स्थानीयकै सहभागितामा नमुना बस्तीको योजना
गोरखा — स्थानीयवासीकै सक्रियतामा भीमसेन थापा गाउँपालिका–५ बगुवाको लामाचौरमा एकीकृत बस्तीको निर्माण सुरु भएको छ । १ सय ३८ घरधुरी स्थानीयका लागि एकीकृत नमुना बस्ती बनाउन सुरु भएको हो ।
२०७२ वैशाख १२ को भूकम्पले साविकको बगुवा ४ र ५ वडाका रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ र नयाँगाउँका जमिनमा धाजा फाटेसँगै बस्न अयोग्य भएपछि सामूहिक बस्ती बसाल्न लागिएको वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले बताए । ‘भूगर्भविद्हरू आएर परीक्षण गर्नुभयो, जोखिममा छ भनेपछि गाउँ नजिकै हामीले एकीकृत बस्ती बनाउने काम थालेका हौं,’ उनले भने, ‘एकीकृत मिलन बस्ती पुनर्निर्माण तथा विकास समिति गठन गरेर काम अघि बढाइएको हो ।’
हाल ३० घर बनिरहेका छन् । ‘अहिले बन्दै गरेकाको काम यही महिनाभित्रै सम्पन्न हुन्छ,’ उनले भने, ‘यसपछि १ सय १२ घरधुरीको एकैचोटी काम थाल्ने हाम्रो योजना छ ।’ गत शनिबारदेखि बस्तीमा बस्ने घरधनीलाई लालपुर्जा वितरण थालिएको छ । ‘एउटा कार्यक्रममा १५ जनालाई लालपुर्जा वितरण गर्यौं, बाँकी घरधुरीलाई केही दिनमा विकास समितिले लालपुर्जा वितरण गर्छ,’ उनले भने ।
एकीकृत गरिएको जग्गालाई आठ ‘कलस्टर’मा छुट्याइएको छ । कलस्टरअनुसार चिठ्ठा थुताएर सबै घरले पाउने जग्गाको पहिचान भइसकेको विकास समितिले जनाएको छ । नयाँ प्रविधिको प्रयोगबाट पुरानै शैलीको एकै किसिमका घर निर्माण गर्ने स्थानीयले योजना बनाएका छन् । ‘एउटा घर बनाउन करिब सात लाख लाग्ने रहेछ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘सरकारले दिएको तीन लाख र बाँकी आफ्नै गच्छेअनुसार खर्च गरेर घर बनाउने भनेका छौं ।’ एकल महिला, अभिभावकविहीन र विपन्नका घर बनाउन दातृ निकायको सहयोग माग्ने योजना स्थानीय अगुवाहरूको छ ।
एकीकृत बस्तीमा सबै घरको अगाडि २० फिटको सडक हुने डिजाइन छ । ‘घर पछाडि ढल फाल्ने ब्यवस्था गर्छौं भने ढलमाथि ५ फीटको पैदल बाटो हुनेछ,’ वडाध्यक्ष श्रेष्ठले भने । बस्तीभित्र खेलकुद मैदान, वगैंचा र विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनहरू पनि बन्ने विकास समितिका अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । दुई सय रोपनीमध्ये १ सय ५ रोपनी क्षेत्रफलमा बस्ती र अन्य भागमा संरचना निर्माण हुने जानकारी उनले दिए । एकीकृत गरिएको जग्गामध्ये केही खरिद गरिएको र केही सित्तैमा पाप्त गरिएको विकास समितिले जनाएको छ ।
बगुवामा निर्माण हुने एकीकृत बस्तीको पूर्वाधारको विकासमा सहयोग गरिने पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य हरेराम पराजुलीलले बताए । ‘भूकम्पपछि एकीकृत बस्ती बसाल्छु भन्ने राम्रो कुरा हो, यो बस्तीबाट अन्य ठाउँका भूकम्पपीडितले पनि केही सिक्न सक्छन्,’ उनले भने । भूकम्पपछिको पुनर्निर्माणका क्रममा गोरखामा लाप्राकमा एकीकृत बस्तीको योजना पहिलो हो भने बगुवा दोस्रो हो ।
प्रकाशित : चैत्र ७, २०७४ ११:५४