कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मनकामनाको छानामा सुनको जलप

मन्दिर जीर्णोद्धार ९० प्रतिशत सम्पन्न

गोरखा — जीर्णोद्घारकै क्रममा रहेको मनकामना मन्दिरको छानामा सुनको जलप लगाइएको छ । मन्दिरको माथिल्लो छानामा सुनको जलप लगाउने काम पूरा भएको जीर्णोद्घार समिति संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

मनकामनाको छानामा सुनको जलप

मन्दिरका दुई छानामा जलप लगाउन समितिले १५ केजी सुन किनेको थियो । छानामा तामाको पाता बिच्छयाएर त्यसमाथि सुनको जलप लगाइएको हो । ‘दुई छानामध्ये माथिल्लो छानामा जलप लगाइसक्यौं,’ उनले भने, ‘अब तल्लो छानाको काम सुरु गर्छौं ।’ छाना लामो समय टिकाउ हुने गरी जलप लगाइएको उनले बताए । ‘साइत जुराएर क्षमा पूजा गरी मन्दिरमा गजुर राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘जीर्णोद्धारको करिब ९० प्रतिशत काम सकिएको छ ।’

दक्षिण–पश्चिममा करिब ६ इन्च ढल्किएको पुरानो मन्दिरलाई ०७२ वैशाखको भूकम्पले थप ढल्काएपछि जीर्णाेद्धार गरिएको हो । हाल मन्दिरको स्वरूप तयार भइसकेको छ । आगामी असोजबाट भक्तजनका लागि मन्दिरभित्रै पूजा गर्ने व्यवस्था गर्ने लक्ष्यसाथ समितिले काम अघि बढाएको छ । ‘२०७५ वैशाखभित्रै काम सक्ने लक्ष्य थियो,’ संयोजक श्रेष्ठले भने ‘नाकाबन्दी, काठ अभाव र सुनमा जलप लगाउँदा धेरै समय खर्च भएर लक्ष्यभन्दा केही ढिला भएको हो ।’

मन्दिर पुनर्निर्माण सम्पन्न हुँदा करिब १३ करोड रुपैयाँ लागत पुग्ने अनुमान छ । ०६८ मा लागत स्टिमेट गर्दा करिब ८ करोड रुपैयाँ लाग्ने अनुमान थियो । जीर्णोद्धारमा उपयोग हुने सामग्री र कामदारको ज्याला दर महँगिँदा लागत बढेको समितिको भनाइ छ । ‘१० करोड खर्च भइसक्यो,’ उनले भने, ‘पैसा अभावमा काम रोकिएको छैन ।’ जीर्णोद्घारका लागि भक्तजनबाटै करिब ८ करोड रुपैयाँ संकलन भएको छ । ‘नेपाल सरकारले पुरातत्त्व विभागमार्फत ४ करोड आएको थियो,’ श्रेष्ठले भने, ‘त्यसमा ४३ लाखको काठ किन्यौं, बाँकी पैसाको सुन किनेर राखेका थियौं ।’ चुना, सुर्की र बालुवाको प्रयोगबाट मन्दिर पुनर्निर्माण गरिएको उनले बताए । केही काठ पुरानै प्रयोग गरिएको छ भने केही हेटौंडा र वीरगन्जबाट ल्याएको छ ।

पुरातत्त्व विभागका प्राविधिकको सल्लाहअनुसार मन्दिर जीर्णोद्घार भइरहेको हो । मन्दिर जीर्णाेद्धार भए पनि भगवतीको प्रतिमा स्थापना गरेर दर्शनका लागि आएका भक्तजनलाई पूजा गर्ने विशेष व्यवस्था मिलाइएको छ । मनकामना मन्दिरमा दैनिक ५ हजार हाराहारी तीर्थालु पुग्ने गरेका छन् ।

प्रकाशित : वैशाख ४, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?