कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

वैकल्पिक पदमार्ग प्रभावकारी भएन

घनश्याम खडका

तातोपानी (म्याग्दी) — पुराना गोरेटो विस्तारित सडकमा गाडी आउजाउ गर्न थाले । कतै सडक स्तरोन्नतिले धूलो धूँवा बढेर पदयात्रीलाई सास्ती दिने हुँदै आयो । यसको विकल्पमा पदयात्रीका लागि प्रस्ताव गरिएको तातोपानी–मार्फा–जोमसोम–मुक्तिनाथ पदमार्ग अझै प्रभावकारी बन्न सकेको छैन ।

वैकल्पिक पदमार्ग प्रभावकारी भएन

सडक निर्माणपछि राउन्ड अन्नपूर्ण र मुस्ताङ पदमार्गमा पुग्ने पर्यटक घटेको भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बेनी–जोमसोम–मुक्तिनाथ सडक रहेको कालीगण्डकी नदीको पूर्वी किनारका बस्ती हुँदै वैकल्पिक पदमार्ग प्रस्ताव गरेको थियो । तर, यो नयाँ रुट प्रभावकारी बन्न सकेको छैन ।

‘अन्नपूर्ण ट्रेकिङ रुटलाई मोटरबाटोले असर गरेपछि थोरङ्लामुनिको मुक्तिनाथदेखि म्याग्दीको तातोपानीसम्म अल्टरनेट रुट प्रस्ताव गरिएको थियो, यो रुट चल्तीमा आइदिएन,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण समितिका सदस्य तथा व्यवसायी तेजबहादुर गुरुङले भने, ‘पारिपारि गाडी गुडेको देखेपछि टुरिस्टको इच्छाले भन्दा गाइडहरू नै अल्टरनेट रुटमा हिँड्न अल्छी मान्छन् ।’

गाइडहरूले नै नयाँ रुट प्रवद्र्धनमा चासो नदिनु पनि पर्यटक नआउने कारण रहेको उनको भनाइ छ । नयाँ रुट प्रस्ताव गरिएपछि पर्यटकका लागि उपयुक्त पूर्वाधार पनि थपिनुपर्छ । त्यसमा सम्बद्ध व्यवसायीको जोडबल पुगेको छैन ।

विश्वविख्यात अन्नपूर्ण फन्को लगाउन आउने पदयात्रीको आगमन दरमा मोटरबाटो निर्माणले असर पारेको छ । राउण्ड अन्नपूर्णको १६ दिने यात्रा अवधि घटेर ६ दिनमा झरेको छ । राउण्ड अन्नपूर्णको पदमार्गमा पर्यटकको आकर्षण जोगाउन र बसाइँ अवधि लम्बाउन एक्यापले मुस्ताङको मुक्तिनाथबाट तल लुब्रा, पाण्डाखोला, जोमसोम, ठिनी, धुम्बाताल, स्याङ, मार्फा, छैरो, चिमाङ, चोखोपानी, सौरू, टिटी, कुञ्जो, छयो र झिप्रा हुँदै घाँसा झर्ने पदमार्ग प्रस्ताव गरेको छ ।

यो मार्ग परम्परागतभन्दा पृथक पनि छ । त्यसैगरी एक्यापले घाँसाबाट पैह्रोथाप्लो, कोप्चेपानी, गाडपार र नारच्याङ हुँदै अन्धगल्छीको तातोपानी र घारखोलाबाट घारको हल्लेखर्क र खिबाङ हुँदै पुनहिल घोडेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण गर्न सुरु गरेको छ । उक्त वैकल्पिक पदमार्गको निर्माण र प्रचार थालेको सात वर्ष पुगेको छ । अपेक्षाकृत संख्यामा नयाँ पदमार्गमा पर्यटकको चलहपहल हुन सकेको छैन ।

एक्यापले तीन वर्षअघिदेखि निर्माण सुरु गरेको मुस्ताङको झिप्रा, देउराली र पैह्रोथाप्लासम्मको १ सय ३० मिटर पहरामा बाटो निर्माण पुरा गर्न सकेको छैन । यो भीरको बाटो पूरा भए वैकल्पिक पदमार्ग पूरा हुन्छ । वैकल्पिक पदमार्गमा अहिले फाट्टफुट्ट पर्यटक हिँड्न थालेका पनि छन् । नयाँ पदमार्गमा पर्ने ग्रामीण बस्तीहरूमा पर्यटकका लागि खाना, खाजा र बासलगायत पूर्वाधार तयार पार्न स्थानीयलाई प्रोत्साहन गर्नुपर्ने देखिएको छ । नयाँ रुटमा पर्यटक रिझाउने व्यवसायमा लगानी गर्न अगाडि सर्नेहरू निकै कम छन् ।

अन्नपूर्ण र धौलागिरि राउन्डबाट फर्कने तथा मुस्ताङ जिल्ला प्रवेश गर्ने एक मात्र स्थलमार्ग पोखरेबगर, तातोपानी, जोमसोम र मुक्तिनाथ ट्रयाकलाई सडकले प्रदूषित गरेकाले पर्यटक घटेको यस क्षेत्रका व्यवसायीको ठम्याइ छ । सडक निर्माणसँगै पर्यटक घटेको विवादले मुस्ताङ, म्याग्दीको शिख, कास्कीको घान्द्रुक र सिक्लेसलगायतका ठाउँमा पनि पुराना व्यवसायीलाई पिरोलेको छ ।

सडक निर्माणसँगै अन्धगल्छीलगायतका अप्ठ्यारा भीरका बाटाहरू पदयात्रीका लागि झन् असजिलो भएका छन् । पदमार्ग एउटै हुँदा सडकमा गाडीले उडाएको धूलोले पदयात्रीलाई सास्ती हुने गरेको छ ।

प्रकाशित : वैशाख २०, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?