कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धामीझाँक्री गर्छन् अस्पतालमा रिफर

स्वास्थ्य उपचारको आवश्यकताबारे धामीलाई तालिम

काठमाडौँ — बागलुङ– लामो समयदेखि धामीझाँक्रीको काम गर्दै आएका रायडाँडाका होमबहादुर केसीले बालबालिकालाई बिरामी पर्दा स्वास्थ्य संस्था रिफर गर्न थालेका छन् ।

धामीझाँक्री गर्छन् अस्पतालमा रिफर

झारफुकका लागि ल्याइएका बिरामीलाई आफन्तको चाहनाअनुसार फुकेजस्तो गरे पनि एकपटक स्वास्थ्य संस्थामा उपचारमा लैजान सल्लाह दिने गरेका हुन् । यो अभियानमा स्थानीय भीमनाथ गौतमले अगुवाइ गरेका छन् । विशेषगरी ज्वरो, झाडापखाला, निमोनियाँ र श्वासप्रश्वासका बिरामीलाई स्वास्थ्य चौकी र अस्पतालसम्म लैजान उनीहरूले सहयोग गर्न थालेका छन् ।


समयमा उपचारमा नलगेमा बिरामीको मृत्युसमेत हुनसक्ने भन्ने बुझेपछि धामीहरूले अस्पतालमा लैजान सल्लाह दिन थालेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । गाउँमा बालबालिका बिरामी परेमा पहिले झारफुकका लागि लैजाने चलन अझै छ । बिरामीलाई लामो समय गाउँमै अलमल्याएपछि सिकिस्त भएका अवस्थामा मात्र अभिभावकले अस्पताल लैजाने चलन फेर्न धामीहरू नै अग्रसर भएका छन् । ‘गाउँलेहरू धामीझाँकीलाई धेरै पत्याउने हाम्रो चलन पुरानै हो,’ उनले भने, ‘छिटो छिटो झारफुक गरिदिएर एकपटक डाक्टरलाई लगेर देखाउनुस् भनिदिने गर्दा पनि धेरै परिवर्तन आएको छ ।’


स्थानीय स्वास्थ्यचौकी र सुआहारा कार्यक्रमले धामी काम गर्नेहरूलाई बोलाएर स्वास्थ्य उपचारको आवश्यकताबारे तालिम दिएपछि उनीहरूको व्यवहारमा क्रमिक परिवर्तन आएको हो । अभियानअन्तर्गत बागलुङ नगरपालिकाका अधिकांश वडामा धामीझाँक्री, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी समेतलाई एकै स्थानमा राखेर तालिम दिइन्छ । अभिभावकमा समयमै स्वास्थ्योपचार गराउनुपर्ने चेतना बढ्न थालेको मूलपानीको हर्राचौर स्वास्थ्य महिला समूहकी अध्यक्ष मीनकुमारी रेग्मीले बताइन् । ‘तालिमपछि हामीले पनि धेरै कुरा बुझ्ने मौका पायौं,’ उनले भनिन्, ‘विभिन्न रोगका लक्षणबारे पनि थाहा भएपछि उपचारका लागि पठाउन सजिलो भएको छ ।’ तालिममा रोगका लक्षणबारे जानकारी दिँदै विश्वासमा परेर गाउँमा अलमलिने वातावरण हटाउन आग्रह गर्ने गरिएको छ ।


गर्भदेखि २ वर्षभित्रका बालबालिकालाई समयमै उपचारमा लैजानुपर्ने कुरालाई तालिममा प्राथमिकता दिइन्छ । ‘समयमा उपचार नगर्दा पछुताउने अवस्था नहोस् भनेर तालिममार्फत उपचारमा पठाउन भनेका छौं,’ जनस्वास्थ्य अधिकृत जीवनकुमार शाक्यले भने, ‘धामीझाँक्रीले नै रिफर गर्दा अझै प्रभावकारी हुन्छ ।’ तालिम पाएका धामीहरूले आफ्नो झारफुकको काम गरेर तत्कालै अस्पताल जान सल्लाह दिन थालेका हुन् । समुदायमा आधारित नवजात शिशु तथा बाल रोग निवारणबारे एकीकृत व्यवस्थापन अभियान भन्ने नारा दिएर यस्ता तालिम र रिफरका अभियान थालिएको परियोजनाका संयोजक विश्वनाथ आचार्यले बताए । अभियानमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीलाई समेत समावेश गरिएको छ ।


फर्सीको खीर
ग्रामीण बस्तीमा पशुलाई मात्र खुवाउने गरिएको पाकेको फर्सी अब भने पोषिलो खानाका रूपमा प्रयोगमा ल्याउन थालिएको छ ।

स्वास्थ्यकर्मीहरूले टोलटोलमा पुगेर फर्सीमा पाइने पोषक तत्त्वबारे जानकारी दिनुका साथै खीर पकाएर खाने र खुवाउने अभियान चलाएपछि यस्तो भएको हो । ‘भिटामिन पाउने कुरा थाहा नभएकाले धेरैले फाल्थ्यांै,’ रेग्मीले भनिन्, ‘बालबालिका निरोगी हुन्छन्, रोग प्रतिरोधी खाना हो भन्ने बल्ल बुझ्न पायौं ।’ भिटामिन ‘ए’ शरीरले पाउँदा पोषणको अवस्थामा सुधार आउने कुरा स्वास्थ्यकर्मीले अभिभावकलाई बताउन थालेका छन् । गर्भावस्थामा खोप लगाउन आउनेलाई पनि पोषिलो खानाबारे सिकाउन थालिएको जनस्वास्थ्य अधिकृत शाक्यले बताए ।

प्रकाशित : चैत्र २१, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?