कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कालीगण्डकी कोरिडोरमा यातायात अनुमति

तत्काललाई २६ सिटसम्मका मिनिबस र जिपलाई रुट परमिट
ट्रयाक खुलेका सडकमा भाडादर कायम
प्रकाश बराल

बागलुङ — जिल्ला यातायात व्यवस्थापन समितिले कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा यातायात सञ्चालनका लागि अनुमतिसँगै हाल निर्माणाधीन र ट्रयाक खुलेका सडकको भाडादर कायम गरेको छ । 

समितिको बैठकले बिहीबारदेखि लागू हुनेगरी ट्रयाक खुलेको कालीगण्डकी कोरिडोर, बागलुङ–बेनी सडकलगायतमा भाडादर कायम गरेको समितिका अध्यक्ष विष्णुबहादुर थापाले बताए । कोरिडोरको बागलुङ खण्डमा गत दसैंमा ट्रयाक खुलेयता गाडी चल्न सुरु भएको थियो । गाडी चल्न थाले पनि समितिले हालसम्म रुट परमिट पनि दिएको थिएन ।

कोरिडोरमा मिनिबस र जिप सञ्चालनका लागि बिहीबारदेखि लागू हुनेगरी रुट परमिट दिइएको हो । ‘तत्काललाई २६ सिटसम्मका मिनिबस र जिप सञ्चालन गर्न दिने निर्णय भएको छ,’ थापाले भने, ‘साथै तत्कालका लागि आवश्यक भाडादर कायम भएको छ ।’ तोकिएको दर अनुसार बसले प्रतिकिमि साढे ६ रुपैयाँ र जिपका लागि प्रतिकिमि साढे ७ रुपैयाँ भाडा कायम भएको हो ।

बैठकले बागलुङ नगरभित्र नगरबस सञ्चालन गर्नका लागि अध्ययन टोली पनि गठन गरेको छ । टोलीले एक साताभित्र प्रतिवेदन दिनुपर्नेछ । उक्त प्रतिवेदनका आधारमा वैज्ञानिक भाडादरसहित सवारी सञ्चालन गर्ने निर्णय गरिएको हो । हाल सञ्चालनमा रहेका सवारीले मनपरी भाडा असुल्दै आएका थिए । कोरिडोर लगायतका सबै सडकमा भाडादर कायम नहुँदा व्यवसायीले तोकेको दरमै यात्री भाडा तिर्न बाध्य थिए । शुक्रबारदेखि बलेवा विमानस्थल सञ्चालनमा आउने भएपछि बागलुङ बजारदेखि विमानस्थलसम्म पुग्ने यात्रीका लागि तत्कालका लागि नि:शुल्क सवारीको व्यवस्था गरिएको छ । जिल्लामा क्रियाशील यातायात व्यवसायीहरूले हरेक साता दुईवटा सवारीसाधनबाट यात्रीलाई विमानस्थलसम्म सित्तैमा पुर्‍याइदिने नगरपालिकासँग सम्झौता भएको हो । उनीहरूको न्यूनतम खर्चका लागि नगरपालिकाले सहयोग गर्ने व्यवस्था छ । सदरमुकामदेखि बलेवा विमानस्थल १० किमि पर छ । कालीगण्डकी कोरिडोरको ट्रयाकबाट चल्ने जिपले ३० मिनेटदेखि ४० मिनेटमा विमानस्थलसम्म पुर्‍याउने गर्छन् ।

जिल्लाभित्र मध्यपहाडी लोकमार्गको १ सय ४२ किमि खण्डमा मात्र यातायात अनुमति थियो । अन्य सबै गाउँमा चल्ने सवारी बिनाअनुमति चलिरहेका छन् । अधिकांश वडामा जिपको यात्रा गर्न सकिन्छ तर ती सबैमा यातायात अनुमति भने प्राप्त छैन । अधिकांश ग्रामीण सडक वर्षातमा बन्द हुन्छन् । स्थानीय तहका पदाधिकारीले भने आफ्नो क्षेत्रका सडकको स्तरोन्नति गर्ने योजना बनाएका छन् । ‘आगामी वर्षातमा मुख्य–मुख्य सडकहरूमा नियमित सवारी चल्ने गरी स्तरोन्नतिको योजना बनाएका छौं’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने, ‘सेवा प्रवाह चुस्त बन्न सेवाग्राही पनि सहज रूपमा आउन सक्ने वातावरण बनाउँदैछौं ।’


प्रकाशित : चैत्र १०, २०७४ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?