३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उर्वर खेत मासेर धमाधम बस्ती

भीरपाखामा एकाध घर देखिने ठाउँमा बजार
राजमार्गको नजिक पर्ने खेतमा घरैघर
घरकै उब्जनीले गुजारा चलाउने परिवार बजारमा निर्भर

स्याङ्जा — पुतलीबजार १० सुम्रेखोलाका टंकनाथ अर्याल ७३ वर्षका भए । सुम्रेखोलामै जन्मिएर खेतीकिसानीमा जीवन बिताएका उनलाई धान फल्ने फाँटमा धमाधम बढेका बस्ती देखेर दिक्क लाग्ने सुनाउँछन् ।

उर्वर खेत मासेर धमाधम बस्ती

‘भीरपाखामा एकाध घर देखिने ठाउँ अब बजार नै बनिसक्यो,’ उनी भन्छन्, ‘ढुंगामाटोको गारो र खरको छानो भएका घर त देखिनै छाडे । जता हेर्‍यो पक्की घर नै घर भए ।’ धान, कोदो, मकै र तरकारी लगाइने जमिनमध्ये जति बाँकी छन्, ती पनि घडेरीमा परिणत भएको देख्दा नरमाइलो अनुभव हुने उनले बताए । ‘खेतीपाती गर्दै आएको जमिन अहिले घडेरी रे,’ उनी भन्छन्, ‘राजमार्गको नजिक पर्ने खेतमा घरैघर उम्रिएका छन् । घर मात्रै बढेर खानचाहिं कसरी पुग्छ ?’ पहिले–पहिले घरकै उब्जनीले गुजारा चलाउने सबैजसो परिवार बजारको खाद्यान्नमा भर पर्नुपरेको उनले बताए । उर्वर जमिनका बस्ती बसेको देख्दा उनलाई नमीठो लाग्ने सुनाए ।


ग्रामीण क्षेत्र र पहाडी गाउँहरूबाट सहर केन्द्रित बसाइँसराइ बढ्दै जाँदा खेतीयोग्य जमिनमा बढेको बस्ती स्याङ्जामा मात्रै नौलो विषय भने होइन । तर, उब्जनी कम हुने क्षेत्रमा बढ्नुको साटो बस्ती उर्वर जमिनमै बढेको छ । प्लटिङ गरी घडेरी बनाएर बेच्नेहरूले खेतखेतमा बाटो खुलाएका छन् । बिक्री भएका ठाउँहरूमा घर निर्माणको क्रम तीव्र छ । बिक्री हुन बाँकी बसेका जमिन पनि ग्राहक पर्खिएर बसेकाले त्यहाँ खेती गरिँदैन ।


‘बजार एरिया आसपासमा अलि ठूलो टुक्रा जग्गा खोज्यो भने पाइँदैन,’ पुतलीबजार ४ का एकबहादुर गोदारले भने, ‘भाउ बढेको बढ्यै छ । घर पनि बनेका बनेकै छन् ।’ जिल्लाका अधिकांश समथर ठाउँको खेतीयोग्य जमिन घडेरी र मोटरबाटोका लागि मासिँदै गएपछि यहाँ खाद्यान्न उत्पादनको दर पनि घट्न थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तथ्यांकअनुसार स्याङ्जाको खेतीयोग्य जमिन ७२ हजार ७ सय ३१ हेक्टरमध्ये ५० हजार ३ सय ५० हेक्टरमा खेती छ । २२ हजार ३ सय ८१ हेक्टरमध्ये अधिकांशमा बस्ती विस्तार भइरहेको छ ।


जिल्ला कृषिका अधिकृत तेजप्रसाद दवाडीले खेतीयोग्य जमिनमध्ये १७ हजार ९ सय हेक्टरमा खेती र ३२ हजार ४ सय ५० हेक्टर पाखो रहेको बताए । खेतीयोग्य जमिनमध्ये १० हजार ८ सय ६० हेक्टरमा सिँचाइ बाह्रै महिना पुग्छ । ७ हजार ४० हेक्टर क्षेत्रफलमा मौसमी सिँचाइ हुने गरेको छ । ‘५ हजार ८ सय २ हेक्टर क्षेत्रफल जमिन घडेरीमा परिणत भएको छ,’ उनले भने, ‘बस्ती बढ्ने दर र बजार केन्द्रित बसाइँसराइले जमिन बाँझिने दर बढेको छ ।’ अन्न र तरकारी बालीका लागि उर्वर क्षेत्रमा बस्ती विस्तार हुनु चिन्ताको विषय रहेको उनले बताए ।


यहाँका लामागे, बाडखोला र राङखोला अन्न उत्पादनका लागि ठूला फाँट हुन् । राङखोला क्षेत्रमा बस्ती बढ्ने क्रम तीव्र छ । सर्केटारी, वालिङ, बयरघारी, चापाकोट, सेतीदोभान, श्रीकृष्ण गण्डकी र बिरुवा अर्चलेलगायतमा पनि खेतीयोग्य जमिन घडेरीमा किन–बेच र घर बनाउने क्रम तीव्र छ ।

प्रकाशित : वैशाख ३, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?