२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पर्यटकको आकर्षण बढाउन पार्क र भ्यू टावर

गोरखा — भूकम्पपछि चर्चामा आएको बारपाक र लाप्राक गाउँमा पर्यटकको गन्तव्यस्थल बनाउन गाउँपालिकाले पूर्वाधार विकासलाई जोड दिएको छ ।

पर्यटकको आकर्षण बढाउन पार्क र भ्यू टावर

बारपाक–सुलिकोट गाउँपालिका अन्तर्गत पर्ने बारपाकमा भ्यू टावर र धार्चे गाउँपालिकामा पर्ने लाप्राकमा इमान आरोही पार्कको निर्माण प्रक्रिया सुरु गरिएको छ । भूकम्प गएको तीन वर्ष लागेको दिन बुधबार दुवै ठाउँमा बन्ने पार्क र भ्यू टावरको जलस्रोत उर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुनले शिलन्यास गरे ।


लाप्राक स्थायी घर भएर मनाङको कङ्गाराे हिमाल आरोहणका क्रममा ज्यान गुमाएका इमान गुरुङको स्मृतिमा लाप्राकमा पार्क निर्माण गर्न लागिएको हो । चालु वर्ष पार्क निर्माणका लागि १० लाख रुपैयाँ छुट्टाइएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । लाप्राकको भमेगाङ भन्ने स्थानमा बन्न लागेको पार्क निर्माणका लागि ५० लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।


‘क्रमागत योजना अन्तर्गत काम गर्ने योजना बनाएका छौँ, लागत अझै बढ्न पनि सक्छ ’ गुरुङले भने, ‘ पार्क भित्र इमान गुरुङको शालिक हुन्छ, इमानसँगै ज्यान गुमाएका ८ जना आरोहिको नाम लेख्छौँ, त्यसको वरपर बगैँचा लगायतका संरचना तयार पार्ने योजना छ ।’ पार्कसँगै कृत्रिम ‘क्लाइम वाल’ बनाउने योजना गाउँपालिकाले बनाएको छ । प्रदेश स्तरकै क्लाइम वाल निर्माण गर्ने उनले दावी गरे । १० रोपनी क्षेत्रफलमा निर्माण हुने पार्क निर्माणसँगै पर्यटकहरुको संख्यामा वृद्घि हुने विश्वास लिइएको छ ।


गाउँपालिकाले बुधबार नै ‘इपिसेन्टर पर्यटन पदमार्ग’को पनि घोषणा गरेको छ । चार दिनको पैदल यात्रापछि बारपाक, लाप्राक, गुम्दा, माछाखोला हुँदै आरुघाटसम्म पुग्न सकिने पदमार्गको घोषणा गरेको हो । ‘अब पदमार्गको प्रचारलाई तीव्रता दिन्छौँ,’ गुरुङले भने, ‘पूर्वाधार तयार पार्दै ब्रोसर र डकुमेन्ट्रि बनाएर यूट्युबमा राख्छौँ ।’ पर्यटकीय सम्भावनालाई उजागर गर्न ‘धार्चे पर्यटन विकास समिति’ गठन गर्न लागिएको गुरुङले बताए ।


गुरुङले भने, ‘समिति गठनसँगै यसै वर्ष स्थानीय परिकार र संस्कृतिको प्रचारलाई तीव्रता दिन्छौँ ।’ चालु वर्ष गाउँपालिकामा पाइने स्थानीय खानाको परिकारको पहिचान गरेर मूल्यमा एकरुपता ल्याउने गुरुङले बताए ।


लाप्राकको गुब्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नमुना वस्ती निर्माण गरिरहेको छ । नमुना वस्तीमा स्थानीयहरु अघि सरे कम्युनिटी होमस्टे बनाउने योजना गाउँपालिकाले अघि सारेको छ ।


बारपाकको कोटडाँडामा झण्डै एक करोड खर्चिएर भ्यू टावर निर्माण गर्न लागिएको छ । भ्यू टावर निर्माणका लागि चालु आर्थिक वर्ष ३० लाख बजेट छुट्टाइएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए । ‘पर्यटकको आकर्षण बढाउन टावर निर्माण गर्न लागेका हौँ,’ उनले भने, ‘ अहिले डिजाइन स्टमेट तयार हुँदैछ ।’


चार स्टेपको भ्यू टावरको निर्माण तीनवर्ष भित्र सक्ने लक्ष्य राखिएको छ । ‘बारपाक लगायतका अन्य ठाउँको दृश्यावलोकन गर्न सकिन्छ, भ्यू टावर नजिकै चिया पसलहरु लगायतका संरचना निर्माण हुनेछन्, ’ उनले भने । बारपाक मित्रता समाजले उपलब्ध गराएको ३५ फिट लम्बाइको नेपालको झण्डा बारपाकमा राखिएको छ ।

प्रकाशित : वैशाख १३, २०७५ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?