कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आत्मनिर्भरताका लागि अल्प र दीर्घकालीन योजना

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिकाले आत्मनिर्भर नगर बनाउन तात्कालिक र दीर्घकालीन योजना अघि सार्ने भएको छ । योजना छनोट र आन्तरिक स्रोत वृद्धिका लागि जनप्रतिनिधिको तीन दिनसम्म भएको बैठकले यस्तो निर्णय गरेको हो । पाँच वर्षमा पूरा हुने र १५ वर्षमा पूरा गर्न सकिने गरी दुई प्रकारका योजनालाई प्राथमिकता दिने निर्णय भएको हो ।

आत्मनिर्भरताका लागि अल्प र दीर्घकालीन योजना

आन्तरिक स्रोत बढाउन नगरपालिकाले करका दायरा फराकिलो बनाउने योजना ल्याउने भएको छ । दीर्घकालीन र तात्कालिक योजनामार्फत समृद्ध नगर बनाउन नगरपालिकाले योजनाको प्राथमिकीकरण पनि गरेको छ । आगामी वर्षका लागि १ अर्ब ५६ करोड रुपैयाँको बजेट बनाउने तयारी गरेको नगरपालिकाले दीर्घकालीन योजनामार्फत कम्तीमा १५ वर्षमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको हो ।

स्वच्छ, हराभरा र समृद्ध नगरको परिकल्पना गरेका जनप्रतिनिधिले पाँच वर्षे तत्कालीन योजना र १५ वर्षे दीर्घकालीन योजना अगाडि सारेका हुन् । नगर कार्यपालिकाका पदाधिकारीले तीन दिनसम्मको कार्यशालाबाट सुशासनको प्रत्याभूति दिने विकासे योजना अगाडि सार्ने निर्णय गरेको नगर प्रमुख जनक पौडेलले बताए ।

पहिलो चरणमा नगरवासीलाई पारदर्शी र चुस्त सेवा दिने, ट्रयाक खुलेका सडकलाई स्तरोन्नति गर्ने र कृषिको व्यावसायिकीकरण तथा पशुपालनलाई जोड दिइएको छ । मध्यम खालका योजनामा हरेक वडामा पुग्ने मुख्य सडकको कालोपत्रे गर्ने, बहुदेश्यीय कर्भड हल निर्माण, कृषि उत्पादनमा आत्मनिर्भर हुने योजनालाई लिइएको उनले बताए । उनले भने, ‘दीर्घकालीन रूपमा हरेक वडा तहमै नि:शुल्क स्वास्थ्य सेवा पाउने, सबै सडकको कालोपत्रे भइसक्ने र वैदेशिक रोजगारीमा जाने युवा गाउँ फर्केर आत्मनिर्भर बन्नेलगायतका योजना बनेको छ ।’ नगरको खाँचो टार्न ल्याइने योजनाका लागि आन्तरिक स्रोत पनि बढाउनुपर्ने देखिएको उनले बताए ।

‘अब हामीले खादा र मालामा भुल्ने संस्कृति अन्त्य गरेर जनतालाई दिएका वाचा पूरा गराउने लक्ष्यमा हिँडेका छौं,’ उपप्रमुख सुरेन्द्र खडकाले भने, ‘अझै जनप्रतिनिधि र कर्मचारीको भावनामा एकरूपता आउन सकेको छैन । अब जनताको सेवामा सबैको समान चासो र चिन्तन बढ्नुपर्छ ।’

एकजनाले काममा अवरोध गर्दा नगरपालिकाको सिंगो योजना असफल हुन सक्ने उनले चिन्ता व्यक्त गरे । ‘जिल्लाको सदरमुकाम पनि भएकाले अरू स्थानीय तहका तुलनामा उदाहरणीय योजना छनोट र कार्यान्वयनको जिम्मेवारी छ,’ उनले भने, ‘हामीले तत्काल गर्नुपर्ने, गर्न सकिने र समय लाग्ने योजना प्राथमिकीकरण गर्दैछौं ।’ नगरको पहिचान झल्कने कृषि तथा घरेलु उत्पादन बनाउने, स्थानीय उत्पादनका कपडालाई प्राथमिकता दिने, राजस्वका आधार बढाएर ५ वर्षभित्र आत्मनिर्भर बन्ने लक्ष्यसमेत छ ।

‘केन्द्रीय अनुदान आइरहन्छ भन्ने छैन, त्यसैले हरेक क्षेत्रमा करको दायरा बढाएर खर्चको भार थेग्ने योजना बुन्दैछौं,’ ४ नम्बरका वडाध्यक्ष धु्रव केसीले भने, ‘उद्योगहरूको दर्ता र नियमन तथा व्यावसायिक कामको कर उठाएर धेरै कमाइ गर्न सकिन्छ ।’ कृषिको आधुनिकीकरण भएमा धेरै युवा रोजगारीका लागि गाउँमै फर्कने उनले बताए । पूर्वाधार निर्माणको चरण केही वर्षमा सकिएर सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा मात्र लगानी बढाउने अवसर आउने विषयमा बृहत् छलफल भएको जानकारी उनले दिए ।

नगरपालिकाले वर्तमान अवस्थाको तथ्यांक तथा वस्तुगत अवस्था पहिचानसहित लक्ष्यसमेत निर्धारण गरेको नगर प्रमुख पौडेलले बताए । ‘हामीले आफ्नो धरातलको पहिचान गरेर अब कहाँ पुग्ने भन्ने लक्ष राखेको छ,’ उनले भने, ‘खुलेका ट्रयाक र जनप्रतिनिधिको टिम स्पिरिट हाम्रो कोशेढुंगा भएको छ ।’ सामुदायिक शिक्षालाई चुस्त बनाएर गुणात्मक विकासमा काम थालिसकिएको उनले बताए । विकास बजेटको प्रयोग गरेर अब शिक्षक र अन्य कुनै पनि दरबन्दी सञ्चालन गर्न नपाउने नीति बनाइसकेको उनले बताए ।

नगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गरिसकेको छ भने कवाडी, सार्वजनिक जग्गाको प्रयोग गरेबापत तथा मनोरञ्जन कर लगाउने तयारीसमेत गरेको छ । करोडौंको कारोबार गर्ने कतिपय उद्योग दर्ता प्रक्रियामै नआएको भेटेपछि नगरपालिकाले नियमन गर्दै राजस्व बढाउने योजना बनाएको हो । यसरी बढाएको दायराबाट तत्कालै कम्तीमा २ करोड रुपैयाँ राजस्व वृद्धि गर्न सकिने नगर प्रमुख पौडेलले बताए ।

प्रकाशित : वैशाख १९, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?