कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘धार्मिक पर्यटनमा कोशेढुंगा’

मोदी भ्रमणले मुक्तिनाथको प्रचार
दीपक परियार

मुस्ताङ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण धार्मिक पर्यटनमा कोशेढुंगा हुने सरोकाराबालाले बताएका छन् । अव मुक्तिनाथ पुग्ने भारतीयसहित बाह्य पर्यटक बढ्ने स्थानीयको विश्वास छ ।

‘धार्मिक पर्यटनमा कोशेढुंगा’

जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख छिरिङ ल्हामु मोदीको मुक्तिनाथ भ्रमण ऐतिहासिक महत्त्वको रहेको बताउँछिन् । ‘उहाँको भ्रमणले हामी उत्साहित छौं,’ उनले भनिन्, ‘यसले धार्मिक पर्यटनको प्रचारमा सहयोग पुर्‍याउने छ ।’ भ्रमणपछि मुस्ताङको विकास र समृद्धिमा भारतीय सहयोग बढ्ने अपेक्षा उनको छ । मोदीको भ्रमणले पर्यटन प्रवद्र्धनमा ठूलो महत्त्व राख्ने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचनले बताए । अन्तर्राष्ट्रिय जगतमा मुक्तिनाथ क्षेत्रको पहिचान अभिवृद्धि हुने उनको भनाइ छ ।

पर्यटन व्यवसायी एवं जनप्रिय युवा क्लब मुक्तिनाथका सचिव छिरिङ टासीले भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणलाई मुस्ताङवासीले अवसरका रूपमा लिएको बताए । ‘यो भ्रमणबाट मुक्तिनाथ क्षेत्रको पहिचान र महिमा थप उजागर भएको छ ।

मुक्तिनाथ क्षेत्रको रानीपौवाका होटल व्यवसायी सुरज गुरुङ मोदीको भ्रमणले विश्वव्यापी प्रचार भएकाले पर्यटक बढ्ने बताउँछन् । ‘मोदीको मुक्तिनाथ भ्रमणको जताततै चर्चा भएको छ,’ उनले भने, ‘यत्तिको प्रचारप्रसार गर्न हामीले करोडौं खर्चिनुपथ्र्यो ।’ मुक्तिनाथमा आन्तरिक पर्यटकपछि भारतीय तीर्थयात्री धेरै पुग्ने भएकाले उनीहरूमाझ प्रचार हुँदा पर्यटक बढ्ने उनको आशा छ । यद्यपि खानेपानी र स्वास्थ्यचौकीको अभावले पर्यटनलाई असर पुर्‍याइरहेको उनले बताए ।

तीन वर्षअघि भारतीय राजदूतावासको सहयोगमा १ लाख लिटर क्षमताका दुईवटा रिजभ्र्वायर टयांकी बने । ज्वालामाई मन्दिर र घोचुङ्गा मुहानबाट पाइपमार्फत टयांकीसम्म पानी पनि पुग्यो । तर टयांकीबाट घरघरसम्म पुर्‍याउने पाइपलाइन बिछयाउन सहयोग जुटेन । पर्यटकीय क्षेत्र भए पनि स्वास्थ्यचौकीको पनि अभाव भएको उनले बताए । ‘कति तीर्थयात्रीलाई लेक लाग्ने समस्या हुन्छ,’ उनले भने, ‘हेलिकप्टरबाट जोमसोम वा पोखरा पुर्‍याउनुबाहेकको विकल्प छैन, जुन निकै खर्चिलो छ ।’ गाउँमा हेल्थ केयर सेन्टर भए पनि बाह्रै महिना चल्दैन । आकस्मिक अवस्थाका कुनै रोगको उपचार हुँदैन ।

म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक विसं ०६२ मा खुल्यो । सडक खुले पनि बाटो त्यति सहज थिएन । मनाङबाट थोरङ्लापास हुँदै मुक्तिनाथ निस्कने पदयात्री मात्रै त्यतिखेरका पर्यटक थिए । विस्तारै आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुन थाल्यो । सन् १९९५ मा १५ हजार ३ सय ९४ विदेशी पर्यटक मुस्ताङ भित्रिए । मुक्तिनाथमा धार्मिक पर्यटक बढ्न थाले । हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल भएकाले पनि तीर्थयात्रीको संख्यामा वृद्धि हुँदै गयो । पछिल्ला वर्षमा भारतीय तीर्थयात्री बढेका हुन् । करिब ५० वर्षअघि मुक्तिनाथमा होटल थिएन । पुराङ गाउँ स्थानीयको बासस्थल थियो । फाट्टफुट्ट पर्यटक आउन थालेपछि स्थानीय रानीपौवामा सरे । मुक्तिनाथ क्षेत्रमा पहिलो होटल खोल्ने छिरिङ ठकुरी हुन् । उनले रानीपौवामा सामान्य चियापसल खोलेर बसेका थिए । एक दिन विदेशी आएर ‘नर्थ पोल’ नामकरण गरिदिए । हाल उनको नाति पुस्ताले नर्थ पोल होटल सञ्चालन गरिरहेका छन् । रानीपौवामा हाल १ सय ३० घरधुरी छन् । सामान्य र सुविधासम्पन्न गरी २५ होटल छन् । यी होटलले दैनिक १ हजार पर्यटक थेग्न सक्छन् ।

बारागुङ गाउँपालिकामा पर्ने मुक्तिनाथ मन्दिर समुन्द्र सतहदेखि ३ हजार ७ सय १० मिटरको उचाइमा छ । मन्दिरलाई हिन्दूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी) भन्दछन् । तिब्बती बौद्धमार्गीका २४ तान्त्रिक स्थानमध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरमध्ये पर्दछ । हिन्दूले चार धाम पुगे पनि मुक्तिनाथ नआई दर्शन पूरा नहुने धार्मिक मान्यता भएकाले पनि अधिकांश भारतीय तीर्थयात्री आउने क्रम बढ्दो छ ।


मुस्ताङको रानीपौवा बजारबाट मुक्तिनाथ मन्दिरतर्फ घोडा चढेर जाँदै भारतीय पर्यटक ।

प्रकाशित : जेष्ठ १, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?