२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बारुलाले चिल्दा १३ घाइते

गोरखा — पालुङटार नगरपालिका २ खोप्लाङ पोखराबेंसीको आचार्य गाउँमा सिङ्गुस भन्ने सानो बारुलाले चिल्दा १३ जना घाइते भएका छन् ।

बारुलाले चिल्दा १३ घाइते

खानेपानीको धारा नजिकै रूखमा गुँड लगाएको सिङ्गुसले आइतबार गाउँलेलाई चिलेको हो । घाइतेको ठाँटीपोखरी, आँपपीपल र गोरखा अस्पतालमा उपचार भइरहेको छ । ९० वर्षीय रामप्रसाद आचार्यलाई भने गोरखा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि भरतपुर रेफर गरिएको छ ।

रूखमा गोला बनाएर बसेका सिङ्गुसलाई चराले जिस्क्याएपछि यस्तो घटना भएको हो । आत्तिएका सिङ्गुसका हूलले धारा नजिकै रहेका रामप्रसादलाई पहिले चिले । त्यसपछि उनलाई जोगाउन भनेर अघि सरेका सबैलाई चिलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘बुबा कराएपछि अरू मान्छे धारामा जान खोज्दा बाटोमै सबैलाई टोक्न थाल्यो,’ स्थानीय रवीन्द्र आचार्यले भने । घाइते ७० वर्षीया दिलकुमारी आचार्यको गोरखा जिल्ला अस्पतालमा उपचार भएको छ ।

३२ वर्षीया शान्ता आचार्य, ६० वर्षीया पीतकुमारी आचार्य, ६६ वर्षीय कृष्णप्रसाद आचार्य र ६३ वर्षीया राधा आचार्यको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

५० वर्षीय तीर्थकुमार थापा, ३० वर्षीय ध्रुव आचार्य र ८५ वर्षीया लक्ष्मी आचार्यको ठाँटीपोखरीको स्वास्थ्य संस्थामा उपचार भएको छ । ६० वर्षीया कृष्णकुमारी पोखरेलको आँपपीपल अस्पतालमा उपचार भएको अधिकारीले बताए ।

सिङ्गुसका हूलले चिलेर घाइते स्थानीयलाई एम्बुलेन्स बोलाएर उपचारार्थ स्वास्थ्य संस्था पठाइएको हो । सामान्य घाइते चार जनाको घरेलु उपायबाट उपचार भइरहेको स्थानीयले बताएका छन् । ‘धेरैजसोलाई घाँटी, हात, र अनुहारमा टोकेको छ,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘एकैपटक धेरै जनालाई घाइते बनाएकाले गाउँले हैरान छन् ।’

प्रकाशित : वैशाख ११, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?