कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाख्रापालनमा हाडनाता समस्या

स्वस्थ पाठापाठी र अधिकतम लाभ लिनका लागि ब्याड बोका फरक पार्नैपर्ने
गाई–भैंसीको जस्तो कृत्रिम गर्भाधानको व्यवस्था बाख्राका नभएको
प्रतीक्षा काफ्ले

स्याङ्जा — कृषकलाई व्यावसायिक बाख्रापालनमा हाडनाताको समस्या परेको छ । स्वस्थ पाठापाठी र अधिकतम लाभ लिनका लागि ब्याड बोका फरक पार्न उनीहरूलाई गाह्रो परेको हो ।

बाख्रापालनमा हाडनाता समस्या

आफूले पालेका ब्याड बोकासँगको गर्भाधानबाट जन्मेकै बाख्रामा फरक बोका लगाउनुपर्छ । कालीगण्डकी गाउँपालिका ५ बेलटारीका त्रिभुवन न्यौपाने भन्छन्, ‘ब्याडको बोका फरक नपारे स्वस्थ पाठापाठी उत्पादन लिन सकिँदैन, ब्याडे बोका खोज्नै गाह्रो छ ।’

६१ बाख्रा पालेका उनी जिल्लाकै व्यावसायिक बाख्रा कृषकमध्ये अग्रणीमा पर्छन् । उनले अस्ट्ेरयन जातको बोयर जातका बाख्रा पालेका छन् । ‘मेरो फर्ममा एउटा बोका छ, त्यो पनि दुई वर्षको भयो,’ उनले भने, ‘जति पनि उत्पादन छन् त्यसैका हुन् । उसबाटै जन्मेका बाख्रालाई त्यही बोका लगाउनु हुँदैन ।’ त्यसैले हाडनाता फरक पार्न गाह्रो भइरहेको उनले बताए । पशु प्राविधिकको सल्लाह अनुसार हालको बोका बेचेर उनी भारतबाट अर्को ल्याउने तयारीमा छन् । ‘बोयर र रैथाने प्रजाति मिसमास भएको छ,’ उनले भने, ‘हाडनातामा परेनन् भने पाठापाठी स्वस्थ र धेरै दाममा बिक्री हुने हुन्छन् ।’

छिमेकीले पालेका बाख्रामा वर्षौंसम्म एउटै ब्याड बोका लगाउँदा अस्वस्थ पाठापाठी हुने गरेको आफूले देखेको उनले बताए । ‘जिन फरक पारिएन भने बाख्रापालन फस्टाउँदैन,’ उनले भने, ‘भएका पनि मरेर नासिन्छन् ।’

कालीगण्डकीमै श्रीधर थापामगर पनि बाख्रामा हुने हाडनाताको समस्याले हैरानी पारेको बताउँछन् । ‘केही वर्ष पहिले मेरा बाख्राहरू मासिँदै गए,’ उनले भने, ‘भएका बाख्रा पनि रोगी बन्दै गए । जानेरभन्दा पनि नजानी–नजानी बाख्रा रोगी भए भनेर औषधि खुवाइयो । बाख्रालाई भएको के हो भन्ने कुरा बुझ्न सकिएन । अहिले आएर कारण थाहा भयो ।’ बाख्रा मासिनुको वैज्ञानिक कारण नै एउटै हाडनाताको बीउ परेर रहेको उनले बताए । ‘ध्यान नदिँदासम्म यो सामान्य कुरा हो जस्तो लाग्छ तर पशुपालक सबैले यो बुझ्नैपर्ने रहेछ,’ उनले भने, ‘गाई–भैंसीको जस्तो कृत्रिम गर्भाधानको व्यवस्था बाख्राका लागि छैन । गाई–भैंसीको सिमेन राख्दा जिन फरक पारिएको हुन्छ ।’

व्यावसायिकरूपमा धेरै बाख्रापालन नगर्ने किसानलाई पनि अहिले हाडनाताको समस्या परेको छ । गल्याङकी मनमाया मगरका हाल १७ बाख्रा छन् । तीन वर्ष पहिले लगातार ११ बाख्रा मरेको बताउँदै उनले भनिन्, ‘मर्दै गए, के रोग भित्रियो भन्ने डर लाग्यो । बाँचेका दुई/चारवटा पनि रोगी भए ।’ केहीलाई मर्लान् भन्ने डरले नोक्सानी खेप्दै हतारमा बेचेको उनले बताइन् । गाउँमा सञ्चालित अन्तक्र्रियामा प्राविधिकले हाडनाताको बीउ पर्दा हुने समस्याबारे बताएपछि बोका फरक पार्नुपर्ने तथ्य प्रष्ट भएको उनको भनाइ छ । ‘बाख्रा गाउँ अभियानले कुरा बुझाए पनि पहिले घाटा लागिहाल्यो,’ उनले भनिन्, ‘बीउ बोका फरक पार्न पनि सजिलै पाउने भए पो ।’

बाख्रा गाउँ अभियानका अध्यक्ष सुशील अर्यालले बाख्रामा हाडनाताको समस्या व्यावसायिक कृषकलाई ठूलो चुनौती भएको बताउँछन् । ‘ठूलो लगानी हालेर व्यवसाय गरेका कृषकलाई समस्यामा पारेको छ,’ उनले भने, ‘हामीले कृषकहरूलाई मिलाएर बाख्राको जात फरक–फरक पारिदिएका छौं । जिल्लाभित्र मात्र नभई बाहिरी जिल्लामा पठाउने र बाहिरी जिल्लाका फरक जातका बोका जिल्ला ल्याउने गरेका छौं ।’ बाख्रापालक आफैंले ब्याड बोका फरक पार्न ध्यान दिएको खण्डमा यो ठूलो समस्या नभएको उनले बताए । ‘दुई वर्षभन्दा माथि कुनै पनि जातका बोका पाल्न नहुने विषयमा हामी किसानका लागि सचेतनामूलक कार्यक्रम चलाउँदै आएका छौं,’ उनले भने ।

प्रकाशित : चैत्र ८, २०७४ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?