इन्जिनियरिङ र कृषि प्रविधिमा आकर्षण

सन्तानलाई महँगो खर्च हालेर सहर पठाउन नपर्ने भएपछि प्राविधिक विषय अध्यापन गराउने विद्यालयमा भर्ना गराउन अभिभावकको जोड
घनश्याम खड्का

म्याग्दी — भर्ना अभियान जारी रहँदा सामुदायिक विद्यालयलाई चाप परिरहेको छ । त्यसमा पनि यहाँका इन्जिनियरिङ र कृषि प्राविधिक विषय अध्यापन गराउने विद्यालयलाई परेको चाप छुट्टै छ ।  

इन्जिनियरिङ तथा कृषि प्राविधिक विषय पढाउन गाउँकै सामुदायिक विद्यालयमा सम्भव भएपछि अभिभावकको ध्यान यता छ । सन्तानलाई महँगो खर्च हालेर सहर पठाउन नपर्ने भएपछि प्राविधिक विषय अध्यापन गराउने विद्यालयमा भर्ना गराउन रुची बढेको हो । विद्यालयले सीमित संख्यामा मात्रै भर्ना लिने भएपछि यतिबेला अभिभावक भनसुनका लागि दौडधुप गरिरहेका छन् ।

घरदैलो छेउका सामुदायिक विद्यालयमै सिभिल इन्जिनियरिङ तथा कृषि प्राविधिक विषयको पढाइ हुन थालेपछि विपन्न परिवार र छात्राको आकर्षण बढेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रमअन्तर्गत माध्यमिक तहदेखि नै प्राविधिक शिक्षा पढाउने सरकारी नीतिअन्तर्गत बेनी नगरपालिका ९ तोरीपानीको गलेश्वर उच्च माविले ९ कक्षादेखि सिभिल इन्जिनियरिङ पढाउँदै आएको छ ।

‘प्राविधिक शिक्षाको रहर हुँदाहुँदै आर्थिक अभावले उच्च शिक्षामा पढाउन सकिँदैन भन्ने लाग्ने परिवारका बालबालिकालाई विद्यालय तहबाटै प्राविधिक शिक्षाको व्यवस्थाले लाभ भएको छ,’ गलेश्वर माविका प्रधानाध्यापक रामप्रसाद सुवेदीले भने, ‘प्राविधिक शिक्षा प्राप्त विद्यार्थीले औपचारिक रोजगारी नपाए पनि बेरोजगार बन्नु पर्दैन ।’ विद्यालय तहमा प्राविधिक विषय पढेका विद्यार्थीलाई उच्च शिक्षामा पनि सजिलो हुने उनले बताए ।

गलेश्वर माविमा गत वर्ष सात छात्रासहित २३ विद्यार्थी सिभिल इन्जिनियरिङ विषयमा भर्ना भएका थिए । यो वर्ष दुई दर्जनले प्रवेश परीक्षामा सम्मिलित हुन फारम भरेका छन् । विद्यालयले कोटा पुर्‍याउनेभन्दा आधारभूत प्रवेश परीक्षा उत्तीर्णलाई मात्र भर्ना गर्ने गरेको जनाएको छ ।

‘पातलो बस्ती भएको दुर्गम गाउँमा २२/२५ विद्यार्थी भर्ना हुन आउनु उत्साहजनक मान्नुपर्छ,’ प्रधानाध्यापक सुवेदीले भने, ‘यहाँ प्राविधिक विषय पढ्न बाहिरका बालबालिका पनि आइरहेका छन् ।’ कक्षामा विद्यार्थी संख्या धेरै बनाउनुभन्दा सीमित संख्याका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइने उनले बताए ।

यस्तै पश्चिम मालिका गाउँपालिका ४ विमस्थित किसानी आधारभूत विद्यालयले कृषि प्राविधिक (जेटीए) विषय पढाउने गरेको छ । प्राविधिक शिक्षा तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालित सिभिल इन्जिनियरिङ तथा कृषि प्राविधिक दुवै विषय अध्यापन पूर्ण नि:शुल्क हो ।

माध्यमिक तहमा सुरु गरिएको कृषि प्राविधिक र सिभिल इन्जिनियरिङ दुवैका पाठ्यक्रम चार वर्षे छन् । विद्यार्थीले साबिक सय पूर्णांकका नेपाली, अंग्रेजी, गणित र विज्ञानबाहेक थप ६ सय पूर्णांकको पाठ्यक्रमसहित हजार पूर्णांकको पढ्नुपर्छ ।
‘मेलापात र गाईगोठ स्याहार्दै विद्यालय शिक्षा लिइरहेका विद्यार्थीका लागि गाउँमै प्राविधिक शिक्षा पाउने ठूलो अवसर हो,’ किसानी माविका प्रध्यानाध्यापक जंगबहादुर गर्बुजाले भने, ‘कृषि पेसामा युवा सहभागिता घटदै गएका बेला जेटीए बनाउने पढाइले ग्रामीण कृषि अर्थतन्त्रमा सहयोग पुर्‍याउँछ ।’ प्राविधिक शिक्षातर्फ विद्यार्थी आकर्षित गर्न शुल्क नलिई विभिन्न सहुलियतका प्याकेज दिएको उनले बताए ।

प्रकाशित : वैशाख २०, २०७५ २०:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

तीस वर्षदेखि सुन तस्करीमा थिए, भुजुङ गुरुङ

जनकराज सापकोटा

काठमाडौँ — तस्करीको ३३ केजी सुनमा लगानीकर्ताको हैसियतमा जोडिएका सबैभन्दा चल्तीको व्यक्ति हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ ।

उनले प्रहरीसँग बयानका क्रममा आफु तीस बर्षअघिदेखि संगठित सुन तस्करीमा संग्लन रहेको बताएका छन् । भुजुङले बयानका क्रममा आफुसँग आरके ज्वेलर्सका साहु राजेन्द्रमान शाक्य पनि संग्लन रहेको बताएका छन् ।

गुरुङको बयानको सम्पादित अंश :

२०४०/४५ सालतिर नै मैले थाई एयरमार्फत सुन ल्याएर काठमाडौंका सुन पसलमा बेच्ने काम गर्थे । २०६९ देखि म चुणामणि उप्रेतीसँग जोडिएँ । मोहन अग्रवाल, छिरिङ वाङ्गेललगायतका साथी मिलेर सुन तस्करीको योजना बनायौं । मैले गोपाल कुमार श्रेष्ठसँग सल्लाह गर्दा उनले प्लेनको ट्वाईलेटको फोहोर फाल्ने डस्टविनमा सुन लुकाउने र उक्त सुन थाई एअरवेजमा सरसफाईको काम गर्ने कर्मचारीमार्फत बाहिर निकाल्न सकिने र विमानको ग्यारेजमार्फत विमानस्थल बाहिर सुन निकाल्न सकिने योजना बन्यो ।

सुन तस्करी गर्ने क्रममा मोहनकुमार अग्रवाल र निजका तीन जना दाजुभाई, पवन अग्रवाल, दरबारमार्गका सुन पसले राजेन्द्र शाक्य पनि कारोवारमा संग्लन थिए ।

प्रकाशित : वैशाख २०, २०७५ १९:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्