१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मन्त्रीपरिषदलाई ३० बुँदे आचारसंहिता

सालिन पहिरन, गोपनीयता, मद्यपानरहित र उपहार लिन नहुनेलगायत कडा नियममा
लालप्रसाद शर्मा

पोखरा — प्रदेश ४ का मुख्यमन्त्रीलगायत मन्त्रीहरुकालागि ३० बुँदे आचारसंहिता जारी गरिएको छ । मन्त्रीपरिषदको गत शुक्रबार सम्पन्न बैठकले अनुमोदन गरेको आचारसंहिता आइतबार सार्वजनिक गरिएको हो । 

यसले मन्त्रालयको कार्य सम्पादनमा सहयोग पुग्ने र आफूलाई पनि व्यवस्थित रहन सहयोगी हुने मन्त्रीहरुको भनाई छ । मन्त्रीपरिषदका सदस्यले नैतिकता आधारभूत सिद्धान्तको प्रतिकुल हुने गरी कुनै काम कारवाही गर्न नहुने आचारसंहिताको पहिलो बुँदामा राखिएको छ । त्यसैगरी कामकारवाही राष्ट्र र सर्वसाधारणको सेवामा केन्द्रीत हुनुपर्ने, मन्त्रालयबाट गरिने कार्य सम्पादन संविधान र कानुन बमोजिम आमनागरिकको अपेक्षालाई ध्यानमा राखी गर्नुपर्ने, मन्त्रालयको कामका लागि प्रदेशसभा र मुख्यमन्त्रीप्रति उत्तरदायी हुनुपर्ने आचारसंहितामा समेटिएको छ । मन्त्रीपरिषदका सदस्यले प्रदेशसभाका सदस्यको राय, सल्लाह र सुझाव सुन्न सरल र प्रभावकारी व्यवस्था, कार्यसम्पादनको अभिलेखीकरण र संविधानको कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने, मुख्यमन्त्रीले जारी गरेका निर्देशनको पूर्ण पालना र कार्यान्वयनको प्रगति विवरण दिनुपर्ने उल्लेख गरिएको छ ।


६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक, आफुसँग सम्बन्धित व्यक्ति, संस्था वा पक्षलाई फाईदा पुग्ने र राज्य वा नागरिकलाई नोक्सान पर्नेगरी कामकारवाही गर्न/गराउन नहुने आचारसंहितामा छ । त्यसैगरी बैठकमा झूटाे विवरण प्रस्तुन गर्न नहुने, जानकारी गोप्य राख्नुपर्ने, भडकिलो प्रस्तुति र मद्यपान गर्न नहुने, मन्त्रीपरिषदका सदस्यबीच हुने कुनै विवाद संचारमाध्ययमा लैजान नहुने विषय पनि समेटिएको छ । क्षेत्र, जातजाति, धर्म, वर्ण, लिंग, सम्प्रदायबीचको सम्बन्धमा खलल हुने गतिविधि नगराउने, विशेष कार्यक्रममा बाहेक विदेश भ्रमणमा जानुपूर्व मुख्यमन्त्रीको अनिवार्य स्विकृति लिनुपर्ने, भ्रमणमा राष्ट्रको नाममा प्राप्त अनुदान, पुरस्कार वा उपहार प्रदेश सरकारलाई बुझाउनुपर्ने आचारसंहिता बनाइएको छ । स्वदेशी वातावरणमैत्री उत्पादनका सामाग्री प्रयोग गर्ने, आर्थिक मितव्ययिता, सेवा सुविधाका अवसरको बाँडफाँड गर्दा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी राज्यको नीतिलाई अंगीकार गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।

मन्त्रालयको कामकारवाही सम्बन्धमा सार्वजनिक जानकारी लिन सुझाव तथा उजुरी पेटिका, हटलाईन टेलिफोन, ईमेलजस्ता साधन प्रयोग गर्ने र सरोकारवाला र विज्ञसमेतसँग सार्वजनिक सुनुवाई गर्ने, योग्य र क्षमतावान् स्वकीय वा नीजि सचिव नियुक्त गरी उसको कामकारवाहीको सुपरीवेक्षण आफै गर्नुपर्ने जनाइएको छ । कार्यक्रममा समयमै उपस्थित, कर्मचारीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण, प्रदेश सरकारको आधिकारिक नीति तथा कार्यक्रम सरकारको प्रवक्तामार्फत सार्वजनिक गर्ने, पदीय मर्यादा र अख्तियारको दुरुपयोग नगर्ने र सम्पत्ति आर्जन गर्ने काम शून्य सहनशिलताको आधारमा गर्नुपर्ने, सरकारी स्रोत र साधनलाई नीजि, पारिवारिक उपयोग नगर्ने आचारसंहिता बनाइएको छ । त्यस्तै देश र जनताको गरिमा, मर्यादा र प्रतिष्ठालाई सम्झी काम, कर्तव्य र अधिकारको प्रयोग गर्नुपर्ने, आफन्त, नातेदार र नजिकको साथीसँग विवाद वा सहयोगका विषयलाई प्रत्यक्ष असर पुर्‍याउने गरी आतिथ्यता, दान वा उपहार लिन नपाईने, पक्षपात, भनसुन वा द्वेश र प्रतिशोधको भावना राख्न नहुने, जानीजानी झुटो तथ्यांक र विवरण दिन नहुने र क्षेत्राधिकार उलंघन हुने वा एक अर्कामा घृणा र द्वेश पैदा हुनेगरी काम गर्न नहुने आचारसंहितामा छ ।


मन्त्रीपरिषदका सदस्यको आचारण र व्यवहारलाई व्यवस्थित एवं पारदर्शी बनाई सक्षम र पारदर्शीरुपमा नैतिकता र मर्यादा कायम राखी असल शासन संचालन गर्नुपर्ने आवश्यकतालाई महशुस गरी आचारसंहिता जारी गरिएको सरकारका प्रवक्ता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले बताए । ‘नेपाल सरकार र कानुनलाई आधार बनाएर आचारसंहिता जारी गरिएको छ,’ उनले भने, ‘यसको पूर्ण कार्यान्वयवनको प्रतिवद्धता जनाउँछौ ।’


प्रकाशित : चैत्र ४, २०७४ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?