१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्होलासोंथरलाई विश्व सम्पदामा सूचीमा दर्ज गराउन मुख्यमन्त्री गुरुङको आग्रह 

आश गुरुङ

सिक्लेस (कास्की) — प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ जातिको आदिमथलो क्होलासोंथरलाई विश्व सम्पदा सूचीमा दर्ज गराउन केन्द्रीय सरकारसँग आग्रह गरेका छन् । युनेस्कोको मापदण्डमा पुर्‍याएर क्होलासोंथरलाई विश्व सम्पदा सूचीमा पार्न उनले प्रदेश सरकारका तर्फबाट सिफारिस गर्ने बताए ।

क्होलासोंथरलाई विश्व सम्पदामा सूचीमा दर्ज गराउन मुख्यमन्त्री गुरुङको आग्रह 

बेलायतस्थित तमुधिं युकेको टोलीको एकहप्ते क्होलासोंथर अध्ययनपछि सिक्लेसमा शुक्रबार आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले भने, ‘क्होलासोंथर राज्यको सम्पत्ति हो । पुरातात्विक विभागले यसको अध्ययन/अनुसन्धान गरेमा प्रमाण जुट्न कुनै समस्या छैन ।’ उनले क्होलासोंथर करिब १ हजार वर्ष पुरानो भएको भन्दै यसको प्रमाण जुटाउन प्रदेश सरकारले आगामी बजेटमै सम्बोधन गर्ने बताए ।


आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले क्होलासोंथरको संरक्षण र संवर्द्धन गर्ने दायित्व संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको उत्तिकै दायित्व रहेको बताए । प्रदेश सांसद मानबहादुर गुरुङले क्होलासोंथर गुरुङ जातिको आदिम थलो भएकाले यसको संरक्षण हुनुपर्ने बताए । उक्त ठाउँसम्म जाने बाटो निर्माण हुनुपर्ने र त्यसका लागि पहल थालिने उनले बताए । क्होलासोंथरको विकाससँगै संरक्षण तथा संरक्षण, प्रवर्द्धन साथै प्रचारप्रसार एकैसाथ गर्नुपर्ने र विश्व सम्पदा सूचीमा राख्नको लागि पहल गरिने उनले बताए ।


संस्कृतिविद् प्राध्यापक डा. जगमान गुरुङले क्होलासोंथर अर्थात् क्होला सोप्रे ट्होको पुरातत्व विभाग, प्ये ल्हु संघ र क्याम्ब्रिज युनिभर्सिटीले उत्खनन् गर्दा १२ औं शताब्दीको अभिलेख फेला परेको थियो । उनले क्होलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुको विकल्प नभएको बताए । ‘प्रत्येक जातिको इतिहास छ, स्वाभिमान छ । राज्यले यसको सम्मान गर्नुपर्छ’ उनले भने ।


मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले क्व्होलासोंथरको सरक्षण तथा सम्वर्द्धनको लागि गाउँपालिकाले योजना बनाएर बजेट विनियोजन गरिसकेको बताए । चालू आर्थिक वर्षमा उक्त ठाउँसम्म जाने गोरेटो बाटोको मर्मत गरिने उनले बताए ।


माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले आफ्नो पहिचान जोडिएको ठाउँको संरक्षणका लागि एकजुट हुन आवश्यक रहेको बताए । क्होलासोंथर राज्यको सम्पत्ति भएकाले विश्वको साझा स्थल बनाउन राज्य अघि बढ्नुपर्ने बताए । लमजुङको क्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले क्होलासोंथरमा पर्यटनको विकास गर्नुपर्ने बताए ।


तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्)का अध्यक्ष रेशम गुरुङले मुस्लिमको मक्कामदिनाजस्तै गुरुङको क्होलासोंथर रहेको बताए ।


तमुधिंका अध्यक्ष कर्म गुरुङले तमुहरुको आदिम थलो क्होलासोंथरको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए । तमुधिं युकेका अध्यक्ष ग्याम गुरुङले क्होलासोंथरबारे गरिएको अध्ययन पुस्तकको रुपमा प्रकाशन गरी क्होलासोंथरको संरक्षण र संवर्द्धन गरी विश्व सम्पदामा सूचीकृत गराउन सरकारलाई घच्घच्याउने बताए ।


कार्यक्रममा अधिबक्ता कृष्ण गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङलगायतले पनि क्होलासोंथरलाई विश्व सम्पदा सूचीमा लैजानको लागि सबैको पहल आवश्यक रहेको बताए ।


पछिल्लो नापीअनुसार मादी गाउँपालिकामा पर्ने क्होलासोंथरका लेकहरु लमजुङेले भोगचलन गर्दै आएको ठाउँ हो । समुद्री सतहदेखि ३ हजार ३ सय ३० देखि ४ हजार २ सय मिटरको उचाइमा रहेको क्होलासोंथर लमजुङको भुजुङ, घनपोखरा घलेगाउँ तथा पसगाउँबाट छिटोमा २ दिनमा पुगिन्छ भने कास्कीको ताङतिङ, सिक्लेसबाट एकदिनमा पुगिन्छ ।


क्होलासोंथर लमजुङ हिमालको दक्षिणीभेग र अन्नपूर्ण दोस्रोको दक्षिणपूर्वी भेगमा पर्दछ ।

प्रकाशित : वैशाख ७, २०७५ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?