मर्मतपछि खुदी बेलिब्रिज सुचारु

लमजुङ — बेंसीसहर–चामे सडक खण्डको खुदीस्थित बेलिब्रिजमा मर्मतपछि आवागमन सुचारु भएको छ । स्थानीयको दबाबपछि पुल मर्मत गरिएको हो ।स्थानीयले मर्मत हुनुपर्ने माग गर्दै पुलमा आवतजावत बन्द गराएका थिए ।

मर्मतपछि खुदी बेलिब्रिज सुचारु

डिभिजन सडक कार्यालय दमौलीले पुल मर्मत गराएको हो । चैत मसान्तभित्र मर्मत सक्ने भनिएकोमा एक साता ढिलो सम्पन्न भएको छ । पुलमा राखिएका पाताहरू टुटफुट हुनुका साथै खिया लागेपछि आवागमनमै जोखिम भएको थियो । पुलमा प्रयोग गरिएका फलामे पाताहरू सबै नयाँ राख्नुपर्ने माग स्थानीयको थियो । डिभिजन सडक कार्यालयले बीच भागको दुई लाइन नयाँ र दायाँ–बायाँ पुरानै हालेको स्थानीयले बताएका छन् । ‘सबै नयाँ प्लेट फेर्नुपर्नेमा दायाँ–बायाँ त्यही पुरानालाई काटकुट गरी हालिएको छ,’ लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइका अध्यक्ष वीरेन्द्र भण्डारीले भने, ‘जस्तो भए पनि पुल
मर्मतपछि आजतजावत सजिलो भएको छ ।’

मस्र्याङ्दी गाउँपालिका ९ सिम्पानी र ३ नम्बर वडाको खुदी जोड्ने उक्त पुल बेंसीसहर–चामे सडक निर्माणका बेला दशकअघि सेनाले बनाएको थियो । उक्त बेलिब्रिज भ्याटसहित ४१ लाख लाख ८२ हजार रुपैयाँमा मर्मत गरिएको डिभिजन सडक कार्यालय दमौलीले जनाएको छ । डिभिजन इन्जिनियर भानु जोशीका अनुसार इस्टिमेटअनुसार डेढ लाख थप गर्नुपरेको छ । ‘हामीले पूरै प्लेट फेर्ने भनेका थिएनौं । पूरै फेरेमा करोडभन्दा बढी खर्च लाग्छ,’ उनले भने, ‘इस्टिमेटअनुसार बीचमा नयाँ राख्ने र दायाँ–बायाँ यसअघिका काम लाग्ने प्लेटलाई नै सदुपयोग गर्ने भनेका थियौं ।’ उनले पुराना प्लेटले पनि ५/६ वर्ष राम्रोसँग धानिने बताए ।

१९ टन क्षमताको उक्त बेलिब्रिजबाट ३० टन क्षमताका ठूला ट्रक हिँड्नाले भत्किएको स्थानीयले बताए । माथिल्लो क्षेत्रमा जलविद्युत् आयोजना निर्माणका क्रममा बढी क्षमताका यही पुल भएरै आउजाउ गर्छन् । मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ठाउँ–ठाउँमा ठूला प्वाल परेका कारण दुर्घटनाको जोखिम थियो ।

‘मर्मत भएपछि त्यो जोखिम हटेको छ,’ उनले भने । पुलका सबै फलामे पाता फेर्न माग गरे पनि आधा मात्रै नयाँ राखेर दायाँ–बायाँ पुरानै प्लेट हालेको उनले बताए । ‘सवारीको लिग पुरानै प्लेटमा पर्ने भयो । छिट्टै समस्या आउन सक्छ,’ उनले भने, ‘अहिलेका लागिचाहिँ सजिलो भएको छ ।’ उनका अनुसार पुल मर्मत भएपछि स्थानीय, बटुवा, उत्तरी क्षेत्र तथा मनाङ जाने यात्रु, सवारी तथा चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटकलाई आउजाउ सहज भएको छ ।

प्रकाशित : वैशाख ८, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?