कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भागबन्डा नमिल्दा एक्लाएक्लै चुनावमा

पोखरा विश्वविद्यालयमा स्ववियु चुनाव
केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीको मतबाट पहिलोपटक स्ववियु स्थापना हुने
मतदानका लागि परिचयपत्र अनिवार्य
दीपक परियार

लेखनाथ — पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पहिलोपल्ट बुधबार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै छ । चुनावमा राजनीतिक दलका विद्यार्थी संगठन एक्लाएक्लै प्यानल बनाएर लडदै छन् ।

भागबन्डा नमिल्दा एक्लाएक्लै चुनावमा

विद्यार्थी संगठनबीच गठबन्धन गरी चुनाव लड्ने प्रयत्न भए पनि पद बाँडफाँटमा भागबन्डा नमिल्दा एक्लाएक्लै चुनाव लड्नुपरेको हो ।


वाम गठबन्धनका विद्यार्थी संगठन एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट क्रान्तिकारीबीच भागबन्डा नमिल्दा आ–आफ्नो प्यानलसहित चुनावमा होमिएका छन् । मनोनयन दर्ताको अन्तिम समयसम्म अखिल र क्रान्तिकारीबीच सहमतिको प्रयास खोजिए पनि भागबन्डा नमिल्दा गठबन्धन कायम हुन सकेको थिएन । अखिलले सभापतिमा सुनील तिमिल्सिना, सचिवमा सुरज परियार र कोषाध्यक्षमा प्रकृति दवाडीको उम्मेदवारी दर्ता गराएको छ । क्रान्तिकारीले सभापतिमा सुधन पन्त, सचिवमा विनायक तिमिल्सिना र कोषाध्यक्षमा सामना सुवेदीको उम्मेदवारी परेको छ । क्रान्तिकारीले सभापति अनेरास्ववियुले लिए सचिव आफूले पाउनुपर्ने दाबी गर्दै आएको थियो । अनेरास्ववियुले भने अध्यक्ष र सचिवबाहेक अन्य पद दिन सकिने बताएपछि गठबन्धन बन्न नसकेको हो ।


क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका महासचिव ऐन महर विश्वविद्यालयमै आएर दुवै पक्षलाई मिलाउन खोजे पनि सबै प्रयास विफल भए । गत बुधबार दिनभरको छलफल बिनानिष्कर्ष टुंगिएपछि दुवै संगठनले बिहीबार प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ९ उम्मेदवारको बन्दसूची दर्ता गरे । शुक्रबार उम्मेदवारी फिर्ता लिने समयसीमासम्म दुवै संगठनबाट उम्मेदवारी दिएका कसैले फिर्ता लिएनन् । दुवै संगठनका नेताले गठबन्धन बन्न नसक्नु दु:खद भएको बताएका छन् ।

यद्यपि, गठबन्धन नबन्नुमा दुवैले एक अर्कालाई दोष लगाएका छन् । क्रान्तिकारीका अध्यक्ष तामाङले अनेरास्ववियुको दम्भका कारण एलायन्स हुन नसकेको आरोप लगाए । ‘पहिलो बलियो संगठनले मुख्य पद लिएपछि दोस्रो पद स्वाभाविक रूपले अर्कोले पाउनुपर्छ,’ उनले भने, ‘तर अखिलका साथीहरू एलायन्स सम्मानजनक हुनुपर्छ भन्नेमा गम्भीर हुनुभएन ।’

उनले संगठनभित्रको गुट व्यवस्थानका लागि सभापति र सचिव दुवै पद अनेरास्ववियुले छाड्न नचाहेको आरोप लगाए । भने, ‘उहाँहरूले आफ्नो आन्तरिक समस्यालाई मिलाउन नसक्दा नमज्जा भयो ।’ उनले स्वस्थ प्रतिस्पर्धामा उत्रिएर आ–आफ्नो संगठनको अवस्था हेर्ने बताए ।


अखिलका महासचिव ऐन महरले भने संगठनका एकतामा पहिलो र दोस्रो वरीयताको पद बाँडफाँट गरिने भए पनि चुनावमा त्यसो नहुने बताए । ‘चुनाव भनेको जित्नको लागि लड्ने हो,’ उनले भने, ‘पछि संगठननै एक हुने भएकाले अहिले जो लोकप्रिय छ उसैलाई चुनाव लडाऔं भनेका हौं ।’ एलायन्स बनाएर जान नसकेकोमा भने उनले दु:ख व्यक्त गरे । गुट व्यवस्थापन गर्न नसक्दा एलायन्स नभएको आरोप उनले ठाडै अस्वीकार गरे । उनले क्रान्तिकारीभित्रै गठबन्धन गर्ने र नगर्नेबीच ध्रवीकरण हुँदा एलायन्स सम्भव नभएको आरोप लगाए ।


कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्रान्तिकारी र समाजवादी विद्यार्थी फोरमसँग एकता गर्ने प्रयास गरे पनि अन्तिम समयमा विफल भएको थियो । नेविसंघबाट सभापतिमा डिफान भुजेल, सचिवमा नारायण सापकोटा र कोषाध्यक्षमा विनीता लामिछाने चुनाव लडदै छन् । संघीय समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी फोरमका तर्फबाट राजेश यादवको नेतृत्वमा सचिव रमेश शाह र कोषाध्यक्ष मन्दाकिनी महतो चुनावी मैदानमा छन् ।

राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौंले सचिवमा हेमन्त रानामगरलाई उम्मेदवार बनाएको छ । नयाँ शक्तिनिकटका सुवासप्रसाद पौडेलले सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । अखिलबाट कुसुमशिला भट्ट र नेविसंघबाट विमान प्रधानको सभापतिमा बागी उम्मेदवारी परेको छ । सचिवमा क्रान्तिकारीका विनोद भण्डारीले बागी उम्मेदवारका रूपमा खडा भएका छन् । विश्वविद्यालयमा प्रत्यक्षतर्फ सभापति, सचिव, कोषाध्यक्ष, ८ सदस्य र समानुपातिकतर्फ ८ गरी १९ पद संख्यामा चुनाव हुन्छ ।


पोखरा लेखनाथको ढुंगेपाटनमा रहेको केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीको मतबाट पहिलोपटक स्ववियु स्थापना हुने छ । निर्वाचन समिति संयोजक राजेश ठकुराठीले चुनावको सम्पूर्ण तयारी पूरा भएको बताए । निर्वाचन तालिकाअनुसार बुधबार बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । समितिले मतदाता नामावली प्रकाशन गरिसकेको छ । केन्द्रीय क्याम्पसमा विज्ञान र प्रविधि, स्वास्थ्य विज्ञान, व्यवस्थापन र मानविकी गरी ४ संकाय सञ्चालनमा छन् । उक्त संकायका विभिन्न कार्यक्रममा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने २ हजार १ सय ३० विद्यार्थी चुनावमा सहभागी हुनेछन् । मतदानका लागि विद्यार्थी परिचयपत्र अनिवार्य लिन निर्वाचन समितिले सूचना जारी गरेको छ ।


केही विद्यार्थीले चुनाव रोक्न माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दायर गरेका थिए । अदालतले सोमबार चुनाव रोक्नुपर्ने कुनै कारण नदेखिएकाले रोक्नु नपर्ने फैसला गरेको थियो ।

प्रकाशित : चैत्र २१, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?