पुराना टायरबाट उपयोगी सामग्री

सिर्जनशील युवाले पुराना टायरबाट घर सजावट र फर्निसिङका आकर्षक सामग्री बनाउने उद्योग सुरु
दिप्ती सिलवाल

लस्ती (पर्वत) — बस, ट्रक, ट्रयाक्टर, जिप, मोटरसाइकल र साइकललगायतका उपयोग सकिएपछि मिल्काइने टायर सडकमा बाल्न, लास र इँटा पोल्न बढी प्रयोग भएको पाइन्छ । तर, यहाँका एक सृजनशील युवाले तिनै पुराना टायरबाट घर सजावट र फर्निसिङका आकर्षक सामग्री बनाउने गरेका छन् ।

पुराना टायरबाट उपयोगी सामग्री

जलजला ३ मल्लाजका ३२ वर्षीय दीपेश केसीले ८ नम्बर वडाको नाङ्लीबाङमा पुराना टायरबाट बनाइने सामानको फर्निसिङ उद्योग नै सञ्चालन गरेका छन् । दुइ वर्षअघि उनले स्थापना गरेको ढिकी–जाँतो हस्तकला उद्योगमा साइकलदेखि ट्रयाक्टरसम्मका टायर उपयोग गरेर बनाइएका आकर्षक सामग्री देख्न सकिन्छ । पुराना टायर संकलन गरेर उनले ऐना स्ट्यान्ड, मुढा, फूल रोप्न सकिने विभिन्न प्रकारका गमला, कुर्सी र टेबल बनाउने गरेका छन् । पुराना टायरबाटै विभिन्न प्रकारका सोफासेट र लाइट स्ट्यान्डलगायतका सामग्री उत्पादन गर्दैआएका छन् ।


विद्यार्थी भिसामा २०६७ मा जापान पुगेका उनले त्यहाँ चार वर्ष बस्दाको सीप आफ्नै गाउँमा आएर प्रयोगपरक पेसामा लगानी गरेका हुन् । जापानको ह्यान्डिक्राफ्ट र गाडीका सिट बनाउने कम्पनीमा उनले काम गरेका थिए । ‘मैले काम गरेको कम्पनीमा पुराना टायरको एक टुक्रा पनि खेर जाँदैनथ्यो,’ उनी भन्छन्, ‘त्यहाँ काम गर्दा हाम्रातिर यत्रतत्र फालिने थोत्रा टायरको निकै याद आउँथ्यो । आफ्नो सीपको सदुपयोग गर्नकै लागि घर फर्किएको हुँ ।’


नेपाल फर्किएपछि उनले २०७२ मा उद्योगका लागि जग्गा खोज्नमै केही महिना बिताए । तत्कालीन नाङ्लीबाङ गाविसमा मालढुंगा–बेनीको छेवैमा १० रोपनी जग्गा भाडामा लिएर कच्चापदार्थ प्रशोधनका लागि भवन बनाए । एक वर्षमा भवन तयार भयो । अनि थोत्रा टायर संकलनमा जुटे । बेनीदेखि पोखरासम्मका थोत्रा टायर संकलनमा केही समय लाग्यो । ‘सबै मेसो मिलाउँदा डेढ वर्ष बित्यो,’ उनले भने, ‘व्यावसायिक उत्पादन सुरु गरेको अहिले ४/५ महिना मात्रै भएको छ ।’


केसीलाई यो नौलो प्रकारको व्यवसाय गर्न दाजु दिलीप केसीले हौसला दिएका हुन् । उद्योगमा हालसम्म भएको करिब ६० लाख रुपैयाँ लगानी जुटाउनेदेखि पुराना टायर खोज्ने, कामदार खोज्ने र उत्पादित सामानको बजारीकरण गर्नेसम्मको काममा दाजु दिलीपले नै सघाउँदै आएका छन् । पाँच महिनाको अवधीमा उनको उद्योगबाट करिब आठ लाख रुपैयाँ बराबरका फर्निसिङका सामग्री उत्पादन भइसकेको छ । उनले हाल बेनी र कुश्मामा आफ्ना उत्पादनको बिक्री कक्ष सञ्चालनमा ल्याएका छन् ।


उनका उत्पादन पछिल्लो समय घर सजावट रुचाउनेका लागि नौलो भएका छन् । पर्यटकको भीड हुने र सजावट नौलो प्रकारको रुचाउने ग्राहकलाई ध्यान दिने होटल, रेस्टुरेन्ट सञ्चालकका लागि केसीका उत्पादन चासोको विषय बन्न थालेका छन् । ‘लञ्च र डाइनिङ टेबल सेटको माग धेरै छ,’ उनले भने, ‘हिजोआज ह्याङगिङ लाइट (भित्तामा झुन्ड्याउने बत्ती) र की–रिङको पनि अर्डर आउन थालेको छ ।’

पुराना टायरको २० रुपैयाँदेखि सय रुपैयाँ खरिद मूल्य पर्छ । त्यसलाई उपयोग गरेर कलात्मक सामग्री तयार गरेपछि राम्रो फाइदा हुने उनले बताए । ‘एउटा टेबुल सेट बनाउँदा १० वटा टायर खर्च हुन्छ,’ उनले भने, ‘त्यो सेट १८ देखि २० हजारसम्ममा बिक्री हुन्छ ।’

उद्योगमा हाल आफूसहित पाँचजना कार्यरत रहेको उनले बताए । नेपालमा यस्तो प्रकारको काम अन्त सुरु नभएकाले चाहिएको जस्तो दक्ष कामदार भने पाउन नसकेको उनको भनाइ छ । काम गर्न चाहनेलाई बोलाएर सिकाएर उनले उद्योग चलाएका छन् ।

‘अब माग धान्न पनि कम्तीमा १० जना थप कामदार बढाउनु पर्नेछ,’ उनले भने, ‘टिकेर काम गर्ने मान्छे खोजिरहेको छु ।’ टायरसँगै उनी बाँसबाट बनाइने सामग्री उत्पादन पनि सुरु गर्ने तयारीमा छन् । ‘बाँसबाट टायरको भन्दा बढी फाइदा लिन सकिन्छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गरेपछि बाँसको सुरु गर्ने हो ।’

सम्बन्धित निकायमा हस्तकला उद्योग दर्ता गरेर व्यवसाय सुरु गरेका उनलाई अब कानुनी भन्झट भने छैन । स्थानीयस्तरमा खेर गइरहेका कच्चापदार्थको उपयोग राम्रोसँग गर्न सिकेका उनले यो उद्योगबाट सुरुवाती चरणमै सबै खर्च कटाएर मासिक एक लाख मुनाफा गरेको दाबी गरे ।

प्रकाशित : वैशाख ११, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?