कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनकामना पुग्न ९ सडक

हरिराम उप्रेती

गोरखा — एउटा गन्तव्यमा पुग्न सामान्यतया मोटरबाटो एउटै हुन्छ । स्थानीय आवश्यकताका आधारमा दुई/तीन शाखा सडक खुलेका हुन सक्छन् । यहाँ शाखाबाहेक मनकामना मन्दिर पुग्न ९ सडक खनिएका छन् । गोरखा आँबुखैरेनी सडकको २४ किलोमिटर क्षेत्रमा मात्र मनकामना जाने ६ सडक छन् 

मनकामना पुग्न ९ सडक

दसकिलोदेखि अबुँवासम्म दुई/तीन किलोमिटरको फरकमा मनकामना जाने तीन सडक देख्न सकिन्छ ।

अबुँवा, स्याउली र दसकिलोबाट छुट्टाछुट्टै सडक मनकामनासम्म पुग्ने भन्दै खनिएका छन् । यसबाहेक गोरखा सदरमुकामबाट आँबुखैरेनीसम्म देउरालीको रामशाह टोल, लक्ष्मीबजार र विरेञ्चोकबाट मनकामना मन्दिर जाने सडक सञ्चालनमा छन् । पृथ्वी राजमार्ग नजिकैको त्रिशूली नदी तरेपछि त्रिवेणी, सिलिङटार र बेनीघाटबाट पनि मनकामना पुग्न सकिन्छ । यहाँ पुग्न छरपस्ट सडक खनिए पनि एउटै सडकको स्तरोन्नति भएको छैन । ‘बर्खा लागेपछि गाडी चल्न सक्दैनन्,’ बक्राङका रत्नबहादुर थापाले भने, ‘सुविधा खोज्नेले आ–आफनो क्षेत्रबाट सडक खने ।’ सबैले सुविधा खोज्दा छुट्टाछुट्टै सडकहरू खोल्ने क्रमले तीव्रता पाएको उनले बताए । ‘सडक खन्ने मात्रै होइन बाह्रैमास गाडी चल्ने बनाउनु जरुरी छ,’ उनले भने ।

प्राविधिकका अनुसार सामान्यतया एक किलोमिटर सडक कालोपत्रे गर्न एक करोड रुपैयाँ खर्च गरे पुग्छ । तर, यहाँ पहुँच भएकाहरूले आफ्नै क्षेत्रमा बजेट पार्ने र प्राथमिकता सडकलाई दिने गरेको पाइएको छ । त्यसो हुँदा बजेट छरिएको र भएका सडकको स्तरोन्नति हुन नसकेको स्थानीय बताउँछन् । साबिकका गाविस हुँदादेखि नै पहँुचका आधारमा बजेट विनियोजन हुँदै आएको स्थानीयको भनाइ छ ।

मनकामना मन्दिर पुग्नका लागि कुरिनटारबाट केबलकार पनि सञ्चालनमा छ । केबलकारको शुल्क महँगो मान्नेले थोरै भाडा तिरेर अब गाडीबाट मन्दिर पुग्न सक्छन् । केबलकारमा ६ सय ४० रुपैयाँ पर्छ । सडकमार्गबाट गाडीमा गए १ सय ५० देखि २ सय ५० रुपैयाँ भाडा तिरे पुग्छ । मन्दिरसम्म पुग्ने भक्तजन र स्थानीयको सुविधालाई मध्यनजर गर्दै एउटै बाटोलाई स्तरोन्नति गर्नुपर्ने मनकामनाका स्थानीय दिनेश जोशी बताउँछन् । ‘सबै बाटाहरू साँघुरा छन्, खाल्डाखुल्डी उत्तिकै छन्,’ उनले भने, ‘एउटालाई प्राथमिकतामा राखेर स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।’ सहिद लखन गाउँपालिकाले मापदण्ड बनाउँदै सडकको चापलाई हेरेर स्तरोन्नति गर्ने जनाएको छ । ‘मनकामना जाने मात्र नभई अन्य सडकको पनि वडास्तरबाट लगत संकलन गरेर वर्गीकरण हुँदैछ,,’ गाउँपालिका अध्यक्ष रमेश थापाले भने, ‘मुख्य, सहायक र बस्ती सडक गरी तीनवटामा वर्गीकरण गरी सबै सडकलाई स्तरोन्नति गर्छौं ।’ स्थानीय स्तरबाटै मुख्य सडक पहिचान गरेर एउटा बाटालाई भने बाह्रैमास सवारी आवागमन हुने किसिमको बनाइने उनले बताए । ‘जनताको आवश्यकता र सडकको चापलाई हेरेर क्रमैसँग सबै सडक स्तरोन्नति हुनेछन्,’ उनले भने ।

प्रकाशित : जेष्ठ २, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?