२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

शिक्षकका छोराछोरी सामुदायिकमा

बिहादी गाउँपालिका वडा नं. ४ ले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजीमा अध्यापन गर्न नपाउने नियम बनायो

पर्वत — बिहादी गाउँपालिकाको वडा नं. ४ ले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजीमा अध्यापन गर्न नपाउने नयाँ नियम बसाएको छ ।

शिक्षकका छोराछोरी सामुदायिकमा

नयाँ शैक्षिक सत्र सुरु भएकै बेला बिहादी ४ वाहाकीले सरकारी तथा अर्धसरकारी कर्मचारी, गाउँपालिकाका जनप्रतिनिधि, व्यवस्थापन समितिका पदाधिकारीलगायत सामाजिक अगुवाहरूले पनि सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यकारी नियम बसालेको हो । विद्यालयमा आयोजित जनप्रतिनिधि, शिक्षक, अभिभावकसहितको सर्वपक्षीय भेलाले सामुदायिकमा विद्यार्थीभन्दा शिक्षकको संख्या बढी हुने अवस्था आउन लागेको भन्दै सामुदायिकमा अनिवार्य गरेको हो ।

शैक्षिक सत्र सुरु भएसँगै निजी विद्यालय तथा पढ्नका लागि छोराछोरी गाउँबाहिर लगेकालाई फिर्ता ल्याउनुपर्ने नियम बसालेका छन् । जिल्लाभरका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेका बेला वाहाकीठाँटीले वडाका सबै परिवारका बालबालिका सामुदायिकमा अनिवार्य गराउन यस्तो निर्णय गरिएको वडा कार्यालयले जनाएको छ । ‘जिम्मेवार व्यक्तिहरूका छोराछोरी बोर्डिङमा पठाएपछि सामुदायिकमा कसैको चासो भएन,’ वडाध्यक्ष भीमबहादुर श्रेष्ठले भने, ‘शिक्षक, कर्मचारी, जनप्रतिनिधि र सामाजिक अगुवालाई अनिवार्य गरेपछि सामुदायिकमा उनीहरूको चासो बढ्छ । आफ्ना छोराछोरीको पढाइ सुधार्नकै लागि विद्यालयमा निगरानी बढ्छ ।’ हालसम्म सामुदायिक विद्यालयका शिक्षकहरूले नै आफ्ना छोराछोरी निजी स्कुलमा पढाउँदै आएको उनले बताए । निजी स्कुलमा पढाउने शिक्षकहरूले पायक परे आफैंले अध्यापन गर्ने विद्यालयमा र पायक नपरे नजिकको सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय भएको उनले बताए ।

सामुदायिकमा अनिवार्य नपढाए वडा कार्यालयबाट दिने सेवासुविधामा समेत कटौती गर्दै जाने चेतावनी दिएको छ । वैशाख महिनाभर भर्ना अभियान चल्ने हुँदा एक महिनासम्म विभिन्न माध्यमबाट आग्रह गर्ने र निर्णयको अवज्ञा गर्ने अभिभावकलाई वडा कार्यालयले दिने सिफारिस, आर्थिक तथा प्राविधिक सहयोगलगायत कुनै पनि सहयोगमा रोक लगाउन सकिने वडाध्यक्षले बताए । ‘अहिले निर्णयमै त्यस्तो गरिएको छैन तर पछि अनिवार्य गर्न त्यो व्यवस्था गर्ने सोचमा हामी छौं ।’ श्रेष्ठले भने । माध्यमिक तहसम्मको शैक्षिक अधिकार स्थानीय तहलाई भएकाले यो समस्याको समाधान गाउँपालिकास्तरबाटै गरिने उनले बताए । जिम्मेवार व्यक्तिहरूले आफ्ना छोराछोरी निजीमा पठाउने समस्या गाउँपालिकाका सबै वडामा भएकाले पालिकास्तरबाटै कडा नियम आवश्यक रहेको जनप्रतिनिधिहरूले बताएका छन् ।

जिल्लामै पहिलोपटक गरिएको सकारात्मक निर्णयको स्थानीय केही अभिभावकहरूले खुलेर प्रशंसा गरेका छन् । ‘सामुदायिक विद्यालयको गुणस्तरतर्फ ध्यान दिन गरिएको यो निर्णय निकै प्रशंसनीय छ,’ वाहाकीका माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रामहरि भट्टराईले भने, ‘सरकारी विद्यालय सुधार्न सके बोर्डिङ खोज्नुपर्दैन । त्यो सुरुवात गर्ने हामीले नै हो ।’

वहाकी मावि जिल्लाको उत्कृष्ठमध्ये पर्ने विद्यालय हो । वाहाकीका शिक्षक तथा अभिभावकले यो निर्णयको कार्यान्वयन पहिलो पटक आफैंले सुरुवात गर्ने जनाएका छन् । विद्यालयले अबदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यम र बालमैत्री सिकाइबाट सुरु गर्ने योजना अघि सारेका बेला जनप्रतिनिधिसमेतले गरेको यो निर्णयले थप बल पुग्ने विद्यालयले जनाएको छ । नयाँ योजना छिटै कार्यान्वयन गर्नेतर्फ विद्यालय अग्रसर रहेको अध्यक्ष भट्टराईले बताए ।

जनप्रतिनिधिका सन्तान पनि

स्याङ्जा– यहाँका जनप्रतिनिधिहरूले आफ्ना छोराछोरी सरकारी विद्यालयमा भर्ना गरेका छन् । फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले आइतबार विशेष अभियानको अवसर पारेर छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् ।

परिवर्तन आफूबाट नै थाल्नुपर्छ भन्ने हेतुले सुरुमा आफूले नै भर्ना अभियान थालनी गरेको उनले बताए । लिटिल फ्लावर बोर्डिङ स्कुलमा पढ्दै गरेकी छोरी स्वेच्छालाई गाउँपालिकाकै सिद्धार्थ माविको कक्षा ४ र छोरा सयललाई कक्षा १ मा भर्ना गरेका हुन् । विद्यालय भर्नाको अभियानलाई सफल बनाउन सबैलाई साथ दिन उनले आग्रह पनि गरे । सबै सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि उच्च प्रविधियुक्त बनाएको उनले सुनाए ।

फेदीखोलाका आठवटा सामुदायिक माविलाई प्रविधिमैत्री बनाउन ३५ लाख रुपैयाँको बजेट विनियोजन भएको गाउँपालिकाका प्रशासकीय प्रमुख भीष्मराज अर्यालले बताए । स्रोतव्यक्ति लक्ष्मण शर्माले पनि कृत्रिम खड्कालाई शिशु कक्षामा भर्ना गरेका छन् । निजी छाडेर सरकारी विद्यालयमा छोरा भर्ना गर्न आएकी फेदीखोला २ खडेटारीकी पुष्प अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो हँुदै आएको बताइन् । फेदीखोला गाउँपालिकामा ३४ सामुदायिक र ४ निजी शैक्षिक संस्था छन् ।

प्रकाशित : वैशाख ४, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?