कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कखरा सिक्दै आमाहरू

बारपाक (गोरखा) — बेलुकी आठ नबज्दै हिमालय मावि प्रांगणमा ४० नाघेका आमाहरू टर्च बाल्दै हातमा कापीकिताब च्यापेर आइपुग्छन् ।घरधन्दा छाडेरै भए पनि कखरा सिक्ने रहर जागेको छ उनीहरूलाई ।

कखरा सिक्दै आमाहरू

‘बिहान नाति तयार पारेर स्कुल पठाउँछु, साँझ आफैं तयार भएर पढ्न आउन हतार हुन्छ,’ ६० वर्षीया माइली गुरुङले भनिन् । कक्षा चढ्न भन्दा सामान्य लेखपढ सिक्न आफूहरू पढ्न आएको उनीहरू बताउँछन् । अनौपचारिक शिक्षा कक्षामा १५ जना महिला नियमित छन् । उनीहरू सबैको साझा उद्देश्य छ– ‘कम्तीमा आफ्नो नाम आफैं लेख्न सिक्ने ।’

भूकम्पपछि आएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले गर्ने सभा, गोष्ठी र महिला समूह बैठकमा सहभागी हुँदा हाजिरीसम्म गर्न नसक्दा ग्लानि महसुस गरे उनीहरूले । ‘ल्याप्चे हान्दा सरम लाग्यो, नाम मात्र भए पनि आफैं लेख्ने धोको छ,’ गुरुङ भन्छिन्, ‘त्यति मात्र जानिए पनि ठूलो हाइसञ्चो ।’ अहिले प्रौढ कक्षामा सहभागी सबै महिला नाम लेख्न सिक्दै छन् । पहिलो चरणमा नेपाली र अंग्रेजी दुवै भाषामा नाम लेख्न सिकाउने कार्ययोजना सहयोगी शिक्षक राधा सुनारले बनाएकी छन् । ‘ल्याप्चे लगाउन लाज भयो, पहिले नाम लेख्न सिकाऊ भन्नुभएको छ,’ सुनारले भनिन् ।

नाम लेख्न सिकाउनकै लागि सुनारले दैनिक गृहकार्य दिने गरेकी छन् । घरधन्दासँगै अहिले आमाहरूलाई दिनहुँ गृहकार्य गर्ने बोझ थपिएको छ । ‘कहिलेकाहीँ मात्र होमवर्क गरिएको हुँदैन,’ सुनार भन्छिन्, ‘घरको कामले भ्याइएन भन्नुहुन्छ ।’ सहयोगी शिक्षिका गृहकार्य नहेरी कक्षा सुरु गर्दिनन् । छोराछोरी र नातिनातिनाको सहयोग लिएरै भए पनि गृहकार्य नछुटाउने गरेको धनमाया गुरुङ बताउँछिन् । ‘मिसले क्लास सुरु गर्नभन्दा पहिले अघिल्लो दिन लगाएको काम हेर्छिन्,’ उनी भन्छिन्, ‘होमवर्क नगरेर ढाँट्न मन मान्दैन पो । निद्रा नपरे अहिल्यै गएर गर्छु नत्र भोलि ।’

७० वर्षीया थानी सुब्बा घलेलाई भने नामसँगै नेपाली भाषा पनि सिक्नु छ । ‘नाम भर्खरै सिकेको छु,’ उनले भनिन्, ‘नेपाली भाषा राम्रोसँग बोल्न जान्नुपर्‍यो भनेर यहाँ आएको ।’ सामुदायिक सिकाइ केन्द्रको निरन्तर शिक्षाअन्तर्गत चारमहिने कक्षा सञ्चालन हुनेछ । शनिबारबाहेक सबै दिन कक्षा चल्ने सुनारले बताइन् । ‘महिनादिन भो आउन थालेको,’ थानी भन्छिन्, ‘शनिबार बिदा हुन्छ, ठूलो पानी पर्दा पनि आउन गाह्रो हुन्छ । सिकेको कुरा बिर्सिन्छ कि भन्ने चिन्ता लाग्छ ।’प्रौढ शिक्षा पढेर सामान्य जोडघटाउ भए पनि जान्ने धनमाया गुरुङको धोको छ । ‘पढेपछि औलाँ भाँच्नुभन्दा मुखले हिसाब मिलाउन सकिन्छ कि जस्तो लागेको छ,’ उनले भनिन् । बाल्यकालमा विद्यालय जानुपर्छ भन्ने थाहा नै नपाएकाले अहिले पढ्न आएको महिलाहरू बताउँछन् ।

‘उस बेला पढ्नुपर्छ भनेर बुझेनौं, स्कुल जान पनि पाएनौं,’ धनमाता घले भन्छिन्, ‘सुरुमा त पढ्न आउन लाज लाग्थ्यो । कसैले सोधे अन्तै जान लागेको भनेर ढाँट्थ्यौं । क, ख सिकेपछि अहिले लाज हटेको छ ।’ महिनादिन लगाएर नाम लेख्न सिकेका महिलाहरूले चारमहिने कक्षा सकिएपछि के गर्ने भन्ने चिन्ता दर्साए । ‘बूढी मान्छेहरूको दिमाग बच्चाजस्तो नहुने रहेछ, दिमाग बुद्घु छ,’ घलेले भनिन्, ‘तर, हामी पढाइ पूरा नगरी बीचमा छाडदैनौं । पछि पनि कसैले पढ्न बोलाए आउने हो ।’ अनौपचारिक कक्षामा सहभागी महिलाहरूलाई सामुदायिक सिकाइ केन्द्रले कापी, किताब र पेन्सिल उपलब्ध गराएको छ । उमेरले १७ लागेकी सहयोगी शिक्षिका सुनारले आमाहरूलाई पढाउन पाउँदा खुसी लागेको अनुभव सुनाइन् । ‘ज्ञ र ण लेख्न दुई दिन लाग्यो । अरू एकै दिनमा सिकिराख्नुभएको छ,’ उनले भनिन् । कक्षामा सहभागी महिला भने अब अंग्रेजीमा नाम लेख्न सिक्ने तयारीमा जुटेका छन् । ‘अब केही दिनमै अंग्रेजीमा पनि नाम लेखेर देखाइदिन्छौं,’ माइली गुरुङले भनिन् ।

प्रकाशित : वैशाख ९, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?