डालो बुनेरै बित्यो जीवन

बागलुङ — बडिगाड–९ रणासिंकिटेनीका ६५ वर्षीय थमन रेश्मीमगरले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका थिए ।

डालो बुनेरै बित्यो जीवन

विवाहपछि दुरमतीले पनि उनलाई साथ दिइन् । हालसम्म मगर दम्पतीले डालो बुनेरै परिवारको गुजारा चलाएका छन् ।

डालोसँगै अन्न सुकाउने मान्द्रो र नाङ्लो बुन्ने काममै उनीहरूले जीवन बिताए । निगालोकै सामान बनाएर उनीहरूले आठ जनाको परिवार धानेका छन् । चाडपर्व, मेला महोत्सव उनीहरूको मुख्य बजार हो । विवाहसहित जन्म र मृत्यु संस्कारमा कोसेली लैजान प्रयोग हुने सोली बनाएर पनि उनीहरूले आम्दानी गरिरहेका छन् ।

रणसिंकिटेनीकै हिराबहादुर सुनार, गंगाबहादुर विक र खनराम सुनारले पनि निगालोकै सामाग्रीले परिवार पालेका छन् । गाउँका ५० घरपरिवार डोको, डालो र मान्द्रो बुनेर जिविका चलाउँछन् । खेतीपाती नभएपछि रोजगारीको यो विकल्प रोजेको सुनारले बताए । गाउँमा एकादुई बाहेक कसैको पनि खेतीपाती लाउने जमिन छैन । ‘विदेश जानका लागि पनि धेरै खर्च लाग्ने भएकाले छोराछोरीलाई पनि बुन्ने काम सिकाउन थालेका छौं,’ सुनारले भने, ‘निगालो नपाए हाम्रो हातमुख जोडिँदैन ।’

एक महिनामा हरेकले कम्तीमा १० वटा मान्द्रो बुन्न सक्छन् । डोको भने एक दिनमा दुई वटासम्म पनि भ्याउने गरेको चन्द्रबहादुर विकले बताए । बजारमा उनीहरूले मान्द्रोको आकार हेरेर सात सयदेखि दुई हजार रुपैयाँ र डोकोलाई चार सयमा बिक्री गर्दै आएका छन् । सानो आकारका सजाउने डालीदेखि घाँसदाउराका लागि चाहिने डोकामा माग र मूल्य दुवै बढी पाउँछन् । ‘उमेरमा यस्तै सिकियो, यसैले हाम्रो परिवार पालेको छ,’ मगरले भने, ‘छोराछोरीले सिक्न छाडेका छन् । कसरी पुस्ता धानिएला हामीलाई चिन्ता छ ।’ युवापुस्ता विदेश जाने खोजीमा सहर पसेकाले सीप हराउने उनले चिन्ता गरे । यो पेसा नगरेको भए वर्षौं अघिदेखि दलित बस्तीमा भोकमरी लाग्न सक्ने विकको तर्क छ । ‘उब्जाउने जमिन छैन, कमाउने अरु इलम छैन,’ उनले भने, ‘केही पढेका छोराछोरी बजार घुम्न मात्र खोज्छन्, जागिर पाएनन् भने उनीहरूलाई भोकमरी लाग्छ ।’ राम्रा सामग्री भएकाले बजारमा माग भएपछि बुढापाकाले बुन्छन् । मागअनुसारको परिमाणमा तयार पार्न सजिलो छैन ।

युवालाई तालिम दिएर पेसा बचाउनुपर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए । ‘संघले गर्ने महोत्सवमा उनीहरूका सामग्रीलाई बिक्री गर्ने वातावरण मिलाएर प्रवद्र्धन गर्छौं,’ उनले भने, ‘युवालाई पनि सीप विकासका तालिम दिनुपर्छ ।’ हाल पाकाहरूले बनाएका सामग्री आफैं बोकेर बजार लैजानुपर्दा नियमित बुन्न नपाएको विकले गुनासो गरे । अधिकांशले वार्षिक डेढ लाख रुपैयाँ कमाएको उनले बताए । बिक्रीको समस्या नहुने गरी बुन्न पाएमा वार्षिक ३ देखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने दाबी उनको छ । ‘काम गरिरहने, बिक्रीको समस्या नभए आम्दानी बढाउन सकिन्थ्यो,’ उनले भने, ‘विदेश जान खोज्ने छोरानातिलाई सीप सिकाएर बसाइँसराइ रोक्न आवश्यक छ ।’ विवाह, ब्रतबन्ध, जन्म र मृत्यु संस्कारमा कोसेली लैजाने सोली भने लोप हुन लागेको उनले गुनासो गरे । सोली बिक्रीबाट उनीहरूले धेरै कमाउँथे ।

सोलीमा कोसेली लैजाने चलन हटेपछि यो पेसा नै संकटमा परेको मगरले बताए । ‘अहिलेका केटाकेटीलाई सोली के हो भनेर चिनाउन पनि गाह्रो भैसक्यो,’ उनले भने, ‘डोको, डालोको प्रयोग पनि घटेको छ ।’ गाउँमा पुगेका प्लाष्टिकका भाँडाले मगरजस्ता यहाँका सयौंको सीपलाई ओझेल पारेको छ । उनले दशक अघिसम्म वार्षिक ५ सय नाङ्ला, ५ सय डोको डाला र झन्डै २ सय मान्द्रा पनि बुन्थे । अहिले वर्षभरिमा दुई सयवटा मात्र बुन्न सकेको उनले सुनाए । दशकअघि यहाँका चार सयको पुख्र्यौली पेसाको रुपमा चिनिएको निगालोका सामग्री बनाउन जान्नेहरूको संख्या घटेर ५० जना बाँकी छन् । गुल्मीको रिडीमा लाग्ने माघेसक्रान्ति मेला, बागलुङको चैतेदसैं मेला, घुम्मेली र न्वागीलगायतका मेला उनीहरूको मुख्य बजार हो । उनीहरूले मालिंगो र गजिङ जातका निगालो प्रयोग गर्दै आएका छन् ।

प्रकाशित : चैत्र ३, २०७४ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?