पुलले बनायो पौरखी

गाउँका सबै केही न केही उद्यममा व्यस्त
भारत र खाडीबाट फर्किएका पनि आफ्नै व्यवसायमा लाग्दै

रूपा (कास्की) — लमजुङको मध्यनेपाल र कास्कीको रूपा गाउँपालिका जोड्न मादी नदीमाथि १ सय ६५ मिटर लम्बाइको पक्की पुल बनेपछि सुदूरपूर्वी रूपा ३ पोल्याङका बासिन्दाको जीवनस्तरका सकारात्मक प्रभाव परेको छ ।

पुलले बनायो पौरखी

‘पुल नहुँदा हाम्रो गाउँ दुर्गमजस्तै थियो । पुलले बजार नजिक बनायो,’ ४६ वर्षीय सन्तलाल कुमालले भने, ‘पुल बनेपछि गाउँका सबैले केही न केही उद्यम गरेका छन् ।’ सन्तलालले ४/५ सय ब्रोइलर कुखुराका वार्षिक ३ लट उत्पादन गर्छन् । पुलले गर्दा तनहुँको सिसाघाट, लमजुङको भोर्लेटार र दुईपिप्ले बजार नजिकै गराएपछि ३ लाख रुपैयाँ ऋण झिकेर उनले व्यवसाय सुरु गरेका हुन् ।

पुलले मानिसको चहलपहल बढेपछि आफूले किराना र खाजा पसल सञ्चालन गरेको स्थानीय रामबहादुर गुरुङले बताए । पुल नबन्दा गाउँ सुनसान भएकाले त्यसै समय काट्ने गरेको उनले स्मरण गरे । ‘गाउँमा आफन्तबाहेकका कोही नौलो मान्छे नै आउँदैनथे,’ उनले भने, ‘पुल बनेपछि त घुम्नै भए पनि मानिसहरू आउने गर्छन् । केही खान्छन् जान्छन् ।’ करिब १ लाख रुपैयाँ लगानी गरी सुरुवात गरेको व्यवसायलाई लगानी बढाएर हाल करिब ५ लाख बराबर पुर्‍याएको उनले बताए । पोल्याङका करिब १ सय घरमध्ये ८० घर हाराहारी कुमाल समुदायका छन् ।

पुल बनेपछि खाडीबाट फर्किएर गाउँमै तरकारी खेती सुरु गरेका स्थानीय ४१ वर्षीय हर्कबहादुर कुमालले बताए । नियमित पानी लाग्ने करिब १ रोपनी खेतमा उनी काउली हुर्काउँदै छन् । उत्पादन गरिएकामध्ये केही गाउँमै र स्थानीय बजारमा बिक्री गर्ने उनको योजना छ । ‘तरकारीबाट राम्रै होला भनेर काउली लगाउन सुरु गरियो,’ उनले भने, ‘फुलेका काउलीका थुंगा त ठीकै छन् । पुलपारिका स्थानीय बजारमै छोपाछोप होला भन्ने ठानेको छु ।’ ५ वर्ष साउदी अरब बसेर घर निर्माणको काम गरेका उनी वर्ष दिन अघि घर फर्किएपछि तरकारी खेती सुरु गरेको उनले बताए । ‘यतै राम्रो भए विदेश गइँदैन,’ उनले भने, ‘पुल बनेपछि खेतबारीमै मोटर लाउने गर्छु । अब ऋण काढ्ने र खेती बढाउने योजनामा छु ।’ करिब ८० हजार रुपैयाँ लगानी गरी खेती गरेका उनले करिब १ लाख ३० हजार रुपैयाँको काउली बिक्री गर्ने लक्ष्य राखेका छन् ।

पुल बनेपछि बिरामीलाई अस्पताल पुर्‍याउन डोलीमा चढाएर घण्टौं बोक्नुपर्ने बाध्यता हटेकोमा खुसी लागेको स्थानीय मनमाया कुमालले बताइन् । रोजगारीका लागि भारत र खाडीमा रहेका कुमाल युवाहरू पुल बनेपछि गाउँ फिरेर उद्यम गर्दा गाउँको आकर्षण बढेको स्थानीय जनता माविका शिक्षक उदयराज ढुंगानाले बताए । ‘पहिले गाउँको विकास निर्माणको कुरा गर्नेहरूमा महिलाहरू बढी देखिन्थे,’ उनले भने, ‘अहिले विदेश देखेर आएका पुरुषहरूले गाउँमै केही गर्नुपर्छ भनेर छलफल गर्ने गर्छन् । त्यो सकारात्मक कुरा हो ।’

प्रकाशित : चैत्र ३, २०७४ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?