कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राम्रा स्कुलमा भर्ना पाउनै मुस्किल

घनश्याम खडका,

म्याग्दी — सदरमुकामको एउटा निजी विद्यालयमा ७ सम्म पढेपछि छिमेकको बेनी सामुदायिक विद्यालयमा भर्ना पाउन अजय बानियाँ प्रवेश परीक्षामा सहभागी भए ।

राम्रा स्कुलमा भर्ना पाउनै मुस्किल

अर्का आशिष खत्रीले पनि यो शैक्षिकसत्रमा बोर्डिङ स्कुल छाडेर सामुदायिक विद्यालय रोजे । दुवै चल्तीका व्यवसायी तथा सामाजिक अगुवा अभिभावकका सन्तान हुन् । दुवैको अभिभावकको भनाइमा यसपटक सामुदायिक विद्यालय रोज्नुको कारण अध्यापन प्रणालीमा आएको सुधार नै हो ।

अध्यापन प्रणालीमा सुधार ल्याएका सामुदायिक विद्यालयमा चाहना गर्ने र भन्नेबित्तिकै भर्ना पाउन भने सजिलो छैन । विद्यार्थीको चाप धेरै हुन थालेपछि सामुदायिकले पनि प्रवेश परीक्षा लिने र निर्धारित संख्यामा मात्रै भर्ना लिइने नीति लिएका छन् । जसका कारण अभिभावक र विद्यार्थीको चाहना हुँदैमा सामुदायिक विद्यालयमा भर्ना सहज छैन । तैपनि विद्यार्थी सामुदायिकमा आउने क्रम बढेको छ ।

पश्चिम मालिका गाउँपालिका ३ ओखरबोटबाट आएकी माया घर्ती र उत्तर अन्नपूर्ण गाउँपालिका ८ राम्चेबाट ममता गर्वुजा गाउँका स्कुल छाडेर सदरमुकामको बेनी सामुदायिक विद्यालयमा भर्ना पाउन प्रवेश परीक्षामा सहभागी भए । मंगला गाउँपालिका २ बाबियाचौरकी रूपा विक घर छेवैको बोर्डिङ स्कुल छाडेर यहाँको सामुदायिकमा भर्ना हुन पाउने
प्रयासमा छिन् ।

सहरमा छोरीलाई एक्लै डेरामा छाडेर पढाउन सजिलो नभए पनि शैक्षिक भविष्यका लागि बेनी ल्याएर सामुदायिकमा भर्ना गराउन खोजेको अन्नपूर्ण ८ राम्चेका राजु गर्बुजाले बताए । उनी गाउँको देउराली आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । ‘हाम्रो गाउँ र बेनी एक दिन पैदल दूरी टाढा छ,’ उनले भने, ‘शैक्षिक वातावरण सुधारेका सामुदायिक स्कुल अब सबैको रोजाइमा छन् ।’ यस्तो भएकाले विद्यार्थी भर्ना गराउन गाह्रो भएको उनले बताए ।

यतिबेला विद्यालय भर्ना अभियान जारी छ । मन्त्री, सांसद र जनप्रतिनिधिहरू विभिन्न समुदायमा पुगेर आफूलाई विपन्न समुदायका बालबालिकाको संरक्षक भन्दै विद्यालय भर्ना गर्ने अभियानमा छन् । गाउँ गाउँका सामुदायिक विद्यालय मात्र होइन सदरमुकाम बेनीका निजी स्कुलका शिक्षक र सञ्चालक पनि विद्यार्थी खोज्दै घरदैलो चाहर्दै छन् । तर, यहाँका केही अब्वल सामुदायिक विद्यालयलाई भने घरदैलो गर्नुपरेको छैन । विद्यार्थी भर्नाका लागि बढेको चाप कसरी थेग्ने भन्नेमै शिक्षक र व्यवस्थापन समिति पदाधिकारी परामर्शमा छन् । त्यसैले धेरैले भर्नाको कोटा निर्धरित गरेर प्रवेश परीक्षा लिने नियम बनाएका हुन् ।

विद्यार्थी भर्नाको चाप थेग्न बेनीकै प्रकाश माध्यामिक विद्यालयलाई पनि हम्मेहम्मे परेको छ । यसले पनि नयाँ भर्ना लिन प्रवेश परीक्षा उत्तीर्ण गर्नैपर्ने नियम बनाएको छ । अध्यापन र व्यवस्थापनमा अब्बल यहाँका विद्यालयमा भर्ना गराउन विद्यार्थीको क्षमतामाथि पनि राजनीतिक दल र शिक्षक संघ–संगठनको सोर्सफोर्स लागाउने पनि उत्तिकै छन् ।

सामुदायिक विद्यालयसँग प्रतिस्पर्धा गर्न निजी विद्यालयले अब्बल विद्यार्थीलाई विभिन्न प्रलोभनमा रोक्नसमेत हम्मे परेको छ । केही निजी विद्यार्थीले सामुदायिकमा जान चाहने विद्यार्थीको सर्टिफिकेटसमेत रोक्का गरिदिएका छन् ।

‘अंग्रेजी माध्यम छ, प्राइभेट स्कुलभन्दा अनुशासन र रिजल्ट पनि सधैं राम्रो रहेको थाहा पाएर छोरालाई भर्ना गराउन यता ल्याएको हुँँ,’ बेनी ८ का व्यवसायी यामबहादुर बानियाँले भने, ‘अलि ठूलो कक्षा चढेपछि छोराछोरीको पढाइप्रति चिन्ता बढ्ने रहेछ । अभिभावकले पढाउन खर्च गर्न सक्ने–नसक्ने भन्दा पनि राम्रो जहाँ हुन्छ त्यहीँ लैजानु स्वाभाविक छ ।’

राज्यबाट नियमित अनुदान प्राप्त सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयका दुई किसमका औपचारिक शिक्षा पद्धति छ । हुने खानेको आकर्षण संस्थागत विद्यालयमा र हुँदा खानेको मात्र सामुदायिक विद्यालयमा पढ्छन् भन्ने भ्रम पनि उस्तै छ । तर, प्रचलित बुझाइभन्दा फरक बेनी सामुदायिक र प्रका माविमा भने विद्यार्थी र अभिभावक दुवैको आकर्षण उस्तै छ ।

४ कक्षाबाटै कम्प्युटर, ६ देखि अंग्रेजी माध्यम, बर्सेनि एसईईमा शतप्रतिशत उत्तीर्ण र ६० अंकभन्दा बढी सिकाइ उपलब्धिले अभिभावक र विद्यार्थी आकर्षित भएका हुन् ।

प्रकाशित : वैशाख १३, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?