कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तल्लो मोदीको उत्पादन असारभित्रै

मोदी (पर्वत) — मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले आगामी असारभित्रै उत्पादन दिने जनाएको छ । यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेको आयोजना प्रमुख पवनकुमार यादवले बताए ।

तल्लो मोदीको उत्पादन असारभित्रै

आयोजनाले २०६९ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि प्राकृतिक र मानवीय समस्याले अवरोध भएको थियो । ‘अब २ प्रतिशत मात्रै काम बाँकी छ,’ जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेले भने, ‘अबको काम सबै प्राविधिक विषयसँग सम्बन्धित भएकाले असारभित्रै उत्पादन थाल्नेमा हामी ढुक्क छौं ।’

चालु वर्ष अवरोधबिना निर्माणको काम अघि बढेकाले लक्षित प्रगतिमा पुग्न सफल भएको उनले बताए । ०७२ को भूकम्पले हल्लिएको जमिनका कारण मनसुन सिजनमा सुरुङभित्र पहिरो जाने, भासिने, भित्रै बाढी पस्नेजस्ता समस्याले गत वर्ष काममा अवरोध आएको थियो । आयोजनाका अनुसार मुख्य काममध्ये ४ हजार २० मिटर टनेलमध्ये करिव ३ हजार ९ सय मिटर कंक्रिटिङ पूरा भएको छ । त्यस्तै हेडवक्र्सतर्फको काम पनि अन्तिम चरणमा छ । ड्याम क्षेत्रमा वर्षाको बाढी व्यवस्थापनको केही काम बाँकी रहे पनि पावर हाउसतर्फ पठाउने ‘वाटर रन वे’ को काम सकिएको उनले बताए । पावरहाउसमा टर्बाइन तथा अन्य संरचनाको फिटिङ भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख यादवले कन्ट्रयाक्ट र सबकन्ट्रयाक्ट कम्पनीले समयमै तोकिएको काम पूरा गरेको बताए । गत वर्ष भने तीन निर्वाचन र मनसुनमा आएको बाढीले पनि केही समय निर्माणको काममा ढिलाइ भएको हो । ‘गत फागुनमै उत्पादन दिने लक्ष्य थियो,’ प्रमुख यादवले भने, ‘बाढीपहिरो, चाडबाड र चुनावले केही डिस्टर्ब गर्‍यो । अब असारसम्ममा पूरा हुन्छ ।’ समयसँगै आयोजनाको लागत पनि थपिने उनले बताए । ३ अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा सुरु गरेको आयोजनाले निर्धारित अवधिमा काम नसकेपछि लागत पनि बढेको हो । आयोजनाले ०६८ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ । वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनाको इन्जिनियरिङलगायत कन्स्ट्रक्सनको काम मनाङ ट्रेड लिंक र साउथ एसियन इन्फ्रास्ट्रक्चरले गर्दै आइरहेका छन् । मनाङले बाँधलगायत आउटलेट, साउथले सुरुङ र इन्जिनियरिङसहित पूर्वाधारको काम गरिरहेको छ । आयोजनामा नेपाल इन्भेस्टमेन्टसहित ११ वाणिज्य बैंक, उद्योगपति पशुपति मुरारका र जलस्रोतविज्ञ ज्ञानेन्द्रलाल प्रधानलगायतको लगानी छ । आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपुँजी रहेको आयोजना पक्षले जनाएको छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिका आयोजनाका प्रभावित क्षेत्र हुन् । मोदीको तिलाहारबाट ४ हजार २ सय मिटर लामो सुरुङ हँुदै कुश्माको चुवास्थित परादीमा आयोजनाको पावर हाउस रहनेछ ।

प्रकाशित : जेष्ठ २, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?