कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डढुवाले गोलभेंडामा क्षति

पर्वत — लामो खडेरी पछिको वर्षासँगै गोलभेंडामा डढुवाको संक्रमण देखिएपछि किसान चिन्तामा छन् । लटरम्म फलेर पाक्ने समयका गोलभेंडाका पातमा कालो दाग देखिने र एक सातामै बोट धमाधम मर्न थालेको किसानले बताएका छन् ।

डढुवाले गोलभेंडामा क्षति

मोदी, पैयुँ, जलजला गाउँपालिका र फलेवास नगरपालिकामा गरिएको गोलभेंडामा डढुवाको बढी संक्रमण देखिएको छ । बारीमा मात्रै नभएर टनेलभित्रका गोलभेंडा समेत भटाभट मर्न थालेपछि किसानहरू आत्तिएका छन् । ‘पोहोर टनेलको गोलभेंडा बेचेर दुई लाख जति आम्दानी भएथ्यो,’ फलेवास ६ देवीस्थानका किसान ओमप्रसाद भुषालले भने, ‘यस वर्ष पाक्ने बेलामा सबै सखाप भयो । लगानी उठ्न पनि मुस्किल छ ।’ फलेवास ४ का थानेश्वर भुषालले यो रोगको संक्रमण बढेपछि कृषि प्राविधिकको सल्लाहमा विभिन्न औषधि प्रयोग गरे पनि सफल नभएको बताए । उनले दुई महिनादेखि डढुवा रोक्न विभिन्न विषादीको प्रयोग गरे पनि कुनै असर नपरेपछि दीर्घकालीन समाधान खोज्न प्राविधिकसँग आग्रह गरेका छन् ।

लाखाैं लगानी गरेर गोलभेंडाको खेती सुरु गरेका व्यावसायिक किसानहरू यो समस्याले निरास छन् । किसान भुषालका अनुसार एउटा टनेल बनाउन डेढ लाख रुपैयाँ खर्च हुन्छ । टनेलले बढीमा ५ वर्ष काम गर्छ । दुई वर्ष लगातार डढुवा लागेर गोलभेंडा मरेपछि हालसम्म लगानी जुटाउन नसकेको उनी बताउँछन् । सुरुमा खुला बारीमा देखिएको डढेलो टनेलभित्रको गोलभेंडामा पनि एकाएक फैलिएपछि लाखौं लगानी गरेका किसानहरू बढी समस्यामा परेका छन् ।

जलजलाका रामु सुवेदीले ३ रोपनीमा लगाएको गोलभेंडामा डढुवा फैलिएपछि सबै बोट हटाएर चार मासे सिमी लगाएको बताए । ‘गोलभेंडा राम्रो भइदिएको भए एकै सिजनमा ५ लाख आम्दानी हुन्थ्यो,’ सुवेदीले भने, ‘बीउ र परिश्रम सबै खेर गयो ।’ अघिल्लो वर्ष राम्रै आम्दानी गरेका सुवेदीले यो वर्ष गोलभेंडा मरेपछि पारिश्रमिक उठाउनै नसकेको गुनासो गरे ।

कृषि प्राविधिकहरूका अनुसार जिल्लाभर लामो खडेरीपछि एक्कासी मौसममा परिवर्तन आएकाले यो समस्या देखिएको हो । ‘यो एकप्रकारको फङ्गस (ढुसी) हो,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘मौसममा थोरै फेरबदल हुनेबित्तिकै गोलभेंडा र आलुमा बढी आक्रमण गर्छ ।’ डढेलोको संक्रमण फैलिन सुरु गरेपछि एक सातामै सबैतिर समस्या देखिने रेग्मीले बताए । खुला स्थानमा लगाइएको गोलभेंडामा छिटो आक्रमण गर्ने यो रोगले यो वर्ष टनेलभित्र पनि बढी असर गरेको छ । गोलभेंडामा डढेलो लाग्नुमा किसानको पनि कमजोरी भएका प्राविधिकहरू बताउँछन् । कृषि प्राविधिकका अनुसार बीउ रोप्ने र बिरुवा सार्ने समयमा क्रिलोक्सिल र फल पाक्ने समयमा किङस्टारको प्रयोगले यो रोग कम गर्न सकिन्छ । किसानहरू बाली लगाउने समयमा हतारिनाले यो समस्या बढी देखिएको प्राविधिकको ठहर छ ।

प्रकाशित : चैत्र ८, २०७४ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?