कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

खुला आकाशमुनि पढाइ

प्रकाश बराल

बागलुङ — विद्यालयको नाम ढोरपाटन जनवादी आधारभूत विद्यालय । यहाँको पाठ्यक्रममा भने जनवादी शिक्षा नै छैन । उपयुक्त कक्षाकोठा र फर्निचर अभावमा विद्यार्थी खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् ।

खुला आकाशमुनि पढाइ

ढोरपाटनको नबीस्थित यो विद्यालयका जीर्ण ५ कोठा छन् । दुई कोठा रहने एउटा ट्रस्ट भवन बन्दैछ । कक्षा १ देखि ८ सम्म पढाइ हुने यो विद्यालयमा करिब चार सय बालबालिका पढ्छन् । एउटा कक्षाका लागि एउटा कोठासमेत पुग्दैन, सबैलाई कक्षाकोठाभित्रै राख्दा पनि अट्दैनन् । बिहान विद्यालय पुग्दा घाम लाग्यो भने खुला ठाउँमा बसाएर पढाइन्छ । पानी पर्‍यो भने एउटै कोठामा कोचाकोच गरेर अट्न सक्नेले मात्रै पढ्छन्, नसकेकाहरू घर जान्छन् ।

ढोरपाटन नगरपालिका ७ स्थित यो अस्थायी विद्यालय हो । यहाँ गर्मी लागेपछि बालबालिका आउँछन् । यसको हिउँदमा पढाइ हुने भवन बोबाङ गाउँमा छ । गर्मी चढेपछि अभिभावक पशुचरन र खेतीका लागि ढोरपाटन र बुकी लेकमा जाने भएकाले बालबालिकाका लागि ढोरपाटनमै विद्यालय खोलिएको हो । यो विद्यालय फागुनदेखि कात्तिकसम्म ढोरपाटनमा रहन्छ । जाडो मौसममा भने हिउँ पर्ने भएकाले अभिभावक सपरिवार पशुबस्तु लिएर बेसीं झर्छन् । उनीहरूसँगै बालबालिका पनि झरेपछि ढोरपाटनको विद्यालय बन्द हुन्छ र तल्लो विद्यालय सञ्चालनमा आउँछ ।

बोबाङमा रहेको भवन पनि जीर्ण र अपुग छ तर धेरै समय बिताउने ढोरपाटनको विद्यालय देख्दा पढ्ने–लेख्ने विद्यालय हो भनेर पत्याउन गाह्रो पर्छ । गर्मी मौसम भए पनि ढोरपाटन तीन हजार मिटरभन्दा माथिको उचाइमा भएकाले दैनिक पानी परिरहन्छ । मौसम फेरबदल भइरहन्छ । पानी परेपछि केही बालबालिका अन्य कोठामा पसेर ओत लाग्छन् भने कोही भागेर घर जान्छन् । यो क्रमले बालबालिकाको पढाइलेखाइमा नकारात्मक असर परेको प्रधानाध्यापक देवबहादुर सुनारले बताए । शैक्षिक वातावरण चाहिन्छ भन्ने अभिभावकमा चेतना निकै कम छ । बालबालिकालाई घरको काम सिध्याएपछि मात्रै पढ्न पठाउने गरिन्छ । ‘बालबालिकाले पनि पढाइलाई पहिलो प्राथमिकतामा राख्न पाएका छैनन्,’ उनले भने, ‘कतिपय बालबालिका भोकै विद्यालय आउने गर्छन् ।’

विद्यालयमा तीनजना मात्र शिक्षकको दरबन्दी छ । यहाँ पढ्ने चार सय जनामा ३ सय ८० बालबालिका दलित समुदायका छन् । दैनिक ज्याला मजदुरी गर्ने र पशु चराएर जीवन बिताएका अभिभावकले समेत चन्दा उठाएर अरू पाँचजना शिक्षक पालेका छन् । उनीहरूलाई पनि सामान्य तलबमा राखिएको हो । ‘अभिभावकले पैसा तिर्न सक्दैनन्, कमाइ पनि छैन,’ प्रअ सुनारले भने, ‘सदरमुकाम र सुविधासम्पन्न विद्यालयलाई हेरेर हामीलाई व्यवहार गरिन्छ ।’

प्रकाशित : जेष्ठ ७, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?