विद्यालय धाउँदै प्रकाशन गृह

पूर्ण विके

पोखरा — नयाँ शैक्षिक सत्र सुरु हुन अझै एक महिना बाँकी छ । पाठ्यपुस्तक प्रकाशनगृहका प्रतिनिधि आफ्नो पुस्तक लगाइदिन आग्रह गर्दै विभिन्न स्कुल पुग्ने क्रम बढेको छ ।

विद्यालय धाउँदै प्रकाशन गृह

यसरी हिड्ने प्रतिनिधिले स्रोतव्यक्ति, नीजि तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई प्रभावमा पार्न आर्थिक प्रलोभनसमेत दिने गरेका छन् ।


अंग्रेजी माध्यमको अध्यापन गरिरहेका सामुदायिकसहित धेरै निजी विद्यालयले अनिवार्यबाहेकका केही विषयको पाठ्यक्रम आफूखुसी निर्धारण गर्ने भएकाले पनि प्रकाशनगृहको सक्रियता बढेको हो । अनिवार्य बाहेक विद्यालयले पाठ्यक्रममा राख्ने किताबहरू बेग्लाबेग्लै प्रकाशनगृहका हुने गरेका छन् । चालु महिना करिव ८/१० प्रकाशनगृह प्रतिनिधि आएर नयाँ शैक्षिक सत्रबाट आफूहरूको पुस्तक पढाइदिन आग्रह गरेको पोखरा–३ नदीपुरको बालमन्दिर माविका प्रधानाध्यापक सुशील बस्नेतले बताए ।


‘हाम्रो किताबहरू राम्रा छन् लगाइदिन पर्‍यो भन्दै आउने धेरै हुन्छन्,’ उनले भने, ‘हामी वर्षेनी पाठ्यपुस्तक फेर्दैनौं भनेर फर्काउने गर्छौ ।’ कुनै पाठ्यपुस्तक प्रभावकारी लागे शिक्षक र विद्यालय व्यवस्थापन समितिको बैठक बसी निर्णय गरिने उनले बताए । पुस्तक लगाएवापत कमिसनको प्रलोभन समेत दिने गरिएको उनले बताए । ‘पुस्तक लगाएवापत सरलाई पनि यसो अलि अलि हेरौंला भन्छन्,’ उनले भने, ‘हामीलाई चाँहिदैन । विद्यार्थीलाई नै खरिदमा छुट दिनुस् भन्ने गर्छौ । उत्कृष्ट पुस्तक भए खोजी खोजी लगाउने गर्छौ । कमसल किताब कोर्समा राख्यो भने शैक्षिक गुणस्तर खस्कन्छ ।’


बालमन्दिरले जनकशिक्षा लगायत ६ प्रकाशनगृहका पाठ्यपुस्तक लगाएको उनले बताए । राम्रा पाठ्यपुस्तक संयोजन गरेर पढाइएकाले नै नतिजा राम्रो हासिल गर्न सकेको विद्यालयले जनाएको छ । २०७३ मा कक्षा १० को परीक्षामा उक्त विद्यालय ४ नम्बर प्रदेशको सामुदायिकतर्फ उत्कृष्ट हो ।


आफ्ना किताब पढाउन स्कुलहरूलाई समन्वय गरिदिन आग्रह गर्दै प्रकाशन गृहका प्रतिनिधि आउने गरेको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति बलराम पोखरेलले बताए । ‘जसले जस्ता पाठ्यपुस्तक निकाले पनि पाठ्यसामाग्री स्तरीय हुनैपर्छ, जुन पायो त्यही किताब पढाउ भन्न मिल्दैन,’ उनले भने, ‘कमिसनको प्रलोभन दिनु सामान्य कुरा हो तर, पाठ्यपुस्तकको छनोट गुणस्तरका आधारमा गरिने भएकाले निर्धारणको कुरा एकजनाको निर्णयले हुने होइन ।’ उक्त स्रोत केन्द्रअन्तर्गत २४ सामुदायिक र १२ नीजि विद्यालय छन् ।


नयाँ शैक्षिक सत्रलाई लक्षित गरेर विद्यालयहरूमा प्रतिनिधि पुग्नु सामान्य प्रक्रिया भएको एक प्रकाशनगृह प्रतिनिधि सन्तोष अधिकारीले बताए । ‘छापेका किताब यस्ता छन्, पढाउन लगाउनुस् नभनी किताब जान गाह्रो हुन्छ,’ उनले भने, ‘पुस्तक प्रभावकारी भए लगाउने स्कुललाई कमसिन दिनै पर्दैन ।’ धेरै विद्यालयहरूले पुस्तक हेरेपछि त्यसको गुणस्तर जाँच र आपसी छलफलबाट मात्रै पाठ्यक्रममा राख्ने/नराख्ने निर्णय गर्ने भएकाले प्रतिनिधि स्कुल स्कुल पुग्दैमा ठूलो घटना नभएको उनले बताए । नयाँ शैक्षिक सत्रलाई लक्ष्य गर्दै प्रकाशनगृहको सक्रियता बढेको भने उनले स्वीकारे ।


प्रकाशनगृहहरूले आफ्ना पुस्तक लगाईदिन आग्रह गरेपनि तथ्य र व्याकरणका बाहेक दुई वर्षसम्म एउटै पुस्तक पढाउनु पर्ने नियम बसालेको निजी विद्यालयहरुको छाता संगठन प्याव्सन कास्कीका बरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले बताए । ‘केही किताबमा हुने जानकारी वर्षेनी अप्डेट भएर आउँछन्, त्यस्तोमा पुनर्विचार हुन्छ,’ उनले भने, ‘हामीले संस्थाले गरेको निर्णयको बारेमा प्रष्ट भन्ने गर्छौ । कमिसनकै लागि जसको पायो त्यसको कम गुणस्तरको किताब लगाउने हो भने शैक्षिक गुणस्तरमै प्रतिकूल असर पर्छ ।’ शैक्षिक गुणस्तरमा पर्ने प्रभाव सबैका लागि हानिकारक हुने भएकाले प्रकाशगृहको प्रलोभनभन्दा पाठ्यपुस्तकको छनोट स्तरका आधारमा हुने उनले दाबी गरे ।


कास्कीमा सामुदायिकतर्फ २ सय ३१ प्राथमिक, ६० आधारभूत र १ सय १५ माध्यमिक गरि ४ सय ६ र नीजितर्फ १८ प्राथमिक, १७ आधारभुत र १ सय ६२ माध्यमिक गरी १ सय ९७ विद्यालय छन् । जिल्लामा ४ सय ६ विद्यालय २२ वटा स्रोत केन्द्रमा आबद्ध छन् । यी विद्यालयहरूमा अध्ययरत विद्यार्थी संख्या करीब १ लाख ५० हजारजना रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।


प्रकाशित : फाल्गुन २९, २०७४ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?