उपकरण छन्, चिकित्सक छैनन्

सामान्य प्रसुतिका लागि भैरहवा र बुटवल पुग्नुपर्ने बाध्यता
नवीन पौडेल

परासी — पाँच महिनायता जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा प्रसूति सेवा बन्द छ । चिकित्सक र स्वास्थ्यकर्मीको अभावले सेवा बन्द भएको हो । सामान्य प्रसूतिका लागिसमेत भैरहवा र बुटवल पुग्नुपर्ने बाध्यता छ ।

उपकरण छन्, चिकित्सक छैनन्

स्वास्थ्य मन्त्रालय र विभागले यहाँ दरबन्दीअनुसार स्वास्थ्यकर्मी पठाएका छैनन् । लामो समयदेखि प्रसूति सेवा नै ठप्प हुँदा पनि सम्बन्धित निकाय मौन छ । स्वास्थ्यकर्मी नपठाएपछि सञ्चालक समिति समस्यामा परेको छ ।

दैनिक सयौं बिरामी उपचारका लागि आउँछन् तर अस्पताल नै बिरामी जस्तो छ । पटक–पटक औषधि तथा जनशक्ति माग गर्दासमेत चिकित्सक र अन्य कर्मचारी आएका छैनन् । समस्या सुनुवाइ नभएपछि अस्पताल सञ्चालक समिति अध्यक्षसहितको टोली स्वास्थ्य विभाग र मन्त्रालयमा गुनासो पोख्न काठमाडौं पुगेका छन् । स्थानीय तहका प्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी सबैलाई अस्पतालको अवस्थाका बारेमा जानकारी गराएर र सुझाव संकलन गरेर जनशक्ति माग गर्न काठमाडौं पुगेको अस्पताल विकास समिति अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताए । ‘दरबन्दी भएर पनि परासीजस्तो सुगम स्थानमा सरकारले चिकित्सक पठाउन नसक्नु दु:खद हो, ’उनले भने, ‘सेवाका लागि सरकारले चिकित्सक नपठाए हामी आफैं स्थानीय स्रोतमा भए पनि चिकित्सक राखेर सेवा सञ्चालन गर्ने सोचमा पुगेका छौं । ’

यसको शल्यक्रिया कक्ष आधुनिक र उपकरण सम्पन्न छ तर आधुनिक उपकरण प्रयोगमा नआउँदा खिया लाग्ने र बिग्रने अवस्थामा पुगेका छन् । शल्यक्रिया सेवा सञ्चालन गर्न पनि चिकित्सक र कर्मचारी छैनन् । सेवा रोकिएपछि लाखाैं पर्ने उपकरण थन्किएका छन् । सेवाग्राही महँगो रकम तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गराउन बाध्य छन् । भिडियो एक्सरे सेवासमेत ठप्प छ । रेडियोलोजिस्ट नहुँदा एक्सरेसमेत रोकिएपछि सेवाग्राही अस्पताल आउन छाडेका छन् ।

जिल्लाको सबैभन्दा पुरानो र ठूलो अस्पताल हो यो । ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । बाल तथा स्त्री, सर्जन, हाडजोर्नी, मानसिक रोगका विशेषज्ञ चिकित्सक हुनुपर्नेमा हो । यहाँ एकजना विशेषज्ञ चिकित्सक छैनन् । अप्रेसनसहितको सुविधा हुने गरी अस्पताललाई ५० शय्या स्तरोन्नति गरिएको हो । ५३ जनाको दरबन्दी रहेको अस्पतालमा १९ कर्मचारी मात्र छन् ।

अघिल्लो वर्षसम्म दिनमा २ सय जनासम्मले सेवा लिँदै आएका थिए । चिकित्सक र स्वास्थ्यकर्मी अभावमा हाल मुस्किलले दिनमा ५० बिरामी पुग्छन् । स्थानीय देवकुमार मिश्रका अनुसार सुविधा सम्पन्न भवन, पर्याप्त आधुनिक उपकरण हुँदा पनि चिकित्सक अभावमा सामान्य शल्यक्रियादेखि प्रसूति सेवा ठप्प हुनु लापरबाही हो ।

जिल्ला अस्पताल ‘बिरामी’ परेपछि सर्वसाधारण वरपरका निजी स्वास्थ्य संस्थामा उपचार गराउन जाने गरेका छन् । आर्थिकरूपमा सम्पन्न व्यक्ति सुविधा सम्पन्न निजी अस्पतालमा खोजेर उपचारका लागि जाने गर्दछन् । विपन्न समुदायका बिरामीलाई समस्या छ । उपकरण र भौतिक संरचना हुँदाहँुदै पनि सेवा लिन नपाउनु विडम्बना भएको सुस्ता गाउँपालिकाकी चाँदनी हरिजनले बताइन् ।

प्रकाशित : वैशाख १३, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?