कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अल्लोबाट आत्मनिर्भर बन्दै

पर्वत — लेकाली सामुदायिक वनका चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर महिलाले आम्दानी हात पार्न थालेका छन् । उत्तरी पर्वतको जलजला ६ शालिजाकी जसमाया पुनले सुरु गरेको अल्लो प्रशोधन उद्योगबाट मात्रै हिजोआज ५० महिलालाई आत्मनिर्भरतामा बल मिलेको छ ।

अल्लोबाट आत्मनिर्भर बन्दै

सुरुका दिनमा घरको काम छाडेर अल्लो खोज्न जंगल जाँदा जसमायालाई जिस्क्याउने महिला नै हिजोआज उद्यमी बनेका छन् । जसमायाका हाल क्याङ र सदरमुकाम कुश्मामा गरी दुई ठाउँ अल्लो प्रशोधन प्रशिक्षण केन्द्र छन् । कुश्मामा उनले प्रशोधन तथा कपडा उत्पादन उद्योग सञ्चालन गरेकी छन् । उद्योगबाट उनी आफूले मात्र आम्दानी गरेकी छैनन्, अरू महिलालाई पनि उद्यममा आकर्षित गरिरहेकी छन् ।

केही हजारबाट सुरु गरेको जसमायाको उद्योगमा अहिले करिब ४५ लाख रुपैयाँ लगानी पुगेको छ । उनले प्रशोधन र तालिम सञ्चालन गरेर मासिक ६० हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । ०५७ सालमा उनले अल्लोको उपयोगिता बुझेर प्रशोधन सुरु गरेकी हुन् । लगत्तै एउटा हाते मेसिन किनेर धागो निकाल्ने र कपडा बुन्न सुरु गरिन् । क्याङका धेरैजसो महिलाहरू हाल अल्लो संकलन गरेर धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बुन्ने काममा व्यस्त हुन्छन् । वनमा उपयोगविहीन अल्लो संकलन गरेर राम्रो आम्दानी हुने जानेपछि क्याङका ५० महिला यो व्यवसायमा छन् ।

वनको चाल्ने सिस्नो खोजेर उनीहरू गाउँमै प्रशोधन गर्छन् । अल्लोका कपडा मात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी बिना पुनले बताइन् । ‘कपडा तयार गर्नसके थोरै धागोबाट रामै आम्दानी हुन्छ,’ उनले भनिन्, ‘भ्याइएन भने धागो पनि बिक्छ ।’ तयारी कपडा प्रतिमिटर ७ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । अल्लोको धागो स्थानीय बजारमा र कपडा तथा तयारी पोसाक पोखरा, काठमाडांै र विदेशमा समेत पठाउने गरिएको छ ।

‘पहिले घरधन्दामै दिन बित्थ्यो,’ उद्यमी झकमायाले भनिन्, ‘अहिले घरको सबै काम सकेर पनि महिनाको १०/१२ हजार रुपैयाँ आम्दानी हुन्छ ।’ आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गरेको उनले बताइन् । उनीहरूले स्थानीय खर्सुवास गैराखर्क, ठूलोटाउका र रेसापातल सामुदायिक वनमा अल्लो संकलन गर्छन् । विशेषगरी साउनदेखि मंसिरसम्म संकलन गरेको अल्लो फागुनदेखि असारसम्म प्रशोधनको काम हुन्छ । जाडो र चिसो मौसममा सुकाउन समस्या हुने भएकाले पुस र माघमा कपडा बुन्न व्यस्त हुन्छन् । फागुनदेखि जेठको अन्तिमसम्म लोक्ता निकाल्ने, पकाउने, पखाल्ने, सुकाउने काममा हुन्छ । चरणबद्ध रूपबाट काम गर्दा वर्षभरिका कुनै पनि महिना खाली बस्न नपरेको उद्यमी महिला बताउँछन् ।

अल्लो संकलन गर्न स्थानीय सामुदायिक वनहरूले नि:शुल्क दिएका छन् । महिला समूहमै मिलेर काम गर्छन् । वनमा अल्लो संकलन गर्न लाँदा, लोक्ता निकाल्ने, सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको उद्यमी जसमायाले बताइन् । ‘वनमा त्यसै खेर जान्थ्यो,’ उनले भनिन्, ‘अहिले धेरै दिदीबहिनी सक्रिय भएका छन् । वन पनि सफा भएको छ । आम्दानी बढेको छ ।’ उनीहरूलाई समय–समयमा जिल्ला लघुउद्यम विकास कार्यक्रम, घरेलु कार्यालयलगायत विभिन्न संघसंस्थाले तालिम र उपकरणमा सहयोग गरेका छन् । जलजला गाउँपालिकाले शालिजा, लेकफाँट र बनौंको माथिल्लो भेगको जंगलमा पाइने अल्लोलाई स्थानीयको जीविकोपार्जनसँग जोडेर त्यसको विस्तार गर्नेगरी कार्यक्रम तय गरेको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार महिलालाई अल्लोको उद्यमसँग जोडेर प्रशिक्षण र व्यवसाय प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ ।

मोदी गाउँपालिका ३ देउरालीका महिलाले पनि गाउँमै घरेलु उद्योग खोलेर अल्लोका सामग्री उत्पादन गर्दै आएका छन् । ०७१ पुसमा दुई महिलाले अल्लो प्रशोधन उद्योग सुरु गरेकोमा हाल ११ उद्यमी बनेको समूहकी अध्यक्ष रनमाया गुरुङले बताइन् । देउरालीका महिलालाई हालै कोरियाको एक संस्थाले अल्लो प्रशोधन गर्ने मेसिन सहयोग गरेको छ । ‘पहिले काठको मुंग्राले कुटेर सुकाउन्थ्यौं,’ अध्यक्ष गुरुङले भनिन्, ‘मेसिन आएपछि सुविस्ता भएको छ । पहिलेभन्दा तेब्बर छिटो धागो निकाल्छौं ।’ देउरालीमा उत्पादन भएका अल्लोका तयारी पोसाक मेसिन सहयोग गरेको कोरियाली कम्पनीले अर्डर गरेको छ । विदेशमा बस्नेहरूले उपहारका रूपमा समेत पोसाक लैजाने गरेको गुरुङले बताइन् । देशका विभिन्न सहरमा सञ्चालन हुने मेला महोत्सवमा प्रदर्शनीका लागि पनि यहाँका महिलाले अल्लोका कपडा
लैजाने गर्छन् ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?