कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कृषि हाटबजार बन्यो भैंसीगोठ

म्याग्दी — जिल्ला सदरमुकाम बेनीको खुलामञ्च छेउको साप्ताहिक कृषि हाटबजार भैंसीगोठमा परिणत भएको छ ।

कृषि हाटबजार बन्यो भैंसीगोठ

सरोकारवाला कार्यालय र जनप्रतिनिधिको ध्यान नपुग्दा हाटबजारको टहरा मासु पसलेहरूको थारा भैंसी, राँगा बाँध्ने गोठ र छाडा चौपायाको आश्रयस्थल बनेको हो ।

१५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हाटबजार बन्द भएपछि बगरेहरूको वधशालाको रूपमा परिणत भएको छ । हाट क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट आउने मलमूत्र र ढलको लेदो पनि जमेको छ । ‘कृषि हाटबजारस्थलमा मासु व्यापारीले अनुमतिबिना पशुचौपाया बाँध्ने र गोठ नै बनाएको जानकारी आएपछि तुरुन्त हटाउन निर्देशन गरेको छु,’ बेनी ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने, ‘हाटबजार पुन: सञ्चालन गर्ने विषयमा कृषिसँग अनौपचारिक छलफल भइरहेको छ, कार्यालयको संगठनात्मक अलमलले गर्दा अन्योल भएको हो ।’

साना कृषकका उत्पादनलाई बजारीकरण गर्न कृषि विकास कार्यालयको अगुवाइमा सुरु गरिएको साप्ताहिक हाटबजार ठूला व्यापारीको असहयोगले बन्द भएको थियो । थोरै परिमाणमा उत्पादित कृषि उपजलाई डोकोमा बोकेर घर–घरमा डुलाएर बेच्ने गर्दा श्रमका तुलनामा मूल्य नपाएको किसानको गुनासो थियो । कृषि कार्यालयले साना कृषकलाई संगठित बनाई साप्ताहिक हाटबजार स्थापना गरेको थियो ।

‘सुरुमा राम्रो चल्यो । कृषक र उपभोक्ता सन्तुष्ट थिए तर तरकारीका थोक व्यापारीले किसानलाई तर्साए, त्यसपछि हाट चलेन,’ बागवानी विकास अधिकृत भोजबहादुर थापाले भने, ‘राज्य पुन:संरचना अनुसार सेवाग्राही कार्यालयमा अन्योल बढेपछि हाटबजार व्यवस्थापन समिति र अन्य सरोकार राख्ने निकाय पनि एकाएक निष्क्रिय भइदियो । लाखौंको संरचना दुरुपयोग भएको छ ।’

बाहिरबाट तरकारी ल्याएर थोक व्यापार गर्ने व्यापारीले हाटबजार लाग्दा आफ्नो व्यापार प्रभावित भएको भन्दै कृषककै बारीमा पुगेर तरकारी किन्न थाले । बारीबाटै बिक्न थालेपछि किसानले हाटमा ल्याउने क्रम घट्यो । हाटमा आइपुग्ने र ठूला व्यापारीले बेच्ने तरकारीको भाउ एउटै बनाइयो । त्यसयता हाटको आकर्षण घट्दै साना किसान जाने क्रम बन्द भएको हो ।

प्रकाशित : चैत्र ४, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?