महिला हिंसा र अवैध गर्भपतन रोक्न माग

महिला कोखदेखि काखसम्म हिंसाको सिकार
गर्भपतनले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा प्रभाव
लालप्रसाद शर्मा

पोखरा — प्रदेशसभाका सांसदहरूले पछिल्लो समय लिंग पहिचान गरी भ्रूण हत्या गर्नेलगायत महिलामाथि हिंसा बढिरहेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै उनीहरूले विकास निर्माणलगायत अन्य सरोकारका विषयमा प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराए ।

महिला हिंसा र अवैध गर्भपतन रोक्न माग

विशेष समयमा बोल्दै कास्कीका सांसद मीना गुरुङले छोरी जन्मिएकोमा महिलाले हिंसाको सिकार हुनुपरेको बताइन् । छोरी भन्ने थाहा पाएमा भ्रूण हत्याको चलन बढ्दै गएको भन्दै उनले कोखदेखि काखसम्म महिलाहरू हिंसाको सिकार हुनुपरेको प्रति दु:ख व्यक्त गरिन् ।

खुलारूपमा दबाब, प्रभाव र अभावमा पारेर महिलालाई असुरक्षित गर्भपतन र अन्य हिंसा गरेर शारीरिक र मानसिक अस्वस्थताको अवस्था निम्ताइएको उनको भनाइ थियो । ‘हिंसाका कारण आत्महत्यासम्मको बाटो रोज्न महिलालाई बाध्य पारिएको छ,’ उनले भनिन्, ‘छोराका लागि कुकर्ममा महिलालाई प्रयोग गरिएको छ । गर्भपतन सेवा सहज भएकाले छोरी भए भ्रूण हत्या गर्नेजस्ता जघन्य अपराध भएकाले यसलाई रोक्न माग गर्छु ।’ वैध गर्भपतनलाई परिवार नियोजनको रूपमा प्रयोग गर्न नहुने भन्दै उनले सामाजिक र पारिवारिक समस्याबारे बुझाउन आवश्यक रहेको बताइन् ।

गोरखाका हरिशरण आचार्यले पछिल्ला समय देशभर महिला हिंसा बढेकाले सरकारले यसको अन्त्यका लागि विशेष कानुन बनाउनुपर्ने बताए । उनले प्रदेश सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने कुरा गरिरहँदा जीर्ण पोखरा सभागृहको सामान्य मर्मतमा पनि ध्यान नदिएको बताए । सभागृहलाई सुविधासम्पन्न बनाउनु पर्ने भन्दै गोरखामा कमसल ट्रान्सफर्मरका कारण नियमित बिजुली नआउने समस्याको अन्त्यको माग गरे ।

कास्कीकी प्रभा कोइरालाले २०४७ असोज १७ मा कास्की प्रशासनमा भएको आगो नियन्त्रण गर्न पुगेकालाई प्रहरीले गोली हान्दा झपीन्द्र कार्की र ऋषिराम परियारको मृत्यु भएको र मृतकद्वयलाई सहिद घोषणाको माग गर्दा हालसम्म सुनुवाइ नभएकाले प्रदेश सरकारले यसतर्फ केही गरोस् भन्ने माग राखिन् । कास्कीकै विन्दुकुमार थापाले पोखरामा ट्राफिक जामको समस्या विकराल बन्दै गएको र तुरुन्तै समाधानको उपाय नखोजे अझै ठूलो समस्या हुने बताए । यसले एकातिर समयमा गन्तव्यमा नपुग्ने र अर्कोतर्फ पेट्रोलियम पदार्थको खपत पनि बढ्ने भएकाले सरोकारवालाबीच समन्वय गरी समाधान गर्नुपर्नेमा उनले जोड दिए । स्याङ्जाका भगवतप्रकाश मल्लले प्रदेश ४ र ५ जोड्ने सिद्धार्थ राजमार्ग विकासको मेरुदण्ड भए पनि हाल सडक र राम्दी पुल जीर्ण भएकाले यसको स्तरोन्नतिमा जोड दिए ।

गोरखाकी मनकुमारी गुरुङले ल्होसारलगायत विभिन्न बिदा कटौतिको विरोध गर्दै गोरखाका विकट क्षेत्रमा यातायातको पहुँच नहुँदा ढुवानी अभावले खाद्यान्न र निर्माण सामग्रीको चर्को मूल्य तिर्नुपर्ने बाध्यताको अन्त्यका लागि भच्चेक–लौसीबोट–ओलाङलगायत सडक निर्माणको माग गरिन् । मुस्ताङका महेन्द्रबहादुर थकालीले मुस्ताङ जिल्ला अस्पतालको स्तरोन्नति गरी बेड क्षमता, विशेषज्ञ चिकित्सकसहित सेवासुविधा बढाउन माग गरे । नवलपरासीकी ओमकला गौतमले विनयत्रिवेणी गाउँपालिकामा प्रहरी चौकी स्थापना, नारायणी नदी किनारमा सडक, बोटिङ सञ्चालनको माग गरिन् । देवचुलीलाई विशेष पर्यटकीयस्थल घोषणाको माग गरिन् ।

प्रम ओलीलाई सफलताको शुभकामना
यसैबीच विशेष समयमा बोल्दै कांग्रेसका कुमार खड्काले प्रधानमन्त्री केपी ओलीलाई राजनीतिमा जस्तै अभिनय क्षेत्रमा राजेश हमाल र भुवन केसीभन्दा ठूलो र सफल हिरो बन्न शुभकामना दिए । प्रम ओलीले नयाँ वर्षमा रारा तालको किनारबाट गरिएको सम्बोधन राष्ट्रहित र राष्ट्रिय कर्तव्य पूरा गर्न नभई ‘रातो सूर्य’ चलचित्रका लागि आवश्यक दृश्य संकलनका लागि गरिएको सुटिङ भन्ने सार्वजनिक भएको उनले बताए ।

दीपेन्द्र दाहालको निर्देशन, सानुकुमार महर्जनको छायाँकनमा खड्गप्रसाद ओली, अनुपम शर्मा, टीका पहारी, हरिहर शर्मा, विश्व बस्नेतलगायत कलाकार अभिनीत वन्डर्स मुभिज एन्ड क्रियटिभ ब्यानरमा ‘रातो सूर्य’ चलचित्र निर्माण भइरहेको सुन्नमा आएको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीले कुनै चलचित्रमा अभिनय गर्नु व्यक्तिगत अधिकार र निजी कुरा रहेकाले अभिनय यात्राको सफलता र रातो सूर्य फिल्म सुपरडुपर हिट होस् भनेर कामना,’ उनले भने, ‘उच्च सुरक्षा घेरामा रहनुपर्ने प्रमले सम्बोधन गरिरहँदा अस्वाभाविकरूपमा रारा र प्रधानमन्त्रीको बीचबाट मानिसहरू हिँडिरहेको दृश्य अत्यन्तै फिल्मी थियो ।’ कमजोर स्वास्थ्यका बाबजुद पनि दुर्गम उच्च हिमाली क्षेत्रबाट आएको प्रमको सम्बोधनले निरन्तरताको क्रमभंग भएको र पर्यटन प्रवद्र्धनजस्ता सकारात्मक भाव र सन्देश प्रवाहित गरेकाले परम्परावादी प्रतिपक्षतालाई तोडेर कांग्रेसले प्रशंसा गरेको उनले बताए । तर राज्यको सम्पत्ति व्यक्तिगत कार्यमाा खर्च गरिएको हो भने जनतालाई ढाँटेर अर्कै प्रयोजनका लागि ढुकुटी रित्याइएको हो भने चिन्ताजनक रहेको भन्दै उनले यसको सत्यतथ्य पत्ता लगाई राष्ट्रिय ढुकुटी दुरुपयोग भए नभएको छानबिन गर्नुपर्ने माग गरे ।

स्थानीय तह विधेयकमाथि छलफल
त्यस्तै मंगलबार प्रदेशसभामा टेबुल भएको स्थानीय तहको सभा सञ्चालन सम्बन्धी (कार्यविधि) विधेयकमाथि बिहीबार सामान्य (सैद्धान्तिक) छलफल भयो । छलफलमा सांसदद्वय रोशनबहादुर थाहा थापा र दिलमाया रोकामगर गौतमले भाग लिँदै विधेयकले स्थानीय तहलाई प्रभावकारी रूपमा सञ्चालन र जनप्रतिनिधिलाई मर्यादित बनाउने बताए । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले छलफलका लागि संसदमा विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए । स्थानीय तहको सभा सञ्चालन, बैठकको कार्यविधि, समिति गठनलगायतका विषयलाई मर्यादित र व्यवस्थित गर्ने सम्बन्धमा कानुन निर्माण आवश्यक रहेको भन्दै चुमानले मंगलबार विधेयक टेबुल गरेका थिए ।

संसदीय समितिमा हेरफर र थप
यसैबीच बिहीबारको प्रदेशसभा बैठकले संसदीय समितिहरूमा सांसद संख्या थप्ने र हेरफेर गरेको छ । विधायन समितिमा राजीव पहारी र मणिभद्र शर्मालाई ल्याइएको छ । सार्वजनिक लेखा समितिमा मायानाथ अधिकारी, कुमार खड्का, रामजी बराल र जुनादेवी नेपाली थपिएको र पियारी थापा र राजीव पहारीलाई हेरफेर गरिएको छ । प्रदेश मामिला समितिमा कृष्णबहादुर थापा र कृष्ण थापा थपिएका छन् भने जुनादेवी नेपाली र लक्ष्मी सुनारलाई हेरफर गरिएको छ भने अर्थ तथा विकास समितिमा लक्ष्मी सुनार, चन्द्रमोहन गौचन र पियारी थापा थपिएको र कृष्ण थापालाई हेरफेर गरिएको छ ।

विधेयक प्रमाणीकरण
त्यस्तै प्रदेश प्रमुख बाबुराम कुँवरले गत चैत ६ मा सर्वसम्मत पारित आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन् । यो विधेयक प्रदेशसभाबाट पहिलोपटक पारित भएको थियो । बुधबार कुँवरले प्रमाणित गरेको र सोको जानकारी बिहीबारको प्रदेशसभा बैठकमा दिइएको हो ।

प्रकाशित : वैशाख ७, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?