पुरानो विधिले बाली थन्क्याउन समस्या

गाउँघरमा काम गर्ने युवा पुस्ता नभएपछि गाईगोरु पाल्ने चलन हरायो
किसानलाई अन्न चुट्ने मेसिनको आवश्यकता

पर्वत — पैयुँ ७ भोर्लेकी उमादेवी बस्यालले गत चैतमा काटेको गहुँ अझै थन्क्याउन सकेकी छैनन् । अघिल्ला वर्षहरूमा काममा सघाउने छोराछोरी पढाइका लागि पोखरा गएपछि उनलाई यसपटक गहुँ, जौ र फापर थन्क्याउन समस्या भएको हो ।

पुरानो विधिले बाली थन्क्याउन समस्या

भोर्लेकै गौदेवी गुरुङले गहुँको बाला काटेर थुपारेको दुई महिना भयो । कोठामा थन्क्याएको गहुँ बाहिर निकाल्ने आँट गर्नै सकेकी छैनन् । ‘तीन हलको मेलोमा बल्लतल्ल ट्रयाक्टरले जोतेर लगाएको गहुँ घरसम्म ल्याइयो,’ बस्यालले भनिन्, ‘गाउँमा न गोरु छन्, न त काम गर्ने मान्छे पाइन्छ ।’ पहिले–पहिले गोरुले दाइँ गरेर गहुँ भित्र्याउने गरिएको थियो । गाउँमा गोरु पाल्ने चलन हटेपछि लठ्ठीले चुटेर गहुँ थन्क्याउँदै आएकी थिइन् । गाउँमा पर्म लगाएर (आलोपालो गरेर) कृषिमा काम गर्न जनशक्ति छैन । गहुँ चुट्ने मेसिन आएकै छैन । मेसिनको भरमा खेत जोतेर अन्नबाली लगाउन सजिलो भए पनि थन्क्याउने मेसिन नहुँदा समस्या भएको किसानको गुनासो छ ।

गाउँघरमा काम गर्ने युवा पुस्ता नभएपछि गाईगोरु पाल्ने चलन हराइसक्यो । पहाडी पाखोबारीमा समेत गुडाउन मिल्ने यान्त्रिक हलोको सहजताले किसानलाई केही राहत भएको छ । तर, खाद्यान्न उत्पादन गरेर थन्क्याउने बेलामा चाहिने उपकरणको अभावले भने किसान चिन्तित छन् । ‘खेत जोत्ने हलो बनाएपछि चुट्ने मेसिन पनि भए थन्क्याउने बेलामा समस्या हुन्थेन,’ पैयुँ ५ का हिमबहादुर क्षत्रीले भने, ‘अहिले बजारमा आएका मेसिनले हामीलाई झन् अप्ठ्यारोमा पारेका छन् । हलो आएपछि गोरु पाल्न छोडियो । मेसिनले गोरुको सबै काम गर्दैन ।’

पैयुँ र महाशिला गाउँपालिकाका किसानले मकै लगाएपछि मान्छे खोजेर खेतबारीका डल्ला फुटाउने चलन छ । त्यसो गर्दा बाली सप्रिने र अनावश्यक झारको कमी हुने लगायतका फाइदा हुने किसानहरू बताउँछन् । तर, पछिल्ला केही वर्षयता युवा पुस्ता पढाइ र वैदेशिक रोजगारका लागि घरबाहिर हुँदा गाउँमा श्रम शक्ति कम छ । घरमा हुने केटाकेटी र पाका उमेरका महिला–पुरुषले पर्याप्त काम गर्न सक्दैनन् ।

जिल्लाका अधिकांश खेत जोत्न पावर टिलरको प्रयोग बढेको छ । किसानहरूले पछिल्लो समय पावर टिलरसँगै गहुँ, मकै, धान, तोरी र फापरलगायतका अन्न चुट्ने मेसिनको पनि आवश्यकता महसुस गरेका छन् ।

प्रकाशित : वैशाख १३, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?