१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शैक्षिक गुणस्तर सुधार्न प्रज्ञार्थी शिक्षक

आश गुरुङ

लमजुङ — शैक्षिक सुधार अभियान सञ्चालन गरेको मस्र्याङ्दी गाउँपालिकाले स्कुलमा प्रज्ञार्थी शिक्षक (फेलो) खटाएका छन् ।पहिलो चरणमा गाउँपालिकाभित्रका माध्यामिक तहको पठनपाठनमा सुधार ल्याउन प्रज्ञार्थी शिक्षक पठाएको हो ।

शैक्षिक गुणस्तर सुधार्न प्रज्ञार्थी शिक्षक

गाउँपालिकाभित्रका ९ वडामा ८ मावि छन् । वडा नं. १ मा मात्रै मावि छैन । ८ वडामा रहेका माविमा टिच फर नेपाल (टीएफएन) को सहकार्यमा शिक्षा सुधार अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार टीएफएनले ८ माविमा २/२ जना
प्रज्ञार्थी शिक्षक (फेलो) पठाएको छ । अंग्रेजी, गणित र विज्ञान विषयका तालिमप्राप्त १६ शिक्षक विद्यालयमा पुगेर पठनपाठन थालिसकेको उनले बताए ।

‘हामीले टीएफएनसंग ५ वर्षे सम्झौता गरेका छौं । २/२ वर्षमा शिक्षक परिवर्तन हुन्छ । खटिएका प्रज्ञार्थी शिक्षक केही महिला छन्,’ उनले भने, ‘कम्तीमा स्नातक गरेका शिक्षक भएकाले शैक्षिक गुणस्तर सुध्रिने अपेक्षा लिएका छौं ।’

गाउँपालिकाभित्रका विद्यालयको शैक्षिक गुणस्तर कमजोर पाइएकाले सहयोगी संस्थाको सहयोगमा शैक्षिक गुणस्तर सुधारमा अघि बढेको उनले बताए ।


फेलो शिक्षकले गाउँपालिका र स्कुल मिलेर ५० प्रतिशत र टिच फर नेपालबाट ५० प्रतिशत रकम पाउनेछन् । गाउँपालिका र सम्बन्धित स्कुल मिलेर मासिक १७ हजार रुपैयाँ दिने सम्झौता गरिएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार १७ हजार रुपैयाँमा गाउँपालिकाले ६० प्रतिशत र स्कुलले ४० प्रतिशत व्यहोर्नेछन् । टीएफएनले १ जना नेतृत्व विकास व्यवस्थापक राखेका छन् ।

संस्थाका प्रशासन तथा लजिस्टिक प्रमुख लोचन पौडेलका अनुसार विद्यालय तहको शिक्षामा देखिएको शैक्षिक असमानता हटाउने ध्येय टिच फर नेपालको हो । ‘निजी र सामुदायिक विद्यालयबीच मात्र नभएर ग्रामीण र सहरी क्षेत्रका विद्यालयमा समेत शैक्षिक असमानता बढ्दो छ । हामी यस्तो असामनता हटाउन चाहन्छौं,’ उनले भने ।

उनका अनुसार दुर्गम जिल्लाका विकट ठाउँमा रहेका विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिँदै आएको छ । शिक्षक अभाव, एसईईमा कमजोर नतिजा ल्याएका विद्यालयलाई प्राथामिकतामा राखेर सहयोग गर्दै आएको छ ।

शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यताले ५ वर्षअघि ३३ युवा प्रज्ञार्थी शिक्षक (फेलो) बाट अध्यापन गराउने कार्य सुरु गरिएको संस्थाले यस वर्ष ७० जनालाई छनोट गरेको थियो । ०७० वैशाखबाट ललितपुरका विद्यालयमा सुरु गरिएको उक्त अभियान सिन्धुपाल्चोक र धनुषाका ३२ विद्यालयमा पुर्‍याइएको थियो । यस वर्ष लमजुङ, दाङ र पर्साका ५१ विद्यालयमा अभियान सञ्चालन भइरहेको उनले बताए । ३३ प्रज्ञार्थी शिक्षकबाट सुरु भएको अभियानमार्फत अहिले १ सय ११ युवा फेलो शिक्षक अध्यापनरत रहेको उनले बताए ।

‘शिक्षाको अवस्था सन्तोषजनक नभएका ग्रामीण भेगका विद्यालयमा हामीले शिक्षक सहयोग गर्दै आएका छौं । सहयोग गरिएका विद्यालयमा पारेको प्रभावबारे अनुगमन पनि गर्दै आएका छौं,’ उनले भने ।गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले शैक्षिक सुधारका लागि २५ बुँदे घोषणापत्र तयार गरेर कार्यान्वयन सुरु गरिएको बताए ।

यसरी हुन्छ छनोट
प्रज्ञार्थी शिक्षक (फेलो) का लागि टिच फर नेपालले जुनको अन्तिम तथा जुलाईको पहिलो साता आवेदन माग्ने गर्छ । नोभेम्बरदेखि डिसेम्बरसम्म विभिन्न चरण गरी प्रज्ञार्थी शिक्षक छनोट गरिन्छ । गणित, विज्ञान र अंग्रेजीमा कम्तीमा स्नातक पास गरेका युवाले आवेदन दिन सक्छन् । आवेदन दिएका युवामध्ये उत्कृष्टलाई फेलो शिक्षकको रूपमा छनोट गरिन्छ । छनोट भइसकेका युवालाई प्रज्ञार्थी शिक्षक बन्न विभिन्न तालिम तथा अभिमुखीकरण गर्ने गरिन्छ ।

संस्थाका प्रशासन प्रमुख पौडेलका अनुसार यस वर्ष ७० जना छनोट गरिएकोमा १ हजार ३ सय २१ जनाले आवेदन दिएका थिए । ‘प्रज्ञार्थी शिक्षक बन्न कति लालायित हुन्छन् भन्ने कुरा आवेदनबाटै थाहा हुन्छ,’ उनले भने ।

प्रकाशित : वैशाख २०, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?