१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तीन स्थानीय तह एसईई केन्द्रविहीन

लमजुङ — स्थानीय तह सञ्चालनपछि नागरिकले घरगाउँमै सेवा पाउँछन् भनिएको थियो । जनताका अधिकार गाउँमा पुग्ने बताइएको थियो ।

तीन स्थानीय तह एसईई केन्द्रविहीन

गाउँसमाजबाट कहिल्यै टाढा नगएका विद्यार्थी एसईईको परीक्षा दिन भने एक दिनको बाटो यात्रा गरेर सहरबजार झर्न बाध्य छन् । संघीयतामा हरेक सेवा, सुविधा र अधिकार स्थानीय तहबाटै पाइने भनिए पनि एसईई परीक्षा दिनकै लागि विद्यार्थी गाउँघरबाट टाढा पुग्नु परेको हो ।

जिल्लामा ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीय तह छन् । ४ नगरपालिका र १ गाउँपालिकामा बाहेक ३ गाउँपालिका एसईई परीक्षा केन्द्रविहीन छन् । स्थानीय शिक्षकले गाउँपालिकामै केन्द्र राख्नुपर्ने माग गरे पनि यसअघिका वर्षमा केन्द्र तोकिएकै विद्यालयमा यो वर्ष पनि केन्द्र तोकिएको छ । एउटा केन्द्र मात्रै परिवर्तन गरिएको छ । कुल १८ केन्द्रमध्ये बाँकी १७ केन्द्रलाई यथावत् राखिएको छ । गत वर्ष सुन्दरबजार नगरपालिकाको भोटेओडारस्थित भूपू सैनिक आवासीय माविमा सञ्चालित केन्द्र यसपटक बुद्धमिलन मावि प्यारजुङ लगिएको छ । राइनास नगरपालिकामा पर्ने उक्त केन्द्रमा दूधपोखरी गाउँपालिकाका परीक्षार्थी छन् ।

जिल्ला शिक्षा कार्यालयका अनुसार एसईईको केन्द्र बेंसीसहर नगरपालिकामा ६ केन्द्र, सुन्दरबजार नगरपालिकामा ४, मध्यनेपाल नगरपालिकामा ४, राइनास नगरपालिकामा ३ र मस्र्याङ्दी गाउँपालिकामा एउटा राखिएको छ । बाँकी ३ गाउँपालिकामा भने केन्द्र छैनन् । क्व्होलासोंथर गाउँपालिका १ बागलुङपानीस्थित जनज्योति माविका प्रधानाध्यापक बिलप्रसाद गुरुङले विद्यार्थी अपुग, होमसेन्टर, बस्ने ठाउँ नहुने भन्दै एसईई केन्द्र राख्न नदिइएको बताए । ‘एउटा गाउँपालिका एउटा केन्द्र हुनुपर्‍यो भनेर आवाज उठाएका थियौं । यसअघि ३/४ पटक केन्द्र सञ्चालन भएको स्कुल पनि हो,’ उनले भने, ‘गाउँपालिकाले आयोजना गरेको बैठक र स्रोत केन्द्रको बैठकमा कुरा उठाएर पुर्‍याइए पनि सुनुवाइ भएन ।’

दोर्दी गाउँपालिकास्थित पाचोक माविका प्रअ मेघनाथ दवाडीका अनुसार आफ्ना विद्यार्थी सुन्दरबजार नगरपालिकाको भोटेओडारस्थित भक्तिनमुना मावि केन्द्रमा परेको छ । ‘गाउँपालिकामा एउटा केन्द्र पर्नुपर्ने हो । गाउँपालिकाभित्र केन्द्र नपारेर विद्यार्थीले दु:ख पाए,’ उनले भने । गत वर्ष भोटेओडारकै भूपू सैनिक आवासीय मावि परेकोमा यसपटक उक्त ठाउँकै भक्तिनमुनामा विद्यार्थीले परीक्षा दिने उनले बताए । ‘नजिकै परे सबै विद्यार्थीलाई स्कुलले लाने र ल्याउने भनेका थियौं । टाढा पारिदिए, सबै आ–आफ्ना ढंगले सहर झरे,’ उनले भने । उनले अर्को पटक आफ्नै गाउँपालिकामा केन्द्र राख्नका लागि पहल गरिने बताए ।

दूधपोखरी गाउँपालिका १ दूधपोखरीस्थित कल्लाबारी माविका प्रधानाध्यापक रामप्रसाद दवाडीले प्यारजुङ केन्द्रमा आउन एक दिन लाग्ने बताए । उक्त गाउँपालिकाका विद्यार्थीलाई केन्द्र भनेको वागेश्वरी मावि पर्छ । उक्त क्षेत्रकै सबैभन्दा पुरानो विद्यालय वागेश्वरीमा २०३१ सालबाटै कक्षा १० को पढाइ सुरु भएको थियो । ‘हामी गोरखाको सिमानामा छौं । भौगोलिक दूरीको कुरा गर्ने हो भने हामीलाई गोरखाका विद्यालय नै नजिक पर्छन्,’ उनले भने, ‘गाउँपालिकाभित्रै केन्द्र राख्न गाउँपालिकाले पहल गरेन ।’ जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेलले भौगोलिक स्थिति, सुरक्षा संवेदनशीलता, विद्यार्थीको अवस्था हेरेर केन्द्र निर्धारण गरिएको बताए । ‘दूधपोखरी गाउँपालिकाका विद्यार्थीलाई मध्यनजर राखेर गाउँपालिकाबाट नजिक पर्ने राइनास नगरपालिकाको प्यारजुङमा राखेका छौं । भोटेओडारको भूपू सैनिक केन्द्रलाई हटाएर प्यारजुङ राख्यौं ।

सुरक्षा दृष्टिकोण, भौगोलिक अवस्थाले पनि साथ दिने देखियो,’ उनले भने, ‘अरू ठाउँ अपायक देखिएकाले नराखेका हौं ।’ उनले ग्रामीण भेगमा विद्यार्थीको घनत्व पनि कम हुने र ५० परीक्षार्थी पनि नजुट्ने भएकाले माथिल्लो भेगमा केन्द्र नराखिएको उनले बताए ।

प्रकाशित : चैत्र ८, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?