१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आँगन भत्काउँदै सडक खन्दै

पर्वत — मोदी ६ को डिमुवा–गिज्यान–गाडतारा ११ किलोमिटर सडक साँघुरो हुँदाको समस्या भोगेका गिज्यानवासी यतिबेला खुसी छन् । गाउँपालिकाले सडक विस्तार गर्ने योजना अघि बढाएपछि खुसी भएका हुन् ।

आँगन भत्काउँदै सडक खन्दै

यसका लागि गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।गिज्यानवासी आफैं सडक विस्तार हुनुपर्छ भन्दै आफ्ना आँगन पनि भत्काइरहेका छन् । ‘पहिले सबैलाई सडक भनेपछि भैगो, एउटा जिप पनि नछिर्ने सडक खनेर पैसा सके,’ स्थानीय धनकुमारी श्रेष्ठले भनिन्, ‘पछि त्यही सडकले समस्या ल्यायो । गाडी नछिर्ने बाटोको काम भएन ।’ गाउँपालिकाले बजेट छुट्याएपछि धनकुमारीसहित दर्जनौं परिवारले धमाधम आँगन भत्काइरहेका छन् । २०६० सालमा तत्कालीन गाविसको बजेटले खनेको सडकको चौडाइ ३ मिटर मात्रै थियो । सडक साँघुरो र भिरालो भएकाले जिपसमेत चलेका थिएनन् । ‘बिरामी पर्दा डोकोमा बोक्नुको विकल्प छैन,’ स्थानीय विष्णुप्रसाद श्रेष्ठले भने, ‘अब गाडी आउने खुसीले कसैले आँगन र पिंढीको डिल नभनी भत्काउन कस्सिएका छन् ।’ घरै अगाडि सडक भए पनि गाडी नचल्दाको समस्या भोगेका स्थानीयले स्वस्फूर्त आँगन भत्काएर सडक विस्तारमा सहयोग गरेका हुन् ।

‘दैलामै गाडी आउने भएपछि आँगनको खाँचो भएन, ‘धनकुमारीले भनिन्, ‘हामीलाई आँगनको भन्दा गाडीको खाँचो छ ।’ स्थानीयले आँगन भत्काउने मात्रै नभएर सडक फराकिलो पार्न आवश्यक पर्ने अन्य जग्गासमेत दान गरेका छन् । गाउँपालिकाको योजना अनुसारको सडक फराकिलो पार्न बजेट अपुग हुने भएपछि स्थानीयलाई श्रमदान गर्न आग्रह गरिएको मोदी ६ का वडाध्यक्ष एवं भौतिक पूर्वाधार समितिका प्रमुख विमल लामिछानेले बताए । ‘अहिलेसम्म ८ लाख रुपैयाँ बराबरको काम भइसकेको छ,’ उनले भने, ‘दुईतर्फ नाली, खोल्साखाल्सीमा कल्भर्ट, ग्राभेल सबैमा बजेट पुग्दैन ।

स्थानीयको उत्साहपछि गाउँपालिका बजेट थप्ने योजनामा छ ।’ डिमुवाबाट ठाना हँुदै गिज्यान जोड्ने सडकमा स्थानीयले श्रमदान गर्न थालेको करिब एक महिना पुग्यो । ‘गाउँपालिकाले दिएको २४ लाख रुपैयाँले सबै बाटो बन्दैन,’ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रजंग लामिछानेले भने, ‘त्यो यहाँका सबैले बुझेका छन् । त्यसैले डोजर साथसाथै श्रमदानमा जुटेका छन् ।’ सडक स्तरोन्नति भएपछि गाउँसम्मै मालवाहक ट्रक, बससमेत सहज आउजाउ हुने उनले बताए । भिरालो र ग्रेड नमिलेको सडक स्तरोन्नति गरेर ७ मिटर फराकिलो बनाउन लागिएको हो ।

मोदीको गिज्यान, ठाना र देउरालीलगायतका गाउँ तरकारी पशुपालन र सुन्तला जात फलफूलका लागि उर्वर छन् । यहाँका धेरैजसो किसानले उन्नत गाई–भैंसी, बाख्रा, कुखुरा पाल्छन् । त्यसका अतिरिक्त घरघरै सुन्तलाका बगान छन् । सडक फराकिलो भएपछि आवातजावत मात्रै नभएर कृषिउपज र पशुजन्य उत्पादनलाई बजारसम्म जोड्न पनि सहज भएको अगुवा कृषक रामबहादुर नेपालीले बताए । ‘डेढ घण्टाको बाटो डोकोमा तरकारी बोकेर पातीचौर झर्नुपथ्र्यो,’ उनले भने, ‘अब थाप्लालाई हाइसन्चो हुने आस छ ।’ नाम मात्रैको सडक हुँदाको सास्ती अब कम हुने स्थानीयको विश्वास छ ।

स्थानीय कृषि सहकारी सञ्चालक एकवीर श्रेष्ठले सडक फराकिलो भएपछि आर्थिक र कृषिजन्य पूर्वाधारमा समेत सहयोग पुग्ने बताए । गिज्यानका तीनवटा सहकारी महिला समूहले गरेका सामूहिक तरकारी खेतीले पनि अब सहज बजार पाउने विश्वासमा स्थानीय छन् । सहज ढुवानी गर्न सडककै कारण समस्या हुने भन्दै श्रेष्ठले आगामी दिनमा आर्थिक समृद्धिमा सडकले मद्धत गर्ने बताए ।

प्रकाशित : वैशाख २०, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?