१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लाप्राकमा नयाँ बस्ती बन्दै

लाप्राक (गोरखा) — धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा नमुना बस्ती निर्माणले तीव्रता पाएको छ । लाप्राक गाउँका ५ सय ७३ घरधुरी भूकम्पपीडितलाई स्थानान्तरणका लागि घरहरू निर्माण भइरहेको हो ।

लाप्राकमा नयाँ बस्ती बन्दै

यहाँ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले घर निर्माण गरिरहेको छ । आगामी अक्टोबरभित्र निर्माण सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । ‘हालसम्म ७४ घरको छाना छाउने काम सकियो,’ उनले भने, ‘दुईवटा घरको त काम सकिएको छ ।’ छाना हालिएको घरको माथिल्लो तलामा गारो लगाउने काम भने बाँकी रहेको उनले बताए । १ सय ४० घरका ढोका र ९६ घरका झ्यालसम्मको काम सकिएको छ । १ सय ३६ घरमा ईटाको गारो लगाउने काम भइरहेको छ भने ३३ घर निर्माणका लागि जग्गा ‘प्लटिङ’ गरिएको छ ।

तीनवटा घरका लागि जग खन्ने र ८९ घरको डीपीसीको काम भएको अर्यालले बताए । ‘तल र माथि २–२ कोठा हुने गरी घर बनाइरहेका छौं,’ उनले भने, ‘तला भएपछि त्यहाँ उब्जनीहरू राख्न पनि भयो ।’ गुप्सीपाखामा एउटा घर बराबर एनआरएनएले १० लाख रुपैयाँ खर्चेको छ । मौसमले साथ दिए लक्ष्यअनुसार नै ६ महिनाभित्र काम सक्ने अर्यालले दाबी गरे । ‘ए’ देखि ‘पी’ सम्म क्लस्टर छुट्याएर काम भइरहेको छ ।

‘एक क्लस्टरमा न्यूनतम १८ देखि अधिकतम ६८ घरहरू छन्,’ उनले भने । लाप्राक नमूना बस्ती निर्माणका लागि एनआरएनएलाई नेपाली सेनाले सघाएको छ । हाल यहाँ सेनानी गणेशमानसिं बस्नेत नेतृत्वको १ सय ५४ जनाको टोली र एनआरएनएका सयभन्दा बढी कामदार खटिएका छन् । ‘आवश्यकता हेरेर स्थानीयहरूलाई पनि श्रमदान गर्न बोलाउने गरेका छौं,’ अर्यालले भने । गुप्सी पाखाको ३ सय ३२ रोपनी जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण गरिएको हो ।

लाभाग्राहीको अपनत्वका लागि चिठ्ठा थुताएर घर पहिचान गर्ने काम भइसकेको एनआरएनएले जनाएको छ । ‘मेरो घर भनेर धनीले थाहा पाइसक्नुभएको छ,’ म्यानेजर अर्यालले भने, ‘आफ्नो घर भनेपछि चनाखो बन्ने रहेछन् ।’ बस्ती निर्माणमा सघाउन स्थानीयले आठ ट्रिप ढुंगा र ४० बोरा गिटी लगानी गरेका छन् ।

भूकम्पपछि टहरो र टेन्टमुनि बसेका लाप्राकवासी नयाँ घरमा सर्न आफूहरूलाई हतारो भएको बताउँछन् । ‘तलको घर भूकम्पले भत्काइहाल्यो । यहाँ कस्तो बन्छ जस्तो लागिराख्या छ,’ स्थानीय फुन्नी गुरुङले भनिन्, ‘छाना भएपछि खानाको पीर हुँदैन ।

कहिले सकिन्छ जस्तो मात्र लाग्या छ ।’ एकैनासका ढुंगाले छाएका गुजमुज्ज घरहरू रहेको लाप्राकको बस्ती ०७२ वैशाख १२ को भूकम्पले ध्वस्त मात्रै पारेन, गाउँको जमिन नै धाँजा फाटेर चिरा पर्‍यो । खुला ठाउँ खोज्दै गाउँले गुप्सीपाखामा आएर बसेका थिए ।

उनीहरूलाई अस्थायी बास व्यवस्थापन गर्न लगाएर हाल सुविधायुक्त घर निर्माण भइरहेको हो । बस्ती निर्माण ढिला हुँदा केही गाउँले पुरानै घर मर्मत गरेर बस्न थालेका छन् भने केही गुप्सीपाखा आसपास टहरामा बसेका छन् ।

बस्ती पुननिर्माण सकिएलगत्तै पर्यटक भित्र्याउन विशेष खालको कार्यक्रम ल्याउने योजना गाउँपालिकाले बनाएको छ । ‘अब आउने १२ गते लाप्राकमा एउटा कार्यक्रम राखेर धार्चे टुरिजम ड्रिस्टिक घोषणा गर्दैछौँ,’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने, ‘यहाँ कम्युनिटी होमस्टे बनाउने हाम्रो योजना हो ।’

एनआरएनएलाई तला छाप्दा बाँसको सट्टा काठ हाल्न सुझाव दिएको उनले बताए । ‘०५६ सालमा लाप्राकको बस्ती मुनिबाट पहिरो गएको थियो, भूकम्पले झनै सबै घर भत्कायो,’ उनले भने, ‘कति डराएर बस्ने । अब नयाँ घरमा सर्न पीडितहरू आतुर छन् ।’ भूकम्पको केन्द्रविन्दु बारपाकबाट लाप्राक नजिकैको पर्यटकीय गाउँ हो ।


प्रकाशित : वैशाख ७, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?