तीन जिल्ला समेटेर ‘सुपरजोन’ बनाइँदै

दिप्ती सिलवाल

पर्वत — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना विस्तार गर्न सरोकारवालाले नयाँ योजना बनाउन थालेका छन् । कृषिमा आधुनिक प्रविधि भित्र्याएर आत्मनिर्भरता बढाउने उद्देश्यले तीन वर्षयता परियोजना सञ्चालनमा ल्याइएको हो ।

तीन जिल्ला समेटेर ‘सुपरजोन’ बनाइँदै

पर्वतको जलजला गाउँपालिका, म्याग्दीको बेनी नगर, रघुगंगा, मंगला, मालिका गाउँपालिका र बागलुङका बागलुङ नपा तथा काठेखोला गाउँपालिका समेटेर ‘सुपर जोन’ बनाउन लागिएको छ । यसका लागि यी तीन जिल्लाका सात स्थानीय तहले संयुक्त पहल अघि बढाएका छन् ।


तीनै जिल्लाका सम्बद्ध पक्षको सहभागितामा सुपरजोन क्षेत्र निर्धारण गरी आगामी वर्षदेखि सुन्तला खेती विस्तार थालिने पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । २०७२ देखि मुलुकभर सञ्चालनमा ल्याइएको परियोजनाअन्तर्गत यी तीन जिल्लामा ब्लक र पकेट क्षेत्रको कार्यक्रम मात्रै सञ्चालित छ । पर्वतमा मकै जोन कार्यक्रम चलाइएको छ ।


परियोजनाको मापदण्डअनुसार सुपर जोन क्षेत्र विस्तारका लागि एकै भूगोलमा कम्तीमा एक हजार हेक्टर जमिन हुनुपर्छ । तीन जिल्लाका सात स्थानीय तहमा करिब १ हजार २ सय हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । एउटै भूगोलमा समेटिएको जमिन भएकाले जिल्ला र स्थानीय तहको सिमानाले कुनै प्रभाव नपर्ने जानकारहरू बताउँछन् । ‘अब भूगोल र सिमाना भनेर विकास हुँदैन,’ वरिष्ठ अधिकृत रेग्मीले भने, ‘तीनै जिल्लाका सरोकारवाला सहमत छन् । सुपरजोनको प्रस्ताव माथि पठाएका छौं । सबै पक्षको सहयोग भए सफल हुन्छ ।’ पहाडी क्षेत्रमा एकै जिल्ला र स्थानीय तहमा एक हजार हेक्टर क्षेत्रफल पुग्न असम्भव भएकाले तीन जिल्लाको क्षेत्रफल मिलाएर सुपर जोन बनाउन सबै पक्ष सहमत भएका हुन् ।


बागलुङ, पर्वत र म्याग्दीका कृषि विज्ञहरू, जिसस प्रमुख, जनप्रतिनिधि र सरोकारवालाले सुपर जोन बनाउन भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा सिफारिससहित मागपत्र पठाएको म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । ‘हामी सबैले पहल गरे असम्भव छैन,’ उनले भने, ‘प्रदेश हुँदै केन्द्र सरकारमा प्रस्ताव गरेका छौं । त्यो असम्भव पनि छैन ।’


तीन जिल्लाका सुन्तलाखेती हुने सबै क्षेत्रलाई मिलाएर योजना बनाउँदा अनुदान बढी आउने र कृषकलाई फाइदा हुने भएकाले सुपर जोन आवश्यक रहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । पर्वतको जलजलाबाट एक सिजनमा चार करोडको सुन्तला उत्पादन हुँदै आएको छ । म्याग्दीको बेनी, मालिका, रघुगंगा, मंगलाबाट १२ करोडको सुन्तला उत्पादन हुँदै आएको कृषि विकास कार्यालयको तथ्यांक छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाबाट ८ करोडको सुन्तला उत्पादन हुन्छ । अहिले छरिएर भइरहेको खेतीको तुलनामा सुपर जोन कार्यक्रम सञ्चालनपछि तीन गुणा बढी उत्पादन लिन सकिने सरोकारवालाको ठम्याइ छ ।


कार्यक्रम लागू भए उपसचिवस्तरका वरिष्ठ अधिकृतसहित दर्जन बढी कृषि प्राविधिक र कर्मचारी खटाइनेछन् । त्यस्तै सुन्तलाखेती विस्तार तथा आधुनिकीकरणका लागि मेसिनरी औजार, बगैंचा व्यवस्थापन, उन्नत जातका बिरुवा तथा सिंचाइँमा अनुदान, सुन्तला भण्डारणका लागि कोल्डस्टोरलगायतमा अनुदान आउँछ । तीन जिल्ला समेटेर सुपरजोन बनाउन सके प्रदेश ४ को समृद्धिमा सुन्तलाले पनि योगदान पुर्‍याउन सक्नेमा सम्बद्ध पक्ष एकमत छन् ।


सुन्तलाको व्यवसायिक उत्पादन गर्दै आएका किसानहरू ‘सुपर जोन’ बन्ने खबरले हौसिएका छन् । जलजला–१ बाँससखर्कका जगतबहादुर खत्रीले भने, ‘अनुदान, उन्नत जातका बिरुवा, बजारीकरणको सहजता र कोल्ड स्टोरको व्यवस्था भए प्रदेश ४ मा यी तीन जिल्लाको उत्पादनले मात्र सुन्तलाको आधा बजार धान्न सक्ने अवस्था छ ।’

प्रकाशित : वैशाख ८, २०७५ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?