१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गोरु बेचेर यान्त्रिक हलो

दिप्ती सिलवाल

पर्वत — कृषि प्राविधिक सहायकको नोकरीबाट अवकास लिएका फलेबास ६, देवीस्थानका चेतनाथ शर्माको घरमा हलगोरु थिए । काम गर्ने मान्छे भएनन्, आफूलाई गोरु पाल्न र जोत्न गाह्रो हुन थाल्यो । उनले गोरु बेचेर यान्त्रिक हलो पावरटिलर भित्र्याए ।

गोरु बेचेर यान्त्रिक हलो

‘प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले ५० प्रतिशत अनुदानमा दियो, मैले त्यसमा ७५ हजार लगानी गरें,’ उनले भने, ‘अब गोरु पालेर हलो जोत्ने समय रहेन ।’ फलेवास ५, खानीगाउँका लोकराज पौडेलले पनि शर्माको जस्तै यान्त्रिक हलो लगे । हलगोरु र खेताला खोजेर खेती गर्दा लगानी उठाउनै मुस्किल हुने समय आएको उनले बताए । शर्मा र पौडेलजस्ता पर्वतका धेरै व्यवसायिक किसानले केही वर्षयता गोरु बेचेर धमाधम यान्त्रिक हलो किन्न थालेका छन् । कुश्मा चुवाका किसान गमबहादुर विक, टंकप्रसाद सुवेदी, राजेश गिरी, पीताम्बर पोखरेल, समीर नेपाली र हिमाल सुवेदीले एकसाथ यान्त्रिक हलो किने । नगरपालिकाले किसानलाई ६० प्रतिशत अनुदान दिएपछि एउटै वडाका ६ किसानले मिनी पावरटिलर खरिद गरेका हुन् ।

गोरु पालेर परम्परागत तरिकाले खेती गर्नुभन्दा यान्त्रिक हलो प्रयोगले लागत घटाउने भएपछि किसानहरूको आकर्षण आधुनिक औजार उपयोगमा बढेको हो । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार अहिले जिल्लाभर करिब ४ सय यान्त्रिक हलो सञ्चालनमा छन् । कृषिले मात्रै ३ सय बढी वितरण गरेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । ‘अढाइ सयको हाराहारीमा हामीले मात्रै बाड्यौं,’ उनले भने, ‘सांसद र अन्य संघसंस्थाले पनि बाँडेका छन् । कतिपय किसान आफैंले किनेर चलाएका छन् ।’ कृषिले २०६९ मा पहिलोपटक चुवामा यान्त्रिक हलो वितरण गरेको थियो । त्यसयता पर्वतका समथर फाँटदेखि भिरालो जमिनमा समेत यान्त्रिक हलोको प्रयोग क्रमश: बढ्दै गएको हो । समथर जग्गामा ट्रयाक्टरको प्रयोगले खेत जोत्ने किसान पनि पछिल्लो समय मिनी पावरटिलरतर्फ आकर्षित हुन थालेका हुन् । ‘ठूलो ट्रयाक्टर बारीमा लैजाँदा बीचमा अरूको बाली नष्ट हुने, थोरै बारी जोत्न ल्याउनै नसकिने समस्या हुन्छ,’ खानीगाउँका युवराज पौडेलले भने, ‘सानो हलो बोकेरै लान सकिन्छ । अरूको बाली नासिने चिन्ता हुँदैन, आफंैले जोत्न सकिन्छ ।’

एउटा यान्त्रिक हलोले ५ घण्टामा ७ देखि ८ रोपनीसम्म जोत्न सक्छ । परिवारमा खेतीमा खट्नसक्ने जनशक्ति नहुने परिवारले पनि बाँझिएको जमिनमा खेती गर्न सहज हुने किसानहरू बताउँछन् । ‘एक हल गोरु र हलीले दिनभरमा मुस्किलले १ रोपनी जोत्छ,’ देवीस्थानका चेतनाथले भने, ‘यो हलोले अढाइ घण्टामा ४ रोपनी जोतेँ ।’ ४ रोपनी खेत जोत्दा २ लिटर डिजेल खर्च भएको उनले बताए । व्यावसायिक तरकारी खेती लगाउने र धेरै जमिन हुने किसानले यस्तो हलो बढी लाभगर्न थालेका छन् । एउटा हलोले ५ वर्षसम्म मर्मत नगरी लगातार जोत्न मिल्ने भएपछि गोरुको तुलनामा यो निकै सस्तो र किफायती हुने किसान र प्राविधिकहरू बताउँछन् । ‘एउटा हलो किनेर गाउँमा खेत जोत्ने काम दायी हुने बताएका छन् । थोरै जग्गाजमिन हुनेहरूले सामुहिक रुपमा यस्तो हलो खरिद गरी खेती गर्दा पनि मासिक ४०/४५ हजार कमाउन सकिन्छ,’ वरिष्ठ कृषि अधिकृत वसन्तकुमार श्रेष्ठले भने, ‘हामीले त्यस्ता युवालाई प्रोत्साहन गर्दै ५० प्रतिशत अनुदानमा दिन्छौं ।’

पाटपुर्जाको समस्या
यान्त्रिक हलोको उपयोगले खेती गर्दा लगानी, श्रम र समयको बचत भए पनि मर्मतमा भने समस्या हुन थालेको छ । पावरटिलर बिग्रिँदा मर्मत गर्न र त्यसका पाटपुर्जा बजारमा सहजै नपाइने किसानहरू बताउँछन् ।

एकैपटकमा धेरै लगानी गरी हलो किनेका केही किसान पाटपुर्जा सजिलै नपाएर निराश छन् । फलेवास ६ का हरि भुसालले ४ सय रुपैयाँ पर्ने सामान नपाएर हलो थन्क्याउनुपरेको गुनासो गरे । ‘सानो सामान बिग्रिँदा पनि इन्डियाबाट मगाउनुपर्छ । खर्चभन्दा झन्झट बढी हुन थाल्यो,’ उनले भने, ‘बेच्नेले पनि सर्भिस राम्रो दिए त ठीकै हुन्थ्यो ।’ पर्वतमा पावरटिलर काठमाडौंको बीटीएल र एसकेटी कम्पनीले बिक्री गर्दै आएका छन् । दुवै कम्पनीले व्यापार मात्रै गर्न खोजेको किसानहरूको आरोप छ । ‘हलो बेचेपछि दक्ष मिस्त्री र पाटपुर्जाको पनि व्यवस्था गर्नुपर्छ,’ कृषि अधिकृत हेम शर्मा तिवारीले भने, ‘कम्पनीले दिन्न भन्दैन, सर्भिस ढिला हुँदा सामान भएर पनि खेतमा लैजान नपाइने स्थिति छ ।’ यान्त्रिक सामानका बिक्रेतालाई सरकारले पनि त्यसको नियमित सेवाका लागि निगरानी राख्दा सजिलो हुने किसानको भनाइ छ ।

प्रकाशित : चैत्र २०, २०७४ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?