कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेन्सन बैंकमा पठाउँदा सास्ती

प्रकाश बराल

बागलुङ — गलकोट नगरपालिका ६ हरिचौरका ८१ वर्षीय टेकबहादुर खत्री पेन्सन बुझ्नका लागि वर्षको दुईपटक सदरमुकाम आउने गर्थे । अब भारतीय सैनिक बोर्डले बैंकमा जम्मा गरिदिने निर्णय गरेको छ ।

पेन्सन बैंकमा पठाउँदा सास्ती

उक्त रकम झिक्नका लागि चेक साट्नुपर्ने बाध्यता भयो । सधैं वर्षको एकपटक पेन्सनकर्ता जिउँदै छु भन्ने प्रमाण जुटाउन सैनिक बोर्डमा अनिवार्य आउनुपर्ने व्यवस्था समेत गरेको छ । ८१ वर्षीय खत्रीलाई वर्षको एकपटक सैनिक बोर्डमा पुग्नुपर्ने र चेक साट्न नियमित सदरमुकाम आउनुपर्ने बाध्यता थपिएको छ ।

बोर्डले भारतीय बैंकसँग कारोबार भएका एसबीआई र एभरेष्ट बैंकमा मात्र खाता खोल्ने सुविधा दिएको छ । खत्रीको गाउँमा ती बैंकका शाखा छैनन् । दुवै बैंकका शाखा सदरमुकाममा मात्र छन् । बागलुङको ग्रामीण क्षेत्रबाट सदरमुकाम आउन दुई दिनसम्म लाग्छ । हरेक महिनाको पेन्सनका लागि नियमित आउनुपर्ने प्रावधान बनेपछि खत्री लगायतका पेन्सनपट्टा भएकाहरू निराश छन् ।नियमित सदरमुकाम आउन साथी चाहिने, सदरमुकाम आउजाउ गर्न हजारौं खर्च हुने समस्याले उनलाई सताउन थालेको छ । ३९ वर्षदेखि खत्रीले सदरमुकाम आएर वर्षको दुइपटक पेन्सन बुझ्ने गरिरहेका छन् । आउजाउ गर्न समस्या भए पनि वर्षको दुईपटक सदरमुकाम आउँदा उनले घरको खर्च जुटाएर फर्कने गरेका थिए । छोराबुहारी सबै जापानमा गएकाले खत्रीका बूढाबूढीले पेन्सनबाटै जीवन चलाएका छन् ।

बोर्डले एकपटकमा एक लाख रुपैयाँभन्दा धेरै रकम झिक्न समेत नदिने व्यवस्था गरेपछि उनीहरू मासिक रूपमै बैंकमा पुग्नुपर्ने बाध्यतामा परेका हुन् । ‘तीन चार महिनाको एकैपटक झिक्दा एक लाख रुपैयाँ बढी झिक्न नपाइने भयो, त्यसैले झन् समस्या थपियो,’ जैमिनी नगरपालिकाको राङखानीका ७० वर्षीय गंगाबहादुर रानाले भने, ‘२९ वर्षदेखि यहीं आएर पेन्सन लिइयो । बैंकमा जम्मा गर्ने निहुँमा दु:ख दिने काम भयो ।’ बोर्डले भने पेन्सन वितरणको समयमा धेरै खर्च लाग्ने, बूढाबूढीको पैसा ठगिने वा चोरिने समस्या हुने गरेकाले यो व्यवस्था गरेको बताएको छ । केही समयअघि भारतीय सेनाका समाज कल्याण प्रमुख बागलुङ आएर बैंकबाट पेन्सन वितरण गर्ने बताएका थिए । उक्त निर्णयसँगै अहिले पेन्सन वितरण र खाता खोल्ने काम भइरहेको छ ।

बोर्डमा दर्ता भएर पेन्सन थाप्ने धौलागिरि अञ्चलका ७ हजारभन्दा धेरै सेवानिवृत्त सैनिकहरू वर्षको दुईपटक बागलुङ आउने गर्थे । क्षेत्रगत आधारमा १२ दिनसम्म लगाएर पेन्सन वितरण गरिने जिल्ला सैनिक बोर्डले जनाएको छ । पेन्सन वितरणको समयमा निवृत्त सैनिक र उनीहरूका आफन्त समेत गरी हजारौंको उपस्थितिले बागलुङमा मेला लाग्ने गरेको छ । दुईपटक हुने क्याम्पमा वर्षमा ७० करोड रुपैयाँ बढी रकमको पेन्सन वितरण हुने गरेको छ ।

‘पालो कुर्दै हैरान’
कास्की (कास)– पोखराको न्युरोडस्थित एभरेस्ट बैंकको शाखामा लाम लागेका भूपू सैनिकहरू हैरान छन् । ‘तीन घण्टामा बल्ल पालो आयो,’ श्रीमान्को पेन्सनको रकम बुझ्न तनहुँको ऋषिङ घिरिङबाट आएकी ८१ वर्षीया पार्वती थापामगरले भनिन्, ‘म त उभिन नसकेर नातिनीलाई लाममा उभ्याएँ ।’ सेवाग्राहीको चापको तुलनामा बैंकले कर्मचारी र काउन्टर थपेर सुविधा दिनुपर्नेमा दु:ख दिएको उनले गुनासो गरिन् । काम छिटै होला भनेर उनी बिहानै पोखराको रामबजारस्थित पेन्सन क्याम्प
आइपुगेकी थिइन । तर, एकै दिनमा उनको काम फत्ते भएन ।

पर्वतबाट आएका ६५ वर्षीय तेजबहादुर गुरुङको गुनासो पनि फरक थिएन । ‘भीड हुन्छ भन्ने सुनेर बिहानै आएको, भीडमै परियो,’ उनले भने, ‘उभिँदाउभिँदा खुट्टै दुख्यो ।’ पेन्सन बुझ्नेले फरकफरक मितिमा लिन पाउने नियम बनाउनुपर्ने र भीड भएका दिन बैंकले काउन्टर थप्नुपर्ने उनको भनाइ छ । भारतीय सेनाबाट सेवानिवृत्तका लागि पोखराको रामबजारमा पेन्सन कार्यालय छ । उक्त कार्यालयले पेन्सनधारीलाई एभरेस्ट र एसबीआई बैंकमार्फत मात्रै आफ्नो रकम लिन पाउने व्यवस्था गरेपछि धेरैजना हैरान छन् ।

पेन्सन क्याम्पबाट पेन्सन बुझ्ने भूपूसैनिक र तिनका परिवारले २०१८ डिसेम्बर महिनाभित्र खाता अनिवार्य खोलिसक्नुपर्ने भएकाले भीड भएको न्युरोडस्थित एभरेस्ट बैंकका शाखा प्रमुख अरुण पौडेलले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?