शीत भण्डारको योजना अलपत्र

जैसीडाँडामा निर्माण थालिएको शीत भण्डारको भवन अधुरै
भण्डारमा सहकारी विभागको ५० प्रतिशत ऋण अनुदान र १०४ सहकारीको सेयर लगानी योजना

स्याङ्जा — सुन्तला उत्पादनमा नाम चलेको जिल्ला भए पनि स्याङ्जामा सिजन सकिएप्छि आयातीत सुन्तलाले बजार लिन्छ । शीतभण्डार नहुँदा उत्पादनलाई भण्डारण गरेर बेसिजनमा बेच्न नपाएका हुन् ।

शीत भण्डारको योजना अलपत्र

कृषि उपजलाई राम्रो भाउ आउने बेला झिकेर बेच्नका लागि शीतभण्डार निर्माणको योजना बन्दै नबनेको भने होइन । निर्माण सुरु भएर पनि योजना अलपत्र परेको हो । पुतलीबजार ११ को जैसीडाँडामा निर्माण थालिएको शीत भण्डारको भवन अधुरै छ ।

करबि १८ करोड रुपैयाँको लागतमा निर्माण गर्ने भनिएको नौतले शीत भण्डारका लागि १२ करोड रुपैयाँको टेन्डर स्वीकृत भई काम थालिएको थियो । ‘योजना अघि बढ्न लागेको थियो, भूकम्प, नाकाबन्दी भन्दै त्यसै काम रोकिएर अघि नै बढ्न सकेन,’ शीत भण्डार सहकारी संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले भने, ‘२० प्रतिशत काम भएपछि बजेटको पनि समस्या आयो । पर्याप्त बजेट नभएकाले ठूलो प्रोजेक्ट स्थानीयको बलमा अघि बढाउने अवस्था भएन ।’

२ हजार ५ सय टन भण्डारण क्षमता हुने भनिएको शीतभण्डार निर्माणका लागि सहकारी विभागको ५० प्रतिशत ऋण अनुदान र अरू लगानी जिल्लाका १ सय ४ सहकारीको सेयर लगानीमा हुने योजना रहेको उनले बताए । ‘सुरुको प्रतिबद्धताअनुसार बजेट जुटेन,’ उनले भने, ‘जिल्लाको आवश्यकता हो । तैपनि यो योजना अघि बढाउन जिल्लावासीको बल पुगेन ।’

स्थानीयको व्यवस्थापन हुनेगरी शीतभण्डार निर्माणको योजनामा सघाउने निर्णय सहकारी मन्त्रालयको सचिवस्तरको बैठकले पनि गरेको थियो । सहकारी मन्त्रालयले अर्थ मन्त्रालयमा रकम माग गरे पनि सहकारी बोर्डलाई ऋण लगानी गर्न अर्थले रोक लगाइदिएका कारण बजेट नआएर निर्माण रोकिएको अध्यक्ष श्रेष्ठले बताए ।

‘शीतभण्डार बनेको भए अहिलेकै उत्पादनमा सुन्तलाबाट ४० करोड अतिरिक्त लाभ किसानले लिन सक्ने थिए,’ उनले भने, ‘यो जिल्ला सुन्तला जोन पनि भएकाले सहज हुने थियो । करबि डेढ करोड रुपैयाँ आलुबाट अत्तिरिक्त लाभ लिन सकिने थियो ।’

किसान सम्बद्ध सहकारी संस्था सञ्चालकका अनुसार स्याङ्जामा वार्षिक ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल उत्पादन हुन्छ । सिजनमा सस्तोमा बेच्न बाध्य किसान अफ सिजनमा आफैं तरकारी र फलफूल बजारबाट किनेर खान्छन् । उत्पादन धेरै भएका बेला भण्डारण गर्ने व्यवस्था हुनसके धेरैजना लाभान्वित हुने अगुवा किसानको भनाइ छ । सहयात्री बचत तथा ऋण सहकारीका सञ्चालक रमेश गोदार सहकारीको साझा प्रयासमा सरकारले बेवास्ता गरेको गुनासो गर्छन् ।

‘शीतभण्डार नबन्दा सहकारीको पैसा नै जोखिममा परेको छ,’ उनले भने, ‘यो जिल्लाकै कृषि क्षेत्रका लागि अत्यावश्यक योजना हो । अझै पनि सरकारले गम्भीतापूर्वक लिन सके निर्माण हुन्छ ।’

पुतलीबजार ९ का विक्रम थापामगर जिल्लामा उत्पादित फलफूल भण्डारण गरेर राख्ने ठाउँको अभावमा बजारमा बाहिरका उत्पादनले कब्जा जमाएको बताउँछन् । ‘अफ सिजनमा किन्नुपर्दा आफूले बेचेको सुन्तलाको भाउ झल्झली आउँछ,’ उनी भन्छन्, ‘बजारको माग धानेर पनि शीतभण्डार भइदिए जिल्लाको उत्पादन स्टोर गरेर पछि बेच्न सकिन्थ्यो ।’

शीतभण्डार सहकारीका कोषाध्यक्ष सुरेन्द्रराज पौडेल बजेट निकासा भए अझै पनि निर्माणको काम अघि बढाउन सकिने बताउँछन् ।

प्रकाशित : वैशाख ११, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?