कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सबै सँगसँगै हिँडौं’

भर्ना अभियान

स्याङ्जा — शैक्षिक क्षेत्रमा निकै अगाडि रहेको स्याङ्जाका जनशक्ति देशकै उच्च तहमा पुगेका छन् । प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च शिक्षाका लागि पर्याप्त शिक्षालय छन् ।

‘सबै सँगसँगै हिँडौं’

तैपनि अझै यहाँका १.२ प्रतिशत बालबालिका शैक्षिक पहुँचबाट बाहिरै छन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले सम्बद्ध सबैलाई भर्ना अभियानमा हातेमालो गर्न सुझाएको छ । कार्यालयले शिक्षक, विद्यालय निरीक्षक, स्रोतव्यक्ति र व्यवस्थापन समिति पदाधिकारीसहितको भेलामा यस्तो आग्रह गरेको हो ।

चार वर्षअघि जिल्ला शिक्षा कार्यालयले स्याङजालाई पूर्ण साक्षर घोषणा गरेको थियो । इकाई प्रमुख अम्बिका आचार्यले साक्षर घोषणाले मात्रै शिक्षामा समान पहुँचको वातावरण नबन्ने भन्दै भर्ना अभियानमा सघाउन आग्रह गरे । ‘विपन्न, जटिल भूगोलका बासिन्दा अझै पनि विद्यालय पहुँचबाट टाढा छन्,’ उनले भने, ‘पढ्न आउँदा दिइने सुविधाबारे पनि त्यस्ता परिवारसम्म जानकारी पुर्‍याउनुपर्छ ।’ माझी, बोटे र दराई समुदायका अधिकांश बालबालिका अझै पनि विद्यालयबाट वञ्चित रहेको कार्यालयको तथ्यांकले देखाउँछ । ‘हामीले विगतदेखि नै छात्रवृत्ति, विद्यालयमा दैनिक खाजा खुवाउने व्यवस्था गरेका थियौं,’ उनले भने, ‘खाजाबापत दैनिक १५ रुपैयाँ र छात्रवृत्तिबापत ५ सयका दरले दिँदै आएका थियौं । तैपनि बालबालिका विद्यालयतर्फ आकर्षित नहुने समस्याको निकास खोज्नुपर्छ ।’

विभिन्न संघ–संस्थाले विद्यालय जानबाट वञ्चित बालबालिकालाई स्टेसनरी र सहयोग रकम दिँदै आएको गैससका जिल्ला अध्यक्ष कमलप्रसाद पौडेलले बताए । ‘विद्यालयका पूर्वाधार अपांगतामैत्री बनाउन सकिए अपांगता भएका बालबालिका नियमित हुन्छन्,’ उनले भने, ‘अपांगता भएकालाई हौसला दिन र विद्यालयतर्फ प्रेरित गर्न बैसाखी र ह्विलचियर दिने योजना बनाइरहेका छौं ।’ कार्यक्रमका सहभागीले भर्ना अभियानमा सघाउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : वैशाख ९, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?