२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मुग्लिन पुल निर्माणमा ढिलाइ

प्रकाश बराल

मुग्लिन (तनहुँ) — पृथ्वी राजमार्गको मुग्लिङ र तनहुँ जोडिने त्रिशूली नदिमाथि निर्माणाधीन ‘आर्क आरसीसी’ पुलको काम निर्धारित समयमा नसकिने भएको छ । भौगोलिक कठिनाइ, मुग्लिन–नारायणगढ सडकबाट सामग्री ढुवानीलगायतका समस्याले तोकिएको मितिभन्दा एक वर्ष ढिला हुने निर्माण कम्पनीले जनाएको छ ।

मुग्लिन पुल निर्माणमा ढिलाइ

हाल सञ्चालनमा रहेको पुरानो पुल जीर्ण भएपछि गत असोज मसान्तमा सम्पन्न हुने लक्ष्यका साथ नयाँ पुलको निर्माण थालिएको थियो । तोकिएको समयमा नसकेपछि गत फागुन मसान्तसम्ममा पूरा गर्ने ठेकेदार कम्पनीले दाबी गरेको थियो । ‘काम गर्दागर्दै ढिला भएको हो,’ ठेकेदार मोती शर्माले भने, ‘कहिले वर्षातको समस्या, कहिले कामदारको समस्याले ढिला भयो, काम छिटै सक्ने योजनामा छौं ।’ पानीको सतह कम छँदै ढलानको काम गर्ने योजना रहेको उनले बताए । निर्माणाधीन ‘आर्क’ को काम पूरा भएर ढलानका लागि तयारी भएको छ । ‘सबै काम सकेर सञ्चालनमा आउन ढिलोमा अझै एक वर्ष लाग्छ,’ उनले भने ।

निर्माणको जिम्मा लिएको एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले भौगोलिक कठिनाइ, मुग्लिन–नारायणगढतर्फको सडकबाट समयमा सामग्री ढुवानीमा समस्यालगायत कारण निर्माणमा ढिलाइ भएको जनाएको छ । डिजाइनअनुसार स्टिलको आर्क निर्माण गरेपछि त्यसमाथि ढलान गरिने भएकाले लामो समय पुल टिकाउ हुने दाबी निर्माण कम्पनीको छ । यसअघि पर्वत र बागलुङ जोड्ने मालढुंगाको कालीगण्डकी पुल पनि त्यस्तै प्रकारको बनेको थियो ।

मुग्लिनमा पानीको सतहदेखि सय मिटरभन्दा अग्लो र १ सय ६० मिटर लम्बाइको पुल बनेपछि हालको जीर्ण पुललाई विस्थापित गरिने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताए । ‘हलुका सवारीका लागि चले पनि गह्रौं सवारीका लागि जोखिम भएकाले त्यसको विकल्प र पृथ्वी राजमार्गको मेरुदण्ड बन्नेछ,’ उनले भने, ‘यो पुलले राष्ट्रिय राजमार्गको सुरक्षा चासोमा पनि कमी गराउनेछ ।’ वर्षातको समय, दसैं–तिहारलगायतका चाडपर्वमा सवारी आवागमनको चाप बढ्ने भएकाले मुग्लिन पुलमा राष्ट्रिय तहबाटै सुरक्षा चासो बढ्ने गरेको छ । लागत ११ करोड रुपैयाँ रहेको ‘आर्क आरसीसी’ बन्ने यो पुल ११ मिटर चौडा, १ सय ६० मिटर लम्बाइको हुनेछ । पुल सञ्चालनका लागि तनहुँ र चितवनतर्फको सडक अझै चौडा र मोड फराकिलो पार्नु पर्नेछ । दुवैतर्फ पैदल यात्री हिँड्ने फुटपाथ पनि बनाउने डिनाइनमा छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार मुग्लिनको पुल भएर दैनिक ३ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् ।

प्रकाशित : जेष्ठ १, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?