कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घुम्टेमा बढ्न थाले आन्तरिक पर्यटक

बागलुङ — गर्मी बढेसँगै यहाँको पर्यटकीय पहाड घुम्टेमा चहल पहल बढ्न थालेको छ । गर्मी छल्न र प्राकृतिक छटा हेर्दै रमाउनेहरू यहाँ पुग्ने गर्छन् ।

घुम्टेमा बढ्न थाले आन्तरिक पर्यटक

चौविसे राज्यअन्तर्गतको गलकोटलाई चिनाउने यो पहाडमा घुम्दा गुराँसका विभिन्न प्रजाति देख्न पाइन्छ । प्रसिद्ध सिद्धबराहलगायतका मन्दिरको पूजा गर्दा आँटेको पुग्ने स्थानीयमा विश्वास छ । गर्मीमा शीतलको मजा लिन जानेहरू घुम्टेमा बास बस्नेगरि जान्छन् । गलकोट दरबारदेखि करीब ४ घण्टा पैदल हिडेपछि पुगिने यहाँ वैशाख पूर्णिमा, नेपाली नयाँ वर्षमा मेला लाग्ने गर्छ ।

गलकोटेहरूमा धार्मिक विश्वास बढी भएकाले सिद्धबराहको भाकल गरेर पूजा गर्न जानेहरू पनि धेरै छन् । गलकोट क्षेत्रअन्तर्गत गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाढ गाउँपालिका समेत गनिन्छ । गुराँस फुल्ने समय भएकाले पनि घुम्टेमा पुगेरै रातो, सेतो र अन्य रंग मिसिएका गुराँस हेर्ने धेरैले चाहना राख्छन् । यहाँ धेरै रंगका गुराँस फुल्छन् ।

घुम्टे जिल्लाको अग्लो पहाड र रमणीय क्षेत्र पनि हो । हरिचौर, हिल, पाण्डवखानी, मल्म र ताराखोलालगायत दर्जनौं गाउँको केन्द्र घुम्टे ११ हजार फिट अग्लो छ । धेरै प्रकारका जडिबुटी पाइने भएकाले जैविक विविधताको खानी पनि भएको स्थानीय बताउँछन् । यो लेकमा पुग्दा देशविदेशका पर्यटक पनि लोभिन्छन् । छिटपुट विदेशी पर्यटक पनि यहाँ बेलाबेला पुग्ने गरेका छन् ।

गलकोट नगरपालिकाको केन्द्र रहेको हरिचौर र गलकोटे राजाको दरवार भएकाले ऐतिहासिक महत्वसमेत राख्ने गलकोट घुम्टे पर्यटन केन्द्रका अध्यक्ष राजबहादुर थापाले बताए । पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, जडिबुटी संकलन केन्द्र स्थापना गरी उद्योग सञ्चालन गर्नेलगायतका माग उनीहरूले गर्दै आएका छन् । प्रचारप्रसार अभावले ओझेलमा परेको भन्दै चन्दा संकलन गरेर पहाडमा पुग्ने सजिलो मार्ग बनाएको स्थानीय झंकबहादुर बस्नेतले बताए । दुई वर्षदेखि पदमार्ग बनाएर घुम्टे पुग्ने पर्यटकलाई सहज बनाइएको छ । घुम्टेको टुप्पोमा पर्यटक बसाल्ने पार्टी र खानेपानीको व्यवस्थापनका लागि केन्द्रले काम गरेको छ । ‘लामो इतिहास बोकेको गलकोट दरबारदेखि घुम्टेको लेक र उच्च स्थानमा रहेका धार्मिक मठमन्दिरलाई पनि पदमार्गले चिनाउनेछ,’ थापाले भने, ‘पर्यटकीय क्षेत्रका रूपमा घोषणा भएमा जिल्लाको विकासलाई पुग्ने रोयल्टी संकलनमा हामी अगुवाइ गर्नेछौं ।’ पर्यटन क्षेत्र घोषित भएमा वर्षेनी हजारौंले उक्त क्षेत्रको भ्रमण गर्ने सम्भावना रहेको उनले बताए ।

स्थानीयको अगुवाइमा भएको पदमार्ग निर्माण अभियानमा पर्यटन मन्त्रालयले १३ लाख रुपैयाँ सहयोग गरेको छ । निर्माणाधीन पदमार्ग ६ किलोमिटर उकालो छ । सबै मार्ग निर्माण सम्पन्न नभए पनि सहज आउजाउको व्यवस्था गरिएको छ । आवश्यक पूर्वाधार बनाउने, पर्यटकलाई सहजै पुग्न सक्ने बनाउने काममा नगरपालिकाले पनि पहल थाल्ने नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘नगरको सीमित बजेटलाई प्रयोग गरेर प्रारम्भिक काम गर्छौं,’ उनले भने, ‘पर्यटन क्षेत्रको रुपमा विकास गर्ने अभियानमा भने केन्द्रीय पहल पनि आवश्यक छ ।’ विस्तृत गुरुयोजना बनाएपछि पर्यटन प्रवद्र्धन गर्न सकिने भएकोले समितिलाई त्यसतर्फ लाग्न सुझाव दिएको पनि उनले बताए ।

प्रकाशित : चैत्र ३, २०७४ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?