१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सहायकका भरमा वडा कार्यालय

प्रतीक्षा काफ्ले

स्याङ्जा — सेवाग्राही काम लिएर पुगे भने वालिङ ५ को वडा कार्यालयमा भेटिन्छन् कार्यालय सहायक ओमबहादुर थापा । उनले त्यहाँबाट सेवा दिने नभई नगरपालिका गएर आफ्नो काम बनाउन सेवाग्राहीलाई सल्लाह दिन्छन् ।

सहायकका भरमा वडा कार्यालय

१० नम्बरको वडा कार्यालय दीपेन्द्र गैरे र ११ मा पार्वती अर्यालसँग भेट हुन्छ । दुवै कार्यालय सहायक थापा जसरी नै सेवाग्राहीका लागि सल्लाह दिने भूमिकामा छन् । कार्यालय सहायक मात्रै भेटिनुको कारण वडासचिव नभएकाले हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त पौडेलले भने, ‘वडासचिव आइपुगेका छैनन्, सहायकका भरमा भए पनि कार्यालय चलाउनुपरेको छ ।’ साबिकको गाविसमा कार्यरत कर्मचारीलाई स्थानीय तह पुन:संरचनासँगै नगर र गाउँका वडाहरूमा सहायकको जिम्मेवारीमा राखिएको उनले बताए । ‘करारका कर्मचारीको भरमा वडा कार्यालय धान्नुपरेको छ,’ उनले भने, ‘कर्मचारी माग गरिरहेका छौं, आउने कहिले थाहा छैन ।’ स्थानीय तह कार्यान्वयनसँगै कम्तीमा पनि एउटा वडामा वडासचिव, सहायक सचिव, सहलेखापाल, ओभरसियर, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको दरबन्दी छ । वालिङ नगरपालिकाको कार्यालयमा मात्रै ५१ जनाको दरबन्दी छ । कार्यरतको संख्या १५/१६ मात्रै रहेको कार्यालयले जनाएको छ ।

यस्तै भीरकोट नगरपालिकाका वडा कार्यालय पनि सहायककै भरमा छन् । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाका अनुसार नगरका ९ वटा वडामध्ये ३, ४, ७ र ८ नम्बरमा सचिव छैनन् ।

‘दरबन्दीका कर्मचारी अभावले गर्दा करारका कार्यालय सहायकलाई सचिवको अधिकार प्रयोग गर्दै काम गराउनपरेको छ,’ उनले भने, ‘नगरपालिका कार्यपालिकामा ५१ जनाको दरबन्दी भए पनि १४/१५ जनाकै भरमा चलाउनुपरेको छ ।’ यस्तै गल्याङ नगरपालिकामा पनि ५ वटा वडा सहायककै भरमा चल्दै आएको छ । प्रमुख प्रशासकीय अधिकृत अरविन्दमणि त्रिपाठीले कर्मचारी व्यवस्थापनमा जिल्ला र केन्द्रबाट राम्रो समन्वय नभएको बताए । ‘कर्मचारी माग गरी ल्यायो अन्य स्थानीय तहले तानिहाल्छन्,’ उनले भने, ‘कर्मचारी टिकाउन गाह्रो छ ।’ उनका अनुसार गल्याङ नगरका २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालय सहायक कर्मचारीको भरमा छन् । ‘करार र निजामती गरी १२ कर्मचारीको भरमा नगर कार्यपालिका चलेको छ,’ उनले भने ।

यस्तैगरि चापाकोट नगरका सहायक प्रमुख प्रशासकीय अधिकृत विन्दु कोइरालाका अनुसार ३, ४, ५, ६, ७ र ८ नम्बर वडा कार्यालयहरूमा पनि सचिवको दरबन्दी खाली छ । ती वडा कार्यालय पनि करारका कर्मचारीले नै धान्दै आएका छन् । पुतलीबजार नगरका प्रमुख प्रशासकीय अधिकृत वासुदेव रेग्मी भन्छन्, ‘कर्मचारीको माग नगरेको होइन, अब नआइदिएपछि काम रोक्न पनि भएन ।’ उनका अनुसार पुतलीबजारका १४ वटा वडामध्ये ५ वटामा मात्रै वडासचिव दरबन्दी अनुसारका छन् । २, ३, ४, ५, ८, १०, ११, १२ र १३ नम्बर वडा कार्यालय सहायककै भरमा चलेका छन् । नगरपालिकामा पनि साविककै दरबन्दीमा कर्मचारी कार्यरत छन् । नयाँ दरबन्दीअनुसार एक तिहाई पनि कर्मचारी नरहेको रेग्मीले बताए । नयाँ संरचनाअनुसार प्राविधिकतर्फको कर्मचारी सहायक रहने गरी ३० जनाको दरबन्दी तोकिएको जानकारी उनले दिए । पुतलीबजार नगर कार्यपािलकामा निजामतीभन्दा करारका कर्मचारी संख्या धैरै छ ।

५ नगर र ६ वटा गाउँपालिका रहेको जिल्लामा ९७ वटा वडा छन् । कालीगण्डकी गाउँपालिकाका १, ३, ५ र ६ नम्बरका वडा कार्यालय सहायक कर्मचारीकै भरमा चलाउनुपरेको प्रमुख प्रशासकीय अधिकृत गणेश खनालले बताए । गाउँपालिकामा १८ कर्मचारीको दरबन्दी भए पनि हालसम्म कार्यरतको संख्या ९ जनाबाट बढेको छैन । यसमा पनि निजामती कर्मचारीको संख्या ४ मात्रै छ ।

यस्तै अवस्था अर्जुनचौपारी गाउँपालिकाको पनि छ । प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार १, २ र ३ नम्बरका वडा कार्यालय सचिवविहीन छन् । उनले भने ‘२१ जनाको दरबन्दी छ, कार्यरत करारसहित ११ जना मात्रै छौं ।’ उता विरुवा गाउँपालिकाका ७ वटा सबै वडा कार्यालय सहायक कर्मचारीकै भरमा छन् । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल भन्छन्, ‘दरबन्दीका वडासचिव, प्राविधिक र लेखापाल छैनन्, काम गर्नै गाह्रो भएको अवस्था छ ।’

विषयगत कार्यालयका कर्मचारी नपुग्दा सम्बद्ध योजना अघि बढाउन नसकेको उनले बताए । शिक्षा पशुका कर्मचारी अझै पुगेका छैनन् । शिक्षा कार्यालयबाट जानुपर्ने कर्मचारीहरू अझै नपुग्दा शैक्षिक सत्र सुरु हुने बेला सम्बद्ध योजना प्रभावित भएका छन् । फेदीखोला गाउँपालिकाका ५ मध्ये २ वटा वडामा सचिव पुगेका छैनन् ।

यस्तै हरिनाश गाउँपालिकाका ७ वटा सबै वडा कार्यालय सहायक र विषयगत कार्यालयका कर्मचारीले चलाउँदै आएको प्रमुख प्रशासकीय अधिकृत नवीन अधिकारीले बताए । ‘हरिनाशमा कर्मचारी जानै खोज्दैनन्,’ उनले भने । ‘साथीहरूले केन्द्रबाटै सरुवा मिलाउनुभएछ । खरिदार सरहका कर्मचारी पनि पोखरा सरुवा हुनुभएको छ ।’ आँधीखोला गाउँपालिका प्रमुख नवराज दोरङगाका अनुसार ६ वटै वडा कार्यालय सहायककै भरमा छन् ।

दरबन्दीका कर्मचारी नहुँदा दैनिक कामकाज प्रभावित भइरहेका बेला प्राविधिक पनि नहुँदा उस्तै समस्या झेल्नुपरेको कार्यालय प्रमुखहरूको गुनासो छ । जिल्ला प्रशासनले आयोजना गर्ने भेलामा प्रशासकीय अधिकृतहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिलाई दरबन्दीका कर्मचारी नहुँदा परेको समस्याबारे गुनासो गर्ने गरेका छन् ।

प्रकाशित : चैत्र २०, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?