कोठे दुईतले २ भवन बन्छ,’ उनले भने, ‘यसका साथै २६ आवासगृह र स्वास्थ्यचौकी भवन निर्माण भइसक्यो, फिनिसिङको काम चल्दै छ ।’ आवासगृह क्षेत्रमा अतिथिगृह, चमेनागृह र सुरक्षा गार्ड भवन बनाउने डिजाइन रहेको उनले बताए । आवासगृह निर्माण सम्पन्न गर्न ३७ करोडको लाग्ने अनुमान गरिएको छ । आवासगृहको ७० प्रतिशत काम पूरा भइसकेको उनले बताए ।

प्रवेश मार्ग, आवासगृह र सब–स्टेसनका लागि आयोजनाले १ सय ५० जनाको जग्गा अधिग्रहण गरेको छ । आवासगृहको ८० रोपनीमा फैलिएको छ । जग्गा अधिग्रहणसँगै आयोजनाले मुआब्जा पनि वितरण गरेको छ ।

दुलेपहरोदेखि भिमाद बजारसम्म आयोजनाको जलाशयबाट प्रभावितहरूलाई धमाधम मुआब्जा वितरणको काम भइरहेको छ । १ हजार २ सय ३० रोपनी डुबान क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण भइरहेको हो । आयोजनाले हालसम्म ६२ करोड रुपैयाँ मुआब्जा वितरण गरेको प्रशासन शाखा अधिकृत भोला शर्माले बताए । ‘जग्गा, घरटहरा, फलफूल र रुखबिरुवाको क्षतिपूर्तिस्वरूप मूल्यांकनका आधारमा मुआब्जा वितरण भएको छ,’ उनले भने ।

आयोजनाका लागि दुलेपहरो र मालिंगामा परीक्षण सुरुङ खनी आवश्यक भौगर्भिक परीक्षणसम्बन्धी काम पूरा भइसकेको छ । मालिङमा विद्युत् गृह र दुलेपहरोमा बाँध निर्माण गरिने डिजाइनमा छ । दुलेपहरोको बाँधदेखि १२ सय मिटरको सुरुङमार्फत जलविद्युत् गृहमा पानी खसालिनेछ । दुलेपहरोबाट भिमाद बजारसम्म आयोजनाको जलाशय २२ किमि लम्बाइमा रहनेछ । २ टर्बाइनबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । दुलेपहरोमा १ सय ४० मिटर आग्लो र २ सय १५ मिटर क्रेस्ट लम्बाइको बाँध बन्ने नक्सांकन तयार छ ।

जाइकाको १८ अर्ब, एडीबीको १५ अर्ब, युरोपियन इन्भेस्टमेन्ट बैंकको साढे ८ अर्ब र बाँकी नेपाल सरकारको गरी आयोजनाको लागत ५० अर्बको रहने अनुमान छ । ठेक्का सम्झौता भएको ५ वर्षमा निर्माण पूरा गर्ने आयोजनाको लक्ष्य छ ।

जलाशययुक्त तनहुँ सेती जलविद्युत्को सन् २००० मा सामान्य अध्ययन भएको थियो । २०११ देखि २०१५ सम्ममा विस्तृत अध्ययनपछि निर्माण हुने निश्चित भएको हो । यसैबीच सुपरीवेक्षण परामर्शदाता छनोट गरिएको थियो भने हाल निर्माण ठेक्का खरिद अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?