कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्प स्मृति दिवसमा मृतकको सम्झना

बारपाक–१ ताक्लेनान चौतारामा ३५ फिटको राष्ट्रिय झण्डा
स्थानीयले १२ वैशाखको भूकम्प र आफन्त सम्झिए

गोरखा — भूकम्प गएको चौथो वर्षको दिन बुधबार बारपाककी सेती घलेले मृत्यु भएका ससुरा बुद्घि बहादुरको तस्बिरमा माल्यार्पण गर्दै धुपबत्ती बालिन् । भूकम्पको केन्द्रविन्दुका स्थानीयले मृतक आफन्तको सम्झना गरेका हुन् ।

भूकम्प स्मृति दिवसमा मृतकको सम्झना

‘चाडपर्व तथा वार्षिकीमा ससुराले मन पराउने खानेकुरा चुलामाथि चढाएर मात्र हामी खान्छौँ,’ उनले भनिन् । मृतक सुसुराको तस्बिर लिएर बारपाकमा भएको भूकम्प स्मृति दिवस मनाउन उनी हिमालय माविको प्राङ्गणमा भेटिइन् ।

‘भूकम्पमा परेर मृत्यु भएका सबैको फोटो राखेर दीप प्रज्वलन गर्ने भनेका छन्, आमाको फोटो लिएर आएको छु,’ सन्तमाया गुरुङले भनिन् । बुधबार बारपाकका स्थानीयहरू १२ वैशाखको भूकम्प र आफन्तको सम्झना गरिरहेका थिए ।

बारपाक सुलिकोट गाउँपालिका र बारपाक मित्रता क्लबको आयोजनामा भूकम्प स्मृति दिवस दीप प्रज्वलन गरी मनाइएको हो । बारपाक–१ ताक्लेनान चौतारामा ३५ फिटको राष्ट्रिय झन्डा राखिएको छ । बारपाक मित्रता समाज क्लबले उपलब्ध गराएको झन्डा एक कार्यक्रमबीच जलस्रोत ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुनले फहराएका हुन् ।

बारपाकको पहिचान तथा पर्यटकीय हिसाबले महत्त्व बढाउनका लागि झन्डा राखिएको वडा अध्यक्ष रोशन विकले बताए । बुधबार नै बारपाकमा निर्माण हुने भ्यू टावरको मन्त्री पुनले शिलान्यास गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै जलस्रोत ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुनले भूकम्पले केन्द्र विन्दुमा पुनर्निर्माणलले तीव्रता पाएकोमा खुसी व्यक्त गरे । ‘तहसनहस भएको ठाउँमा नाचगान हुन थालेको छ, नयाँ आशा पलाएको छ,’ पुनले भने । संघीय, प्रादेशिक र स्थानीय सरकार समृद्घिको यात्रामा अघि बढेको बताए । सरकारले समृद्घिको यात्रालाई मुख्य लक्ष्य बनाएको उनले सुनाए ।

भूकम्पमा परी मृत्यु भएकाको सम्झनामा तस्बिर लिएर स्मृति दिवस मनाउन आएका आफन्त । तस्बिर : हरिराम

मोटर बाटो, खानेपानी लगायतका विकास निर्माणका कामले लोकतन्त्र गणतन्त्र जनताले अनुभूत गर्ने उनको भनाइ छ ।

बारपाक र लाप्राकमा केन्द्रीय विद्युत् प्रसारण लाइनको व्यवस्था गर्ने मन्त्री पुनको भनाइ छ । उनले भने ‘बुढीगण्डकी आयोजनाको काम अघि बढाएका छौं, मुआब्जाका लागि यो वर्ष १० अर्ब रुपैयाँ यस वर्ष छुट्याएका छौं,’ अर्को वर्ष १८ देखि २० अर्ब रुपैयाँ वितरण गर्ने हाम्रो लक्ष्य छ ।’ गोरखाका सबै टारहरू समेटेर पहाडी सिंचाइ आयोजना सञ्चालन गर्न लागिएको उनले सुनाए ।

प्रकाशित : वैशाख १३, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?