जन्मगाउँमा भक्ति थापाको सालिक

आश गुरुङ

लमजुङ — नेपाल एकीकरणका प्रमुख पात्र भक्ति थापाको उनकै जन्मथलो मर्स्याङ्दी गाउँपालिका ३ ढगेंबेंसीमा सालिक निर्माण गरिएको छ । गाउँकै टुकमान थापाले दान दिएको २ रोपनी ६ आना जग्गामा थापाको अर्धकदको सालिक निर्माण गरिएको हो ।

जन्मगाउँमा भक्ति थापाको सालिक

भक्ति थापा जन्मस्थल संरक्षण तथा सम्बद्र्धन विकास समितिका अध्यक्ष चेतबहादुर थापाका अनुसार नेपाल एकीकरणका प्रमुख पात्र मानिए पनि उनी जन्मिएको ठाउँको संरक्षण र सम्बद्र्धन हुन सकेको थिएन । उनको जन्म विसं १८०२ मा भएको थियो । ‘देशका लागि योगदान पुर्‍याएका व्यक्तिको जन्मस्थल संरक्षण गर्नुपर्छ भनेर हामीले वीर पुर्खाको सालिक निर्माण गरेका हौं,’ उनले भने, ‘भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ भन्ने हाम्रो माग छ । तब मात्र उहाँप्रति राष्ट्रको सम्मान हुनेछ ।’

भक्ति थापाको जन्मस्थल संरक्षणका लागि ०६७ साल माघ ८ मा चेतबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले भक्ति थापाले गाईबस्तु चराउने र गोठ राख्ने गरेको प्राकृतिक मनोरम स्थल हस्र्यु (हर्सिङ) डाँडामा धर्मशाला निर्माण गरेको मस्र्याङ्दी गाउँपालिका ३ का वडाध्यक्षसमेत रहेका समिति कोषाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।

उनका अनुसार जन्मस्थल विकासका लागि ८ रोपनी जग्गा थप गर्ने, खुदीको बुद्धबजारबाट मोटरबाटो निर्माण र सडक स्तरोन्नति, पार्कसहितको पिकनिकस्थल निर्माण र संग्रहालय बनाउने तयारी भइरहेको छ । जन्मस्थल ढगैंबेंसीदेखि गाई चराउने गरेको हर्सिङडाँडासम्म पैदल मार्ग निर्माण गरी ढगैं गाउँलाई पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजना बनाएको र यसका लागि भक्ति थापा प्रतिष्ठान गठन गर्ने तयारी भएको बस्नेतले बताए ।

दाङका निमबहादुर थापाले भक्ति इतिहास पुरुष भए पनि मूल्यांकन हुन नसकेको गुनासो गरे । ‘विश्व इतिहासमा भक्ति थापाको नाम छ । संरक्षण गर्ने निकाय छैन,’ उनले भने, ‘राज्यले वीर योद्धालाई सम्मान गर्न सकेको छैन ।’ मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भक्ति थापाको योगदानको कदर हुन नसकेको बताए । उनलाई राष्ट्रिय विभूतिबाट सम्मान गराउन पहल गरिरहेको उनले बताए । ‘जसले देशलाई बचायो, एकीकरण गर्‍यो, विश्वसामु परिचित भयो । उनकै योगदानको कदर भएन,’ उनले भने । अब थापाका लागि राज्यले उचित न्याय दिनुपर्ने उनले बताए ।

भक्ति थापाको अर्धकदको सालिकलाई शनिबार प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अनावरण गरेका छन् । उनले देशका लागि योगदान पुर्‍याएका, रगत बगाएका सहिदको सम्मान हुनुपर्ने बताए । ‘देशका वीर पुरुषको स्मारिका निर्माण गर्न आवश्यक छ,’ उनले भने ।

अब प्रदेश ४ भित्रका त्यस्ता व्यक्तिको स्मारिका निर्माण गर्ने उनले बताए । नेपाल एकीकरण गर्ने क्रममा वीरगति प्राप्त गरेका भक्ति थापाजस्ता सहिदका लागि स्थानीय सरकार, प्रदेश सरकारसँगै केन्द्रको पनि ध्यानाकर्षण जानुपर्ने उनले बताए । ‘थापाको जन्मथलोलाई पर्यटकीय क्षेत्र बनाउन सकिन्छ । प्रदेशले समृद्धिको आधार पर्यटन भनेर पहिलो लाइनमै राखेको छ,’ उनले भने । उनले प्रदेशका ३ सय गाउँलाई होमस्टे गाउँका रूपमा अघि बढाउने योजना साउन १ बाट नै सुरु गर्ने बताए । ‘प्रदेशभित्र सन् ०२२ सम्ममा २५ लाख पर्यटक भित्र्याउँछौं,’ उनले भने । पुँवर थापा परिवारमा जन्मेका थापा राजा केहरिनारायण शाहका सेनाका सरदार थिए ।

उनले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेको इतिहासमा उल्लेख छ । गोरखा (नेपाल) सँगको अन्तिम युद्धमा पराजित भएर युद्धबन्धीका रूपमा काठमाडौं पुगेको करिब एक वर्षपछि उनी नेपाली फौजका सरदार भएर नेपाल एकीकरण अभियानमा संलग्न भएको इतिहासमा उल्लेख छ । ७३ वर्षको उमेरमा नेपाल–अंग्रेज युद्ध देउथलको लडाइँको कमान्डर बनेका उनले अंग्रेजको हमलामा परेर विसं १९७२ साल वैशाख ६ मा वीरगति प्राप्त गरेका थिए ।

इतिहासमा उल्लेख भएअनुसार उनको साहसको कदर कर्दै अंग्रेजले उनको शवलाई पूर्ण सैनिक सम्मानका साथ फर्काएको थियो । अंग्रेजले उनको सम्मानमा बनाएको स्मारक हाल भारतको उत्तराखण्ड राज्यमा छ । ७३ वर्षको उमेरमा नेपाली सेनाका कमान्डर बनेर बेलायती तालिमप्राप्त जवान सैनिक फौजमाथि हमला गरेका भक्ति थापा एक अमूत्र्य देशभक्तिको उदाहरण भन्दै बेलायती फौजले दोसल्ला ओडाएर सम्मानपूर्वक उनको शव जिम्मा लगाएको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?